उनी जस्ता हजारौं युवायुवती बिदेश जाने बाहेकको कल्पना नगरेको समयमा २३ वर्षीय गोकर्ण कृषि क्षेत्रका प्रेरणा बनेका छन् ।
कृषि क्षेत्रमा प्रेरणा बन्दै २३ वर्षीय गोकर्ण

मुलुक आर्थिक हिसाबले कमजोर भएको साथै कृषि र पशुपालनमा लगानीको प्रतिफल आउने आशा मारेर दिनानुदिन विदेश जानेको लर्को लागिरहेको छ । नेपालमा पछिल्लो समय २०/२२ वर्ष टेक्दै गरेका युवायुवतीहरू विदेश जाने बाहेकको कल्पना पनि गर्दैनन् । आर्थिक रुपमा माथिल्लो तहका यूरोपियन र तल्लो तहका खाडीमुलुक जाने बाहेकको सोंचाइ अपवाद मात्र भेटिन्छ । तर, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली कृषि क्षेत्रमा प्रेरणा बनेका छन् ।
नेपालमा केही गर्नुपर्दछ र नेपाली माटोमा क्रान्ति गर्नुपर्छ भन्ने सोंचका गोकर्ण घाँस खेतीबाट हजारौंलाई प्रेरणा दिएका छन् । इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन् । उनको मेहनत र लगावको कारण अझै पनि हजारौंले प्रेरणा लिन सक्छन् । कृषि र पशुपालनबाट लगानी डुब्छ भनेर धेरैले यो पेशामा हात हाल्न खोज्दैनन् । तर, गोकर्ण कृषि र पशुपालनबाट छिट्टै प्रतिफल नदेखिनेमा ढुक्क छन् । ‘छिटो प्रतिफल खोज्नेले कृषि र पशुपालन गर्दैन ।’ उनी सुनाउँछन्, “दीर्घकालीन रुपमा व्यक्तिसँगै देशलाई फाइदा पुग्ने अपेक्षाले कृषि र पशुपालनमा लागें ।” नेपाली प्रतिफल ढिला पाउने तर दीर्घकालीन हिसाबले निकै लाभदायी हुनेमा स्पष्ट छन् ।
२०७६ साउनबाट ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेका गोकर्णले अहिले घाँस खेतीलाई ५० लाखमा पुर्याएका छन् । उनले गएको ४ महिनाको अन्तरालमा १९ लाखको घाँसको बिरुवाहरू गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्युठान र बाग्लुङलगायतका जिल्लामा विक्री गरेका छन् । अहिले पनि उनीसँग ईपील–ईपील, राइखन्यु र नेपियर लगायतका ४४ प्रकारका घाँसहरू ३१ लाख बराबरका रहेका छन् । उनले कूल १ सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन् । जसमध्ये ८० रोपनी जग्गा गोकर्ण आफ्नैको हो । बाँकी ४० रोपनी जग्गा उनले लिजमा लिएका छन् । बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै त्यसको प्रयोगलाई बाख्रापालन समेत गरे । उनले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेका हुन् । नेपालीको आधुनिक खोर छ । जसमा ३६ वटा बाख्रा छन् । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल ६ लाख रुपैयाँ लगानी गरेका गोकर्णले आम्दानीको सुरुवाती चरणमा रहेको बताए । सम्भावना खाडमिा होइन, झाँडीमा भेटिनेछ भन्ने मुख्य धारणा छ ।
रोजगारी सिर्जना
गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफूसँगै दिनभर अर्को एक जना र मौसमी रुपमा १०/१२ जना गरि औसतमा दैनिक ८ जनाले गोकर्णको फर्ममा रोजगार पाइरहेका छन् ।
यीबाहेक आमा बिष्णु नेपाली, १८ वर्षीय भाई करण र १६ वर्षीया बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गरिरहेका हुन्छन् । ‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ’, गोकर्णले सुनाए । उनले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो व्यक्त गरे । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिचकिचावट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन् ।
कोभिडको सकारात्मक प्रभाव
गोकर्ण सानै उमेरमा विदेश गए । उनी १९ वर्षको उमेरमा आफ्नो खेतबारीमा घाँस रोपेर लगानी गर्ने रकमको जोहो गर्न बिदेश गएका थिए । उनलाई कोभिडले प्रभाव पार्यो । दुबईमा १८ महिना बसेर स्वेदश फर्किएका गोकर्ण रत्तिपनि बिचलित भएनन् । बरु त्यही घाँस खेतीलाई अझै बढाएर लगे । ‘हार खाने काम कहिल्यै गर्नुहुन्न, परिस्थतिले पुर्याएको क्षेत्रमा मेहनत गर्नुपर्छ’, उनी भन्छन् । कोभिडका कारण आफ्नो जीवनमा केही नकरात्मक प्रभाव नपारेको उनले बताए । उनले कोभिडका कारण कृषि र पशुपालन खास पेशा रहेछ भन्ने चिनाएको स्मरण गरे ।
नेपालीसँग विदेशमा सुरुवाती चरणमा भाँडा माझेको अनुभव छ । आफूले होटलमा भाँडा माझेर समेत दैनिकी चलाएको उनले बताए । काम सानो र ठूलो केही पनि नहुने भएकोले मेहनत र लगावपूर्ण कामले सफल बन्ने गोकर्णको स्पष्ट बुझाइ रहेको छ । ‘बिदेश जानै नहुने भन्ने होइन, गएपछि सिकेको पाठ स्वदेश फर्केर कर्ममा रुपान्तरण हुनुपर्छ’, गोकर्णले भने ।
पशुपालनबाटै प्रेरित
गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताए । पशुपालन धेरै ठाउँमा गरिरहेको देखेका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देखेका थिए । आहारको व्यवस्थापन आफुले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उनको बुझाइ रह्यो । त्यसपछि आफु घाँस खेतीमा प्रेरित भएको उनले बताए । ‘पशुपालन धेरै मात्रामा गरेको देखियो तर त्यसको आहार व्यवस्थापन नभएको अवस्थामा मैले दीर्घकालीन फाइदा देखेर घाँस खेती सुरु गरें’, गोकर्णले भने ।
अझै पनि घाँस खेतीमा कमी रहेकोले चाहानेले सुरुवाती गरेमा निकै फाइदा पुग्ने उनको धारणा छ । आफु घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहनसम्म घाँस खेती पनि विस्तार गर्दा लगानी नडुब्ने बताए । आफ्नो बुबा चिन्ताबहादुर नेपालीलाई ४० वर्षको अल्पायुमा गुमाएका गोकर्ण पेसाप्रति बिचलित नभई अडिग रहे । उनले हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने बताए ।
मोटरसाइकल बेचेर लगानी
आफूले परदेशमा कमाएको सवै रकम बुबाको उपचारमा सकेको गोकर्णले बताए । आफूले कमाएको आर्थिकले पनि नपुग्दा आईसीयूको पैसा तिर्न नसकेर अस्पतालले नदिएको तितो अनुभव उनीसँग छ । ‘आमाको गणेशमाला बेचेर शव घर ल्याएर अन्त्यष्टि गरेको हुँ ।’ गोकर्णले भने, “शब घर ल्याएको एम्बुलेन्सको पैसादेखि काजक्रियाको ऋणले चु्र्लुम्म डुब्दा पनि व्यवसायमा आँट गरें ।” आफूले परदेशमा कमाएको केही रकमबाट किनेको मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेको गोकर्णले सुनाए । उनले ८० हजारमा मोटरसाइकल बेचेर घाँसको बिउ तथा बिरुवा ल्याएर रोपेका थिए । तर, पछि घाँस खेतीबाट भएको आम्दानीले पुन: नयाँ मोटरसाइकल किनेर चढ्न सफल भए ।
घाँस भण्डारणमा जुट्दै
वार्षिक रूपमा ४ महिना घाँसको हाहाकार हुनेभएकोले आफू घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताए । फागुन, चैत, वैशाख र जेठ महिनामा घाँस हाहाकार हुन्छ । त्यो समयको लागि वर्षायाममा घाँस भण्डारण गर्न आफु लागिरहेको उनले बताए । ‘मैले ४ महिनाको लागि घाँस भण्डारण गर्ने सोंच बनाएकोले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छु’, गोकर्णले भने । घाँस खेती गरेर बाहिरी पालिकामा पनि निर्यात गर्दा पनि आफुलाई गाउँपालिकाको सहयोग नरहेको भन्दै जनप्रतिनिधिहरूले हौसला दिएमात्र पनि पुग्ने उनले बताए ।
पागलको उपनाम पाएँ
ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन रहेको छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरु गर्दा गोकर्णलाई गाउँलेले पागलको उपनाम दिएका थिए । सबैले पागल भन्दै हिडिरहेको सुन्दा पनि कतै नडगमगाएको गोकर्णले बताए । कर्मबाट प्रतिक्रिया दिने अठोट बोकेका गोकर्णले गाउँलेको पागल उपनाममा पनि केही नबोलेको सुनाए । सुरुवाती चरणमा पागल भन्नेहरूले अहिले प्रशंसा गर्दा आफू सफल भएको अनुभुती गोकर्णले गरिरहेका छन् ।
छिट्टै प्रतिफल खोज्नुहुँदैन
गोकर्णले कृषि र पशुपालनबाट छिट्टै प्रतिफल खोज्न नहुने बताए । ‘वर्तमान नेपाली समाज दिनभर काम गर्ने साँझ प्रतिफल खोज्ने छन् ।’ उनले भने, “दीर्घकालीन अपेक्षा राखेर मात्र नेपाली माटोसँग खेल्नुपर्छ ।” छोटो समयमा धेरै फाइदा खोज्दा आफैलाई नोक्सानी हुने उनको भनाइ छ । परिश्रम निरन्तर गर्ने नतिजा नखोज्ने बानीले अन्तिममा सफलता दिलाउने धारणा आफूमा रहेको गोकर्णले बताए ।
हचुवाको भरमा लगानी गर्नुहुँदैन
हचुवाको भरले कुनै क्षेत्रमा पनि आर्थिक लगानी गर्न नहुने गोकर्णले सुल्झाए । सोधबुझबाट मात्र आर्थिक लगानी गर्नुपर्नेमा उनको जोड छ । ‘सबैसँग सल्लाह गरेर व्यवसाय सुरु गर्नुपर्दछ ।’ उनले भने, “आफ्नै मेहनत र लगावको कारणले मात्र सफल हुन सकिन्छ ।” श्रम गर्न हिचकिचावट मान्नै नहुने गोकर्णको तर्क छ । परिवारिक साथ, सहयोग र समर्थन भएमा मात्र कृषि र पशुपालन व्यवसाय सफल हुने उनले बताए ।
स्केचमा अब्बल गोकर्ण
गोकर्ण नेपालीले व्यक्ति देखेपछि जस्ताको त्यस्तै स्केच तयार पार्नेको रुपमा आफुलाई परिचित समेत गराएका छन् । विद्यालय तहबाटै आफूले चित्र बनाउँदा शिक्षकको प्रशंसा पाएकाले अझै प्रेरित भएको नेपालीले बताए ।
उनले गुल्मीलाई प्राथमिकता दिने भन्दै रेसुंगा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, गुल्मीमा पूर्वप्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टाई र पत्रकार प्रेम सुनारलगायत थुप्रैको स्केच तयार गरेका छन् । उनले खास गरी आफूलाई प्रेरणा मिल्ने व्यक्तिहरूको स्केच तयार गर्ने गरेको बताए । गोकर्णले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने, महावीर पुन, बिजय लामा र कुलमान घिसिङलगायतको स्केच तयार पारेर उनीहरूलाई उपलब्ध गराइसकेका छन् ।