सूचना प्रविधिको चेतनास्तर बढेको छ «

सूचना प्रविधिको चेतनास्तर बढेको छ

सूचना प्रविधिको चेतनास्तर बढेको छ
रञ्जितकुमार पोदार
महासचिव, क्यान महासंघ
यसपालिको क्यान इन्फोटेक मेला कस्तो रह्यो ?
यस पटकको सूचना, सञ्चार र मनोरञ्जनात्मक प्रविधि प्रदर्शनी तथा सम्मेलन हाम्रो ३४ औं संस्करण हो । विगतका वर्षमा झैं यो वर्ष पनि ‘सुविसु क्यान इन्फोटेक २०७४’ निकै नै उत्साहजनक र सफल रह्यो । हामीले साढे तीनदेखि चार लाख अवलोकनकर्ताको लक्ष्य राखेका थियौं । लक्ष्य भेट्न सकेका छौं । माघ ११ देखि १६ सम्म ६ दिन नै अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थितिले हामीलाई थप ऊर्जा प्रदान गरेको छ । समग्रमा सूचना प्रविधिको प्रवद्र्धनमा यो प्रदर्शनीले थप मद्दत पुगेको क्यान महासंघको मूल्यांकन छ । क्यानलाई निरन्तर सहयोग र सहाकार्य गर्ने विभिन्न कम्पनी, सरकारी तथा गैरसरकारी संघसंस्थाको भूमिका पनि निकै सार्थक बन्यो ।

विगतभन्दा यस पटकको मेलामा के नयाँ पाए उपभोक्ताले ?
नयाँ त गत वर्ष भन्दा यो वर्ष सबै कुरा नयाँ नै छ । किनकी प्रविधिमा जहिले नयाँ कुरा नै हुन्छ । त्यसमा पनि सूचना प्रविधिको क्षेत्रमा हरेक महिना, दुई महिना, तीन तीन महिनामा केही न केही परिवर्तन भैरहन्छ । एक वर्षमा प्रविधिले धेरै फड्को मारिसक्छ । त्यसैले यो वर्ष गत वर्षको क्यान इन्फोटेक भन्दा सबै कुरा नै नयाँ छ । प्रविधिमा दैनिक उपभोग्य प्रविधिहरू झट्ट हेर्दा नयाँ नै देखिन्छ । ल्यापटप गत वर्ष पनि ल्यापटप थियो, यो वर्ष पनि ल्यापटप नै हुन्छ, मोबाइल पनि मोबाइल नै भने इन्टरनेट प्रदायकहरू पनि गत वर्षकै देखि सक्छन् । तर इन्टरनेटको स्पीड, मोबाइलको स्टोरेज, ¥याम र नयाँ प्रविधिहरू आइसक्छन् भने ल्यापटपमा पनि नयाँ फिचर थपिएर आएका हुन्छन् र मूल्यमा पनि फेरबदल भैसकेको हुन्छ । एकै छातामुनि विभिन्न ब्राण्डहरूका सामान राखेर दुई सय २२ वटा स्टल सञ्चालन गरिनु अवलोकनकर्तालाई नेपालमा उपलब्ध सबै खाले प्रविधिसँग साक्षात्कार गराउनु हाम्रो उद्देश्य हो, जो पूरा भएको छ ।

क्यान इन्फोटक, प्रदर्शनी कम व्यापार ज्यादा गर्ने मेला बन्यो भन्ने आरोप पनि हो ?
यसो भन्न मिल्दैन । प्रविधिको प्रवद्र्धन गर्नु नै क्यानको मुख्य उद्देश्य हो । हामीले स्टलहरूमा प्रदर्शनीलाई नै प्राथमिकता दिँदै आएका छौं, ताकी उपभोक्ताहरूले धेरै भन्दा धेरै जानकारी लिन सकुन् । तर, उपभोक्ताहरूले पनि सामान हेर्दा चित्त बुझ्यो यहीँबाट दिनुस् भन्ने गरेको विगतका अनुभवबाट पनि पाएका छौं । त्यसैले गर्दा कतिले आफ्नो कार्ड दिएर पछि खरिदका लागि आउन अनुरोध गर्दै प्रविधिको ब्रान्डिङ मात्र गर्नुभएको छ भने कतिपयले बिक्री पनि गरिरहनु भएको छ । उपभोक्ताको माग अनुसारकै काम हामीले गर्ने हो । यद्यपि हामीले उपभोक्तालाई जानकारी दिनैपर्ने जस्ता कतिपय प्रविधिलाई प्राथमिकता दिएर प्रदर्शनी गर्दै आएका छौं । यस पटक पनि गर्यौं ।

क्यान सुरु गर्दा र अहिलेको उपभोक्ताको चेतना स्तर, बुझाइ, सक्रियता कस्तो पाउनु भएको छ?
सन् १९९२ मा क्यान स्थापना भएको दुई वर्षपछि १९९४ देखि क्यान इन्फोटेक मेला आयोजना गर्दै आइएको छ । ब्लुबर्ड होटलबाट ६ देखि ७ सय अवलोकनकर्ताको बीचबाट सुरु गरेको प्रविधि मेला आज लाखौंसम्म पुगेको छ । यो क्षेत्रलाई माया गर्ने, बुझ्ने उपभोक्ताको संख्या बढ्दो छ । उपभोक्ताको प्रतिक्रिया (फिडब्याक) लिएरै हामी अघि बढिरहेका छौं । अहिले पनि भोटिङ मेसिनको प्रयोग गरेर उपभोक्ताको प्रतिक्रिया लिएका छौं । जस अनुसार हाम्रा आगामी कार्यक्रमहरूमा प्रस्तुति दिनेछौं । जनमानसमा हरेक वर्ष कुनै ग्याजेट किन्न वा विकसिन नयाँ प्रविधि हेर्न क्यानलाई कुर्नुपर्छ भन्ने धारणा विकसित भएको हामीले पाएका छौं ।

मुलुक संघीयतामा गएको छ । क्यान महासंघको संघीय योजना कस्तो छ ?
एक महिना अघिमात्र निर्वाचित भएको क्यानको कार्यसमिति प्रादेशिक संरचना अनुरुप बनेको छ । हामीले वितगमा पनि क्यान इन्फोटेक जस्ता सूचना प्रविधि मेला उपत्यका बाहिरका कास्की, बुटवल, झापा, गोरखा, धनगढी, सुर्खेतलगायतका सहरमा हामीले इन्फोटेक मेला गरिसकेका छौं । अबका दिनमा प्रदेशका केन्द्र र स्थानीय तहहरूमा पनि प्रदर्शनी गर्ने ओजना छ । यो वर्ष सूचना प्रविधिलाई सर्वसाधारणको माझमा लानका लागि यही माघको २५ गतेदेखि नारायणगढमा, फागुन २ गतेदेखि बुटवलमा, फागुन ४ गतेदेखि पोखरामा, फागुनको २३ गतेदेखि इटहरीमा र सुर्खेत पनि तयारीमा छ । यो वर्ष सक्दो सात वटा प्रदेशमा कम्तिमा एउटा प्रदर्शनी गर्छौं । उपभोक्ताको मागअनुरुप विस्तारै स्थानीय तहसम्म पुग्छौं ।
प्रस्तुति: किरण आचार्य

प्रतिक्रिया दिनुहोस्