तीनै तहका सरकारले तत्काल गम्भीरता देखाएर नागरिकको ज्यान बचाउन ढिला भइसकेको छ ।
बढ्दो डेंगु प्रकोप नियन्त्रणमा ध्यान देऊ

पछिल्ला महिनाहरूमा डेंगु रोगको प्रकोप बढेको छ । डेंगुका बिरामीले अस्पतालका बेडमात्र भरिन थालेका होइनन्, करिब तीन दर्जनभन्दा बढी डेंगु बिरामीको मृत्यु पनि भइसकेको छ । मुलुकमा तीन तहको सरकार छ । तर, डेंगुले भयावह रूप लिँदा पनि तीनै तहका सरकार मौन छन् । कोरोना कहरका बेला संघीय, प्रदेश तथा स्थानीयलगायत तीनै तहका सरकारले पहिलो चरणमा नै हेलचेत्र्mयाइँ गरेका कारण मृत्युदर बढेको स्मरण गरेर पनि डेंगु नियन्त्रणमा सरहरकाहरू चनाखो हुनुपर्ने हो । तर तीन तहका सरकारलाई महामारीभन्दा राजनीति प्यारो छ । लोकप्रियतावादको सिकार भएका तीनै तहका सरकार नागरिकको मृत्यु देख्दैन । स्वास्थ्यविद्हरू सरकारले समयमा नै सचेतना नअपनाउँदा हालको दु:खद अवस्था आएको बताउँछन् । आसन्न चुनावका लागि राजनीतिक दलहरू गठबन्धन तथा सिट बाँडफाँडमा व्यस्त छन् । यसरी मुलुकका नेतृत्वले चुनाव तथा निजी स्वार्थमा केन्द्रित हुँदा नागरिकले दु:ख भोग्नुपरेको तथा छ । नागरिकको जीवन तथा स्वास्थ्यबारे चासो र चिन्ता नदेखिनु तथा चुनावमा मात्र केन्द्रित हुनु राजनीतिक दललाई घाटा पर्न जान सक्छ । किनकि नागरिकले चुनावमा आफ्नो ज्यानको परवाह नगरी मत दिएर जिताएको नेताले नागरिककै जीवन सुरक्षामा ध्यान नदिएका कारण नागरिकले चुनावप्रति वितृष्णा व्यक्त गर्दै भोट हाल्न गएनन् भने त्यसको नकारात्मक असर राजनीतिक दलमात्र होइन, मुलुकले पनि भोग्नुपर्छ । त्यसैले तीनै तहका सरकारले तत्काल गम्भीरता देखाएर नागरिकको ज्यान बचाउन ढिला भइसकेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने स्वास्थ्यविद्हरूको भनाइ मान्ने हो भने सरकारले हेलचेत्र्mयाइँ गरेकै हो । नेपालले कोभिड महामारीबाट पाठ नसिकेकाले पनि यस्तो अवस्था आएको हो । अब पनि पाठ नसिके अझै ठूलो समस्या ननिम्त्याउला भन्न सकिन्न ।
हाल डेंगु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएका कारण प्रत्येक दिन चेकजाँच गर्ने १० बिरामीमध्ये दुई–तीन जना डेंगु संक्रमित हुने गरेका स्वास्थ्यविद्हरू बताउँछन् । तीनै तहको सरकारमध्ये पनि ७ सय ५३ स्थानीय सरकारको निष्क्रियता उदेकलाग्दो देखिएको छ । स्थानीय सरकारले आफ्ना वडाहरूलाई लामखुट्टे मार्ने धूवाँको प्रयोग गरेर तथा नागरिकमा सचेतना फैलाएर डेंगु नियन्त्रणमा सहायता गर्न सक्छन् । किनकि नागरिकको स्वास्थ्य संघीय सरकारको मात्र जिम्मेवारी होइन; संघीय, प्रदेश तथा स्थानीय तह तथा स्वास्थ्य मन्त्रालयमातहतका निकायको पनि जिम्मेवारी हो । मन्त्रालयको नियन्त्रणमा रहेर प्रत्येक वडा, वडाध्यक्ष, सदस्यले गम्भीरताका साथ खटिनुपर्ने बेलामा सबैलाई राजनीति लाग्नु दु:खद हो । कोरोना भाइरससँग लड्ने क्षमता, प्रतिरोध गर्ने क्षमता बढेकाले कोरोना मत्थर भएपछि सुरु भएको नयाँ प्रकोपले नागरिक आक्रान्त छन् । किनकि डेंगु एकपटक संक्रमित भएर दोस्रो पटक फेरि भएमा त्यसको रूप झन् चर्को हुन्छ । अरू रोग एकपटक लागेपछि रोगप्रतिरोधात्मक क्षमता बढ्ने भएकाले मत्थर बनाउन सकिने तर यसमा दोस्रो पटक संक्रमण भएमा कडा रूप लिने स्वास्थ्यविद्हरूको भनाइ छ । डेंगु संक्रमित गराउने लामखुट्टे मलेरिया गराउने जस्तो नभएको हुनाले बाहिर बस्दा लामो लुगा लगाउन पनि स्वास्थ्यविद्हरूले आग्रह गरेका छन् । डेंगु संक्रमित लामखुट्टेले टोकेमा पाँच वा छ दिनपछि ज्वरो आउने त्यसको पाँच–छ दिनमा प्राय: ज्वरो हराउने र ज्वरो सात दिनभन्दा बढी आएमा खतराको संकेत हुन्छ । सात दिनभन्दा बढी ज्वरो आए, रातो बिमिरा आए र रक्तचाप घट्दै गएमा एकदम खतरनाक अवस्था हुने स्वास्थ्यविद्हरूको भनाइलाई मनन गरेर नागरिकहरू पनि आफैं सचेत हुन पनि आवश्यक छ । डेंगु जाँचसँगै रगत जाँच्न जरुरी छ । १० दिनभन्दा अगाडि नै बिरामी सिरियस हुने र १० दिनपछि ज्वरो आएमा डेंगु नहुने स्वास्थ्यविद्हरूका अनुसार डेंगुका प्रमुख लक्षणहरू ज्वरो आउने, ज्यान दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, वाकवाक लाग्ने, डायरिया हुने हुन्छ । तर, डेंगु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । एडिस जातको पोथी लामखुट्टेले टोकेमा मात्र डेंगु महामारी फैलिन्छ । डेंगु महामारी सेप्टेम्बरमा सुरु भएर नोभेम्बरसम्म हुने र बर्सातको सिजनमा धेरै समस्या उत्पन्न गराउने हुन्छ । त्यसैले हाल यसको मध्यप्रकोपको बेलामा सरकारले गम्भीरतापूर्वक नलिनुु, अझ स्थानीय सरकारहरू निष्क्रिय हुनु खेदजनक छ ।