चुनावका बाबजुद अर्थतन्त्र संकुचनमा «

चुनावका बाबजुद अर्थतन्त्र संकुचनमा

अर्थतन्त्रमा संकुचन आउन थालेको भर्खर होइन । गत आर्थिक वर्षदेखि नै विदेशी मुद्रा सञ्चितिको दबाबका कारण सरकारले आयातमा प्रतिबन्ध लगाउनुपरेपछि त्यसैको प्रतिफलका रूपमा अर्थतन्त्रमा संकुचन आउन सुरु गरेको हो । नेपालको कुल राजस्व आम्दानीमा भन्सार राजस्वको आम्दानी करिब आधा रहेको छ । कुल आम्दानीमा ४८.२ प्रतिशत योगदान रहेको भन्सारमा आयात प्रतिबन्धका कारण आम्दानी घट्नु स्वाभाविक हो । एकातिर आम्दानी घट्ने अर्कातिर भने खर्च नियन्त्रण गर्न नसक्दा सरकारलाई थप दबाब सिर्जना भएको गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षमा पनि यो क्रम नियमित नै रहने देखिन्छ । किनकि सरकारले आयात प्रतिबन्ध लचिलो बनाए तापनि पूर्ण रूपमा खोलिसकेको छैन, जसका कारण अर्थतन्त्रमा संकुचन कायम रहने अर्थविद् तथा विकास साझेदारहरूले अनुमान गरेका छन् । यसैबीच एसियाली विकास बैंक (एडीबी)ले पनि यसअघि आफैंले गरेको प्रक्षेपणलाई घटाएर चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । यसअघि एडीबीले ६ महिना अगाडि नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्ष्ोपण गरेको थियो । तर, त्यसपछि सरकारले लगातार आयात प्रतिबन्ध कायम राखेका कारण अर्थतन्त्र संकुचनमा नै रहने अनुमान गरिएको हो । यसका साथै, बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य तरलताको कमीका कारण ब्याज दोहोरो अंकमा पुगेको छ, जसका कारण निजी क्षेत्रमा जाने कर्जामा पनि संकुचन आउने कारण पनि अर्थतन्त्र थप दबाबमा परेको छ । विश्वभर नै केन्द्रीय बैंकहरूले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाएका छन् । नेपालमा पनि केन्द्रीय बैंकले ब्याजदर बढाउने मौद्रिक उपकरणहरू प्रयोग गरेका कारण निजी क्षेत्रले कर्जा महँगो भएको भन्दै विरोध पनि गरिरहेको छ । तर, सरकारले आफ्नै नीतिको प्रतिकूल आर्थिक वृद्धि भने ८ प्रतिशत हुने प्रक्षेपण गरेको छ । तर, अर्थतन्त्र संकुचनमा गएका कारण सरकारको प्रक्षेपणको आधा मात्र आर्थिक वृद्धि हुने देखिन्छ । त्यसैले गत आर्थिक वर्षमा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा चालू आर्थिक वर्षमा केही संकुचन आउने अनुमान गर्दै एडीबीले सरकारले हाल लिएका नीतिका कारण अर्थतन्त्रमा संकुचन आउने विश्लेषण गरेको हो ।
हाल विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले आयातमा प्रतिबन्ध पूर्ण हटाएको छैन । एडीबीले पनि आयातमा अंकुश लगाउँदा अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने जनाएको छ । एकातिर आर्थिक वृद्धिको दबाब तथा अर्कातिर मूल्यवृद्धिमा पनि दबाब परेको कारण विश्वभर नै मुलुकहरू यसमा सन्तुलन कायम राख्न भरमग्दुर कोसिस गरिरहेका छन् । एडीबीले पनि चालू आर्थिक वर्षमा नेपालको वैदेशिक मुद्राको सञ्चितिमा अझ गिरावट आउने र मुद्रास्फीतिमा थप दबाब पर्ने जनाइएको छ । आयात नियन्त्रणका लागि सरकारले अपनाउने औजारहरूका कारण अर्थतन्त्रको वृद्धि खुम्चिने जोखिम एकातिर छ भने अर्कातिर मूल्यवृद्धि बढ्ने पनि प्रतिवदेनको निष्कर्ष छ । आयात नियन्त्रणसँगै आन्तरिक उत्पादन र उपभोगसमेत घट्ने जोखिमहरू भएका कारण एडीबीले यस्ता गतिविधिले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिलाई नकारात्मक प्रभाव पार्ने जनाएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न कडा मौद्रिक नीति केन्द्रीय बैंकले लिएका कारण नेपालको कुल ग्रार्हस्थ्य उत्पादन प्रभावित हुनेछ, जसका लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिएर निर्यातमा प्रोत्साहन गर्नु आवश्यक छ । कोरोना कहरपछि लगत्तै रूस युक्रेन युद्धका कारण विश्वभर मूल्यवृद्धिको समस्या रहेकै बेला नेपालमा डेंगु ज्वरोको प्रकोपले स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको छ । चालू आर्थिक वर्षमा सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना भए तापनि नियमितझैं रहेको मलको अभावले धानको उत्पादनमा प्रतिकूल असर पर्छ नै । जसका कारण पनि आर्थिक वृद्धिमा संकुचन आउने देखिन्छ । पछिल्लो समयमा जलविद्युत्को बढ्दो उत्पादन र उद्योगको क्षमता उपयोगमा वृद्धि हुने अनुमानका कारण केही राहत भए तापनि मुद्रास्फीति नघट्ने हालैको केन्द्रीय बैंकको तथ्यांकले पनि देखाएको छ । तसर्थ, चालू आर्थिक वर्षमा चुनावका बाबजुद अर्थतन्त्र संकुचनमा नै रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्