दसैंमा रेमिट्यान्सको भर «

दसैंमा रेमिट्यान्सको भर

दसैं तथा तिहार पर्व नजिकिँदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विषेशगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाबले होस् वा आयात गरीएका वस्तु तथा सेवा खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ । खर्बौंमा भित्रिने रेमिट्यान्सलाई आजसम्म पनि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत रुपमा अनावश्यक क्षेत्रमा खर्च हुने गरेको छ ।
अनौपचारिक रुपमा रोजगारका लागि विदेशिएका नेपाली युवाको संख्या ४५ लाख भन्दा धेरै रहेको छ । तर, सरकारबाट श्रम स्विकृती लिएर जानेको संख्या कुल १५ लाख रहेको छ भने वार्षिक करिब साढे ४ देखि ५ लाख नेपाली रोजगारका लागि विदेशीने गरेका छन् । पछिलो समय यो संख्या वृद्धि भएर ६ साढे ६ लाख पुगेको छ । विगत एक दशकमा वैदेशिक रोजगारीले झुपडी भएका जनतालाई पक्की घर र पक्की घर भएकालाई महलमा बास गरायो । आम विपन्न जनताको पक्षबाट हेर्दा वैदेशिक रोजगारीले विपन्नका दिन फर्काएको छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा श्रमको मूल्य र रोजगारीको अवसर दुवै न्यून हुने गरेका कारण विदेश जाने युवाको ताँती रोकिहाल्ने आँट सरकारसँग छैन । वैदेशिक रोजगारीले केही हदसम्म जनतालाई राम्रो खाने र राम्रो घरमा बस्ने हैसियत दिएको छ । वैदेशिक रोजगारीले देशलाई पुर्‍याएको नाफा–घाटाको कुरा गर्ने बेला अभैm आएको छैन । बेरोजगारीको अवस्था हेर्दा अभैm केही वर्ष वैदेशिक रोजगारीलाई प्रबद्र्धन गनुपर्ने देखिन्छ ।
विकसित एवं उच्च आय भएका मुलुकहरुमा श्रमको मूल्य र रोजगारीको अवसर दुवै उच्च रहने हुँदा रोजगारीका लागि विकासोन्मुख मुलुकबाट विकसित मुलुकहरुमा विदेशिने क्रम तीव्र रुपमा बढ्दै गइरहेको छ । यूएन आप्रवासन प्रतिवेदन अनुसार विश्वका २४ करोड ४० लाख मानिसहरु बसाइँसराइ, रोजगारीलगायत अन्य कारणले आफ्नो देश बाहिर रहेका छन् । नेपालको सन्दर्भमा आर्थिक वर्ष २०६३/०६४ मा वैदेशिक रोजगारीमा जाने कूल संख्या २ लाख थियो भने यो संख्या बढेर आव २०७८/०७९ मा साढे ६ लाख नाघ्यो ।
सुरुमा पुरुष कामदारहरु मात्रै जाने गरेकोमा महिला कामदारको संख्यासमेत उल्लेखनीय रुपमा बढ्न थालेको देखिन्छ । आव २०६३/०६४ मा श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिला कामदार संख्या ३९० जनामात्र रहेकोमा हाल यो संख्या बढेर गत आव सम्ममा ४९ हजार लाख १२८ पुगेको छ । यसरी वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा गत आवसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ४५ लाख नाघिसकेको छ । यद्यपि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक अद्यावधिक हुन सकेको छैन ।
यसबाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरु, अलेखबद्ध कामदार तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरुको संख्यालाई अभिलेख गर्न सकेमा यो संख्या निकै बढी देखिन आउने छ । नेपालले ११० मुलुकलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ भने व्यक्तिगत श्रम स्वीकृतिमा करिब १७२ मुलुकमा नेपालीहरू कामका लागि गएको पाइन्छ । नेपाली कामदारको मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र यूएई रहेका छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरूको पछिल्लो आँकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

परिवारको गर्जो टार्न रेमिट्यान्स
तेश्रो घर परिवार सर्वेक्षणअनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण मुलुकको ५५.८ प्रतिशत घरधुरीमा पुग्ने गरेको देखिन्छ भने मुलुकका करिब ३१ लाख घरपरिवारले प्रतिपरिवार औसत ८० हजार ४०० रुपैयाँका दरले नियमित रुपमा विप्रेषण प्राप्त गरिरहेको देखाउँछ । वैदेशिक रोजगारीबाट नेपाललाई प्राप्त हुने अर्को फाइदा भनेको सीपयुक्त जनशक्ति हो । विदेशमा सिकेको सीप खासगरी कृषि क्षेत्रमा प्रयोग गरी स्वदेशमा रोजगारीको सृजना गर्नेहरुको संख्या पनि क्रमश: वृद्धि हुँदै गइरहेको छ । केही वर्ष अगाडिसम्म नेपालको गरिबीको रेखामुनिको जनसंख्या ३१ प्रतिशत रहेकोमा हाल २० प्रतिशतको हाराहारीमा घटेको उल्लेख गरिएको छ । यसरी गरिबी घट्नुमा विप्रेषण एउटा महत्वपूर्ण कारक बन्न पुगेको उल्लेख छ । समग्रमा भन्नुपर्दा नेपालजस्तो आर्थिक रुपमा विपन्न मुलुकमा वैदेशिक रोजगार धेरैका लागि बाध्यता र थोरैका लागि रहरको विषय भए तापनि नेपाली कामदारहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिँदै आइरहेको छ ।

के पायौं ? के गुमायौं ?
वैदेशिक रोजगारीको पछिल्लो एक दशकमा नेपालले ८ हजार ४६६ अर्ब रेमिट्यान्स पाएकोमा १० हजार ९३२ युवालाई गुमायांै । यस अवधिमा वैदेशिक रोजगारीले नेपालको सामाजिक र व्यक्तिको आर्थिक हैसियतमा आमूल परिवर्तन आयो । लाखौं नेपाली युवाले विदेशमा कमाएको पैसा देश विकासका लागि खर्च गर्न नसक्दा १ दशकपछि पनि देश परनिर्भर भइरह्यो । यो अवधिमा वैदेशिक रोजगारीकै क्रममा २ हजार १२५ जना युवा अंगभंग भएर स्वदेश फर्किएका छन् । स्वेदशी उत्पादनलाई समेत असर गर्ने गरी विदेशीका युवाले पठाएको रेमिट्यान्सले आयातमा निर्भर भएको अर्थतन्त्रलाई धानेको विश्लेषकहरु बताउँछन् । यसरी रोजगारका लागि बाहिरीएका नेपालले आफ्ना परिवारलाई सक्दो धेरै रकम पठाउने समय भनेको चाडवाडको रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाइ छ । अन्य समयमा बचत गरेर राखेको पैसा समेत दसैं तिहार र छठ जस्ता चार्डमा आफ्नो परिवालाई पठाउने गर्छन् । त्यसका कारणले पनि चाडवाडको समयमा तुलनात्मक रुपमा नेपाल भित्रिने रेमिट्यान्स धेरै हुन्छ । तर त्यसरी आएको रेमिट्यान्स आयात गरेर ल्याइएका विलाशी सामग्रीमा लगानी हुने नेपाल राष्ट्र बैकले सार्वजानिक गरेका अध्ययनमा उल्लेख छ । ठूलो मात्रामा भित्रिने रेमिट्यान्सले सर्वसाधारणको जिवन तथा चाडबाडलाई खर्चिलो मात्र बनाएको छ । वैदेशिक रोजगार बिज्ञ एवम समाजशास्त्री डा. गणेश गुरुङ रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा खेत बारी बाँझो राखेर वैदेशिक रोजगारका लागि जाने र आयत गपरएको खाद्यान्न किनेर खाने प्रवृतिले समग्र अर्थतन्त्रमा पनि असर गरेको बताए । “वैदेशिक रोजगारीमा गएको युवाले आफू गएको ऋण तिर्ने, जग्गा किन्ने र विलासी सामान किन्नेमा खर्च गरेको देखिन्छ,” समाजशास्त्री गुरुङले भने, “वैदेशिक रोजगारीमा गएकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत धेरै खर्च गर्ने गरेका छन् ।”
चाडपर्वका अवसरमा उपभोग्य बस्तुको मूल्य वढ्ने गर्छ । दसैंको अवसरमा व्यापारीले पनि मौका हेरेरे वस्तु तथा सेवाको मूल्य वृद्धि गर्ने प्रचलन नयाँ भने होइन । त्यसका साथै विश्व अर्थतन्त्रका आएको उतारचढावले पनि नेपालीको दैनिक जनजिवलाई प्रत्यक्ष प्रभाव पारेको छ । चाडवाडमा नेपालीहरुको नयाँ लुगा लगाउने, मिठो खाने सस्कृति भएकाले चाडपर्वका लागि भन्दै विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेका कारण यो समयमा रेमिट्यान्सको आप्रवाह बढी हुने गरेको रेमिट्यान्स कम्पनीको भनाइ छ ।
विश्व अर्थतन्त्रमा देखिएको समस्या तथा अमेरीकी डलर बलीयो भएको नेपाली सर्वसाधारणको दसैं महँगो हुनेमा दुईमत छैन । आयातीत बस्तु तथा सेवा खरिद गर्दा पनि रेमिट्यान्स भित्र्याउने व्यक्ति तथा परिवारका लागि केही राहत भने हुन सक्छ । तर, त्यो समग्र दसैं अर्थतन्त्रका लागि भने सकारात्मक होइन । औसत वार्षिक रुपमा ९ अर्ब अमेरिकी डलर रेमिट्यान्स आउँछ । दसैंको समयमा रेमिट्यान्स पठाउने ग्राहकको संख्यामा समेत वृद्धि हुने गरेको रेमिट्यान्स कम्पनीका सञ्चालकहरु बताउँछन् । दसैं नजिकिँदै गरेपछि रेमिट्यान्स आप्रबाहमा पनि बढ्ने भएकाले समान्यत: असोजको महिनामा आउने रेमिट्यान्स अन्य महिनाको तुलनामा दोब्बर हुने गरेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आवको भदौ महिनामा मात्र ८० अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । अघिल्लो आर्थिक वर्षलाई हेर्दा पनि तेस्रो महिना अर्थात् असोज महिनामा मात्र औषत ८६ अर्ब रुपैयाँ बरावरको रेमिट्यान्स आउने गरेको छ । यसले पनि दसैंंको समयमा रेमिट्यान्स आउने क्रम बढ्दो रहेको स्पष्ट छ । भदौको तुलनामा असोजमा आउने रेमिट्यान्स ५० प्रतिशत भन्दा धेरैले बढेको छ । दसैं, तिहार तथा छठको अवसरमा नेपाल भित्रिने नेपाली तथा विदेशमा रहेका नेपालीले नेपाल पैसा पठाउने भएकाले असोज महिनामा रेमिट्यान्स धेरै आउने गरेको छ । नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँ सुरु भइसकेको छ । चाडपर्वको अवसरमा राम्रो लगाउने र मिठो खाने अधिकांश नेपालीको रहरलाई वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाउने रेमिट्यान्सले नै भरथेग गर्दै आएको छ ।
देशको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै रेमिट्यान्स अर्थतन्त्रकै प्रमुख आधार हो । दशैमा भित्रने अधिकांश रेमिट्यान्स उपभोगमा खर्च हुने हुँदा यसले दसंै अर्थतन्त्रलाई चलायमान बनाउनसमेत भूमिका खेल्दै आएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी रेमिट्यान्स दसंैको आसपास नै भित्रने गरेको छ । दसैं लगायतका चाडपर्व मनाउनका लागि विदेशमा रहेका नेपालीहरूले घरपरिवार र आफन्तलाई पैसा पठाउने गरेकाले असोज–मंसिरको समयलाई रेमिट्यान्स वहारको समय मानिन्छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको थियो । औसतमा प्रतिमहिना ८० अर्व रेमिट्यान्स भित्रिने भए पनि असोज महिनामा मात्र ९३ अर्ब रेमिट्यान्स भित्रिएको छ । आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनामै रेमिट्यान्समा गिरावट आएको थियो । २०७८ साउनमा भने १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड कायम भएको छ । आव २०७६/०७७ मा रेमिट्यान्स ०.५ प्रतिशतले घटे पनि आव २०७७/०७८ मा भने ९.८ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्