एलजीका टिभी नेपालमै एसेम्बल हुने

एलजी इलेक्ट्रोनिक्सले चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौंको सतुंगलमा एलजीको टिभी एसेम्बलिङ प्लान्ट उद्घाटन गरेको छ । सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा नेपाल आएका एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट उद्घाटन गरेका हुन् ।
उनको यस भ्रमणले एलजी इलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको चौधरी ग्रुपको दाबी छ । दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ बिलियन अमेरिकी डलरभन्दा बढीको विश्वव्यापी व्यापार गरेको थियो । टिभी, होम एप्लाएन्स, एयर सोलुसन, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिंन्क्यू, उपभोक्ता र व्यावसायिक उत्पादनहरूको अग्रणी निर्माता, एलजीका विश्वभर परिचित ब्रान्डहरू हुन् ।
नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी इलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली इन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आइरहेको भन्दै चौधरी ग्रुपले निकट भविष्यमा एलजीका होम एप्लाएन्स र इन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने जनाएको छ ।
विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको भन्दै उद्घाटनका अवसरमा चुनले भने, “चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रामक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ ।”
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी इलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आवद्ध हुन पाउँदा गौरवान्वित रहेको बताए । “एलजी इलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ,” उनले भने ।
चुनले भविष्यमा शोरुमहरू नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त पनि गरे । हालसम्म नेपालमा एलजीका ८ वटा यस्ता शोरुमहरु छन् । चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कको भ्रमण पनि गरेका छन् ।
उनले नवलपरासीको देवचुलीमा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेक्ट्रोनिक्स इंकसँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लासरुम (डिजिटल स्कुल) को भ्रमण पनि गरे । कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मनन गर्दै निर्माण गरिएको डिजिटल क्लासरुमले विद्यार्थीहरूलाई डिजिटल शिक्षा सहायतामार्फत समग्र शैक्षिक ज्ञान प्राप्त गर्न टेवा पुर्याइरहेको दाबी गर्दै कम्पनीले हालसम्म ४ प्रदेश र ९ जिल्लामा २४ सामुदायिक विद्यालयलाई सुसज्जित गरिसकेको छ र देशभर विस्तार गर्ने योजना बनाएको पनि जनाएको छ ।