नागरिकका अपेक्षा पूरा गर्न अठोट

पूर्वकै पर्यटकीय क्षेत्रका रूपमा रहेको साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटार बजारमा रहेको छ । नेपाल सरकारले साबिक बूढीमोरङ, खुवाफोक, फाक्सिब, डाँडाबजार, भेडेटार, महाभारत र आहाले गाउँ विकास समितिलाई समायोजन गरेर ऐतिहासिक गढीको नामका आधारमा यस गाउँपालिकाको नामकरण गरिएको हो । यस गाउँपालिकाको क्षेत्रफल १६६.४४ वर्गकिलोमिटर रहेको छ भने जनसंख्या २१ हजार ५ सय ३६ छ । यस गाउँपालिकामा १० वटा वडा रहेका छन् ।
मुलुक संघीयतामा गएपछि भएको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी जनप्रतिनिधि निर्वाचित भएर आएसँगै अवसर र चुनौती दुवै रहेका थिए । पहिलो कुरा त वैशाख अन्तिममा भएको निर्वाचनबाट हामी निर्वाचित भएर आउँदा र कार्यभार सम्हाल्दै गर्दा करिब जेठको पहिलो साता सकिसकेको थियो ।
तत्कालीन अवस्थामा हामीसँग बजेट पनि थिएन । पुरानो स्थानीय सरकारले ल्याएको कार्यक्रम सम्पन्न गर्नुपर्ने अभिभारा हाम्रो थियो । पहिला नै सबै क्षेत्रमा बजेट छुट्टिइसकेकाले हामीले बजेट छुट्ट्याएर केही काम थाल्ने वातावरण थिएन ।
हाम्रो ध्यान त्यसबेला सञ्चालन भइरहेका र असार मसान्तमा सम्पन्न गर्नुपर्ने काम पूरा गर्नका लागि गयो । हामीलाई त्यसलगत्तै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेे थियो ।
विकास निर्माणको कामको अनुगमनसँगै आगामी वर्षको योजना र बजेट ल्याउने तयारीमै हामी केन्द्रित भयौं । अहिले हामीले नयाँ कामहरूको सुरुवात गरेका छौं ।
सामुदायिक विद्यालयको पढाइलाई व्यवस्थित बनाउँदै बालबालिकालाई विद्यालयमा गएर पढ्ने वातावरण बनाउनका लागि सरकारले दिने दिवा खाजाका लागि उपलब्ध गराउने रकममा १० रुपैयाँ थप गरेर दिन थालेका छौं । यसले गर्दा विद्यार्थीको पढाइमा सकारात्मक प्रभाव पर्छ भन्ने मान्यता हाम्रो हो ।
भौगोलिक विकटतालाई ध्यानमा राखेर स्वाथ्यमा सबैको पहुँच पुगोस् भनेर खोप केन्द्र विस्तार, वर्थिङ सेन्टरहरूको स्थापनासँगै १५ शय्याको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिसकेका छौं । स्वास्थ्य बिमाका कार्यक्रमसमेत हामीले ल्याएका छौं भने यसलगायत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।
यहाँको कृषिक्षेत्रलाई समेत हामीले प्राथमिकतामा राखेका छौं । कृषिलाई व्यावसायिक बनाउँदै अर्गानिक उत्पादनलाई जोड दिनका लागि समेत हामीले काम थालेका छौं ।
साँगुरीगढी गाउँपालिका भौगोलिक अवस्थाका कारणले सुगम छैन । त्यसले गर्दा सबै वडामा पुग्ने सडकलाई बार्है महिना सञ्चालन गर्ने र अन्य भित्री सडकलाई समेत स्तरोन्नति गर्नका लागि बजेट विनियोजन भइसकेको छ । त्यसलाई हामीले दु्रत गतिमा काम अगाडि बढाउने गरी योजनालाई कार्यान्वयनमा लैजाँदै छौं ।
खानेपानीको समेत समस्या रहेको यस गाउँपालिकामा भर्खरै मात्र हामीले करिब ३ करोड ५० लाखको लागतमा लिफ्ट प्रविधिमार्फत पानी ल्याउन सफल भएका छौं । यसले भेडेटारका होटलसहित १ सय ६० परिवारलाई खानेपानीको उपलब्धता भएको छ । अन्य क्षेत्रमा समेत खानेपानी पुर्याउनका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले आफूहरूले त्यसका लागि सरकारी निकाय र दाताहरूसँग योजना मागका लागि लागिपरिरहेको कुरासमेत म राख्न चाहन्छु ।
प्रदेश १ कै पर्यटनको सम्भावना बोकेको यस गाउँपालिकाको दक्षिणको अन्तिम बिन्दु खुवालुङबाट पूर्वको ध्वजे डाँडासम्मको क्षेत्रलाई समेटेर पर्यटन विकासका लागि सभाव्यता अध्यअन र डीपीआर निर्माण गर्नका लागि आफूहरू लागिपरिरहेका छौं । यसले समग्र साँगुरीगढीको विकासमा महŒवपूर्ण योगदान दिन्छ भन्ने हामीले विश्वास लिएका छौं ।
नाम्जे, आत्माघर, नमस्ते झरनालगायतका क्षेत्रको प्रचारप्रसार र व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिएको छ भने अन्य पर्यटकीय क्षेत्रहरूको खोजीमा समेत गाउँपालिकाले ध्यान दिएको छ ।
यस गाउँपालिकाको अर्को समस्या भनेको पहिरोको हो । अहिले कतिपय बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् भने कतिपयको स्थानान्तरणको काम अन्तिम अवस्थामा पुगेको छ । त्यसलाई व्यवस्थापन गर्न पनि चुनौती छ । तर, चुनौती छ भनेर पन्छिने कुरा भएन । हामी त्यसको व्यवस्थापनका लागि जुटेका छौं । महिला, दलित, विपन्न परिवार, भूमिहीन नागरिकका लागिसमेत हामीले विशेष कार्यक्रम ल्याएका छौं ।
नागरिकका अपेक्षा धेरै भएकाले बजेट पर्याप्त छैन । तर पनि हामीले समग्र साँगुरीगढीको विकासका लागि आफ्नो तर्फबाट हरसम्भव काम गरेका छौं ।