Logo

भारतलाई अमेरिकाको झट्का

अमेरिकाले भारतलाई दिँदै आएको जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेव (जीएसपी) लाई अन्त्य गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भारतलाई यो योजनाबाट हटाउने र यो योजना ५ जुनबाटै लागू हुने बताएका छन् । भारतले आफ्नो बजारमा अमेरिकालाई बराबरी तथा मुनासिव पहुँच उपलब्ध गराउने विश्वास नदिएकाले यस्तो निर्णय गर्नुपरेको ट्रम्पले बताए ।
ट्रम्पले मार्च ४ मा भारतलाई जीएसपीबाट हटाउने घोषणा गरेका थिए । यसका लागि ६० दिनको सूचना अवधि तय गरिएको थियो, जुन ३ मेमा समाप्त भइसकेको छ । जीएसपीका आधारमा भारतले जुन उत्पादन अमेरिका निर्यात गर्छ, त्यसमाथि आयात शुल्क लाग्दैन ।
जीएसपी कार्यक्रममा समावेश विकासशील देशलाई अमेरिकामा आयात शुल्कमा छुट उपलब्ध हुन्छ । यस अनुसार भारतले करिब २ हजार उत्पादन अमेरिका निर्यात गर्दै आएको छ । यी उत्पादनमा अमेरिकामा आयात भन्सार लाग्दैन । २०१७ मा भारत जीएसपी कार्यक्रमको सबैभन्दा ठूलो लाभ लिने मुलुक भएको थियो । उक्त समयमा भारतले अमेरिकामा ५.७ अर्ब डलरका सामग्री बिनाभन्सार निर्यात गरेको थियो ।
भारतले अमेरिकामा कुनै शुल्कबिना सामग्री बिक्री गर्दैै आएको तर अमेरिकी सामानको भारतमा बिक्री गर्दा शुल्क लाग्ने गरेको आरोप अमेरिकाको छ । मोदी सरकारको दोस्रो कार्यकालमा कस्तो उपाय निक्लन्छ भन्ने आधारमा भारत सरकारसँग यो विषयमा कुराकानी हुने अमेरिकी अधिकारीले बताएका छन् ।
अमेरिकाले मार्चमा भारतलाई जीएसपीबाट हटाउने पैmसलाको घोषणा गरेपछि भारतका वाणिज्य सचिव अनुप धवनले अमेरिकाको यो पैmसलाबाट भारतलाई असर नपर्ने बताएका थिए । गत वर्ष भारतले अमेरिकामा ५ अर्ब ६० करोड डलरको मात्रै सामग्री निर्यात गरेकाले यसले भारतलाई कुनै असर नपर्ने धारणा उनको थियो । यसबाट केवल १९ करोड डलरको आयात शुल्कको मात्रै बचत भएको थियो ।
यो कार्यक्रम १९७६ को जनवरी १ मा व्यापार कानुन–१९७४ का अनुसार सुरु गरिरएको थियो । विश्वका विकासशील देशको बजारलाई सहयोग गर्ने यो कार्यक्रमको उद्देश्य थियो । यसमा समावेश देशले अमेरिकामा उत्पादन बिक्री गर्नका लागि कुनै पनि किसिमको आयात शुल्क दिन पर्दैनथ्यो । यो कार्यक्रममा भारतसमेत १ सय २१ देशलाई समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्