प्राविधिक विद्यालयमा विद्यार्थी पाउनै सकस «

प्राविधिक विद्यालयमा विद्यार्थी पाउनै सकस

दोलखाका नौ स्थानीय तहमा १४ विद्यालय र संस्थानमा विभिन्न संकायमा प्राविधिक विषय गाउँमै पढाइ हुन्छ । सबै प्राविधिक विद्यालयमा सबै संकायमा एकै पटक ८ सय ५० बढीले अध्ययन गर्न पाउने कोटा छ । तर शैक्षिक बेरोजगारको संख्या बढी रहेका बेला गाउँगाउँसम्म स्वरोजगारमूलक प्राविधिक शिक्षाका विद्यालय खुलेपछि पढ्ने विद्यार्थी पाउँनै सकस भएको छ ।
दोलखाका विद्यालयमा बाली विज्ञान, भेटेरिनरी, सिभिल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, नर्सिङजस्ता विषयमा सिटिभिटीबाट सम्बन्धन लिएर खुलेका विद्यालयहरुमा स्थानीयको आकर्षण नै छैन । “विद्यार्थीलाई छात्रबास निशुल्क छ, प्रयोगात्मकका लागि ठाउँ र प्रयोगशाला पनि छ,” कालिञ्चोक गाउँपालिका–५ का लापिलाङ माविका प्रधानाध्यापक दिपक खड्का भन्छन्, “४० जनाको कोटामा गत वर्ष ११ जना भर्ना हुन आए तापनि यो वर्ष सातजना मात्र आएका छन् ।” विद्यार्थी नथपिने हो भने विद्यालयले प्राविधिक कक्षा सञ्चालनमै समस्या छ ।
कृषि र भेटेरिनरी तीन वर्षे डिप्लोमा पढाइ हुँदै आएको शैलुङको सारादा माविमा एक महिने सूचनामा एक जना पनि विद्यार्थी सम्पर्कमा आएनन् । विद्यालयको टोली विद्यार्थी खोज्न मधेसका गाउँगाउँसम्म पुगेर फर्कियो । त्यसपछि पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गरेर पुन: सुचना गर्दा समेत कोटाअनुसारको विद्यार्थी आएनन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलम श्रेष्ठले प्राविधिक शिक्षालाई पूर्ण छात्रवृत्ति दिने ठूलो कुरा हो । तर यसको व्यवस्थापनका लागि आफूले पहल गरिरहेको बताए । प्रतिविद्यार्थी एक लाखसम्म खर्च हुने विद्यालयले पूर्ण छात्रवृत्तिका लागि स्रोत व्यवस्थापन भने विद्यालयलाई कठिन छ ।
गाउँगाउँमा स्वरोजगारमूलक शिक्षाका लागि खुलेका प्राविधिक शिक्षालयमा स्थानीयकै आकर्षण छैन । विद्यालयमा भर्ना हुन आउने पनि हुम्ला, मुगु, मधेस प्रदेशलगायत बाहिरका विद्यार्थीको संख्या धेरै छन् । एसईई दिने विद्यार्थी पर्याप्त हुँदा पनि तिनै विद्यार्थी थप अध्ययनका लागि काठमाडौंतिर पुग्छन् ।
सिटिभिटीले न्यूनतम् सि प्लस ग्रेड ल्याउने विद्यार्थी मात्र प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्थालाई यो वर्ष खुकुलो बनाउँदा समेत अघिल्लो वर्षभन्दा यो वर्ष विद्यार्थी अत्यधिक घटेका छन् । स्थानीयको आकर्षण नहुनुमा सामुदायिक विद्यालयमा पढने विद्यार्थी नेपाली माध्यमबाट अंग्रेजी माध्यममा पढ्न गाह्रो हुने अभिभावकको अनुमान छ । ग्रामीण विद्यालयको पढाइप्रति स्थानीय विद्यार्थी नै विश्वस्त हुन नसकेको लापिलाङका सुवास थामीले बताए ।
प्राविधिक शिक्षा पढाइ हुने नयाँ विद्यालयमात्र होइन । ३० वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुँदै आएको देशमै नाम चलेका जिरी प्राविधिक शिक्षालयमा समेत अघिल्लो वर्षदेखि विद्यार्थी घटेका छन् । विगतमा भर्ना हुने विद्यार्थीका लागि कडा प्रतिस्पर्धा हुने जिरीमा यस वर्ष आधा पनि विद्यार्थी आएनन् । सिटिभिटीले पहुँचका भरमा जथाभावी सम्बन्धन दिंँदा अहिले प्राविधिक शिक्षा पढ्ने विद्ययार्थी पाउनै कठिन भएको जिरी प्राविधिक शिक्षालयका प्रशासन अधिकृत कुमार अधिकारीले बताए ।
पहुँचका भरमा प्राविधिक शिक्षा अध्ययनका लागि भन्दै सम्बन्धन ल्याएका विद्यालयमा २/३ जनामात्र विद्यार्थी सम्पर्कमा आएका छन् । तिनले पनि पढ्ने नपढ्ने टुंगो छैन । विद्यार्थी जति भए तापनि शिक्षक व्यवस्थापन, पुस्ताकालय, प्रयोगात्मक व्यवस्थापनका लागि ठूलो खर्च हुन्छ । तर अहिले धेरै विद्यालय विद्यार्थीको अभाव र खर्च व्यवस्थापन गर्न नसक्दा सुचारु गर्ने वा बन्द गर्ने अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्