कार्यालयमा पूरा बाहुला भएको पोसाक अनिवार्य «

कार्यालयमा पूरा बाहुला भएको पोसाक अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको संक्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै डेंगुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुनु र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीमा अनुरोध छ ।”
डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा डेंग् सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीव्र बनाइएको समेत उनले बताए ।
मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको जनाएको छ । मन्त्रालयले डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्