धितोपत्र बजार कति आत्मनिर्भर, कति परनिर्भर ? «

धितोपत्र बजार कति आत्मनिर्भर, कति परनिर्भर ?

धितोपत्र बजारको चरित्र नै सञ्चालन, नियमन र सहभागितामा आत्मनिर्भर । सहभागितादेखि सम्पन्न हुँदासम्म लगानीकर्ता वा कारोबारी, बजार सञ्चालक र नियामक सबैको भूमिका र जिम्मेवारी निर्वाह क्षमता र स्वायत्तता भए मात्र बजार आत्मनिर्भर र जीवन्त हुनेछ । सैद्धान्तिक रूपमा सबै आत्मनिर्भर र स्वनिर्णयका लागि स्वतन्त्र र सक्षम मानिन्छ । तर के एक लगानीकर्ता वा कारोबारीले स्वतन्त्र रूपमा लगानी वा कारोबार निर्णय गर्छ वा गर्न सक्छ ?, बजार सञ्चालनमा सञ्चालक स्वतन्त्र र सक्षम छ ?, अनि नियामकीय क्षमता र स्वायत्तता कति ? जस्ता प्रश्नले सबैलाई चिमोटिरहन्छ, जिस्क्याइरहन्छ । खुला बजारमा लगानीकर्ता स्वनिर्णय लिन सक्दैन, बजार सञ्चालक सामान्य नियम बनाउनदेखि पूर्वाधार र सफ्टवेयरमा परनिर्भर अनि नियामक आफ्नै स्वयत्तताका लागि राज्यसँग सधंै जुधिरहेको छ । त्यस्तो इकोसिस्टमको नेपाली धितोपत्र बजार कत्तिको आत्मनिर्भर ?

लगानीकर्ता/कारोबारी
कानुनी र सिद्धान्तत: कुनै पनि व्यक्ति वा निकाय कानुनी परिधिभित्र रहेर सम्पत्तिको उपयोग वा किनबेचमा स्वतन्त्र छन् । सोहीअनुरूप धितोपत्रमा लगानी वा कारोबार गर्न वा नगर्न पनि स्वतन्त्र छन् । तर व्यवहारमा लगानी/कारोबार निर्णयमा स्वतन्त्र र आत्मनिर्भर छन् त ? अझ अहिलेको प्रविधिमय सञ्चार र सञ्जालको दबदबामा सम्भव छ ? प्रश्न किन पनि उठ्छ भने कुनै पनि व्यक्ति कारोबार वा लगानीका लागि पहिलो सर्त नै प्रविधिमा पहुँच र ज्ञान भएको छ । अहिले कारोबार/लगानी सीप र क्षमताले मात्र कारोबार सम्भव छैन । कारोबार प्रणाली, बैंकिङ प्रणाली, धितोपत्र आवेदन तथा भण्डारण, लागत गणनाजस्ता अनेक प्रविधिको जानकार, प्राविधिक ज्ञान र पहुँच हुनैपर्ने बाध्यता छ, अन्यथा परनिर्भरताको विकल्प छैन । प्रविधि र प्राविधिक क्षमताप्रतिको बढ्दो निर्भरताले आत्मनिर्भर अनि परनिर्भर एकैपटक दुवै बनाएको छ । लगानी वा कारोबार ज्ञान, सीप र क्षमता भएर पनि प्रविधिकै कारण परनिर्भर हुनैपर्ने बाध्यताले सम्बन्धित व्यक्ति र बजारमा स्वाभाविक नकारात्मक प्रभाव पर्नेछ ।
यस्तै, लगानीकर्ता/कारोबारीहरू लगानी वा कारोबार गतिविधि र निर्णयका लागि सञ्चारमाध्यम र सञ्जालमा अत्यधिक निर्भर हुन थालेका छन् । बढ्दो सञ्चारमाध्यम र प्रस्तुत अपुरा, अपर्याप्त र जोखिमपूर्ण सूचनाले मात्र होइन, चाहेर/नचाहेर सामाजिक सञ्जालमा धितोपत्रमाथिको छलफल वा बहसले लगानी/कारोबार निर्णयलाई दिग्भ्रमित र प्रभावित गर्नेमा दुईमत रहन्न । सबै व्यक्ति लगानी/कारोबारको आधार विश्लेषण वा उपलब्ध औजारको प्रयोगमा निपुण हुँदैनन्, त्यसैले सञ्चार वा सञ्जालमा सहजै पस्किएका र नि:शुल्क तथ्यांक, विश्लेषण र तर्कलाई आधार बनाउँदै किनबेच वा लगानीमा उत्साहित र बाध्य हुन्छन् । सञ्चार वा सञ्जालमार्फत लगानीकर्ता/कारोबारीबाट थाहै नहुने गरी लगानी/कारोबार निर्णय खोसिएको छ । लगानी निर्णयको अधिकार तिनै सञ्चार वा सञ्जालका स्वार्थ समूहलाई सुम्पिएका छन् वा सुम्पिन विवश छन् ।

बजार सञ्चालक
धितोपत्र बजार सञ्चालन र व्यवस्थापनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) छ । जसले तोकिएको कानुनी र नियामक परिधिभित्र रहेर बजार सञ्चालन, व्यवस्थापन र एक तहको नियमन गर्छ । आवश्यक पूर्वाधार (हार्डवेयर, सफ्टवेयर, मानव संसाधन र कार्यप्रणाली) सबैको जिम्मेवारी उसैको हो । विभिन्न समयक्रममा विकसित र हाल प्रचलित कारोबार तथा राफसाफ प्रणालीको सञ्चालन र व्यवस्थापनका लागि नेप्सेले नै सिडिएस एन्ड क्लियरिङ (सिडिएससी), धितोपत्र दलाल र नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को व्यवस्था गरेको छ । वाइकोद्वारा नेप्सेका लागि विकसित कारोबार प्लेटफर्म नट्सको सञ्चालन र मर्मत–सम्भारको कानुनी र सैद्धान्तिक अधिकार र दायित्व नेप्सेकै हो, तर वाइकोको पहुँच र भूमिकालाई लिएर बारम्बार प्रश्न उठिरहेकै छ ।
येनकेन सञ्चालित स्वचालित र पूर्ण भनिएको अर्धस्वचालित कारोबार प्रणाली व्यवहारमा कारोबार र रकम–कित्ता राफसाफका लागि विभिन्न तहमा लगानीकर्ता, दलाल, सिडिएस, बैंकजस्ता धेरै पक्षको प्रत्यक्ष अनिवार्य उपस्थिति आवश्यक पर्छ । हो, विगतको भन्दा भौतिक उपस्थिति न्यून भएको छ, तर अझै पनि कारोबार प्रणालीमा पहुँचका लागि कारोबार खाता खोल्नदेखि कारोबार (किनबेच) र त्यसपछिको रकम र कित्ता राफसाफमा सम्बन्धित व्यक्ति र निकायको भौतिक वा विद्युतीय संलग्नता अनिवार्य छ । जस्तै, १) कारोबार खाता अनलाइन खोले पनि भौतिक उपस्थिति जनाएर औंठा छाप लगाउँदै परिचित हुनैपर्ने, अनि २) नट्समार्फत कारोबार गरेपछि पनि ‘बेचेको सेयर’ मेरो सेयर मार्फत् विद्युतीय माध्यमबाट हस्तान्तरण अनि ‘किनेको सेयर’को रकम बैंक, पेमेन्ट गेटवे वा पेमेन्ट सर्भिस प्रोभाइडरमार्फत भुक्तानी गरिरहनुपर्ने बाध्यता छ । त्यसैले प्रचलित प्रणालीलाई अर्धस्वचालित वा अन्तरनिर्भर कारोबार प्रणाली मान्न सकिएला तर आत्मनिर्भर प्रणाली पक्कै होइन कि ?
नट्स कारोबार सञ्चालन क्रममा १) कारोबार प्रणाली सञ्चालन, व्यवस्थापन र मर्मतका लागि सेवाप्रदायक (वाइको), २) प्रणालीमा पहुँच स्थापित गराउन दलाल, ३) रकम राफसाफका लागि बैंकिङ प्रणाली, ४) धितोपत्र राफसाफका लागि सिडिएससीको प्रणाली र क्षमता अनि ५) डाटा भण्डारका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा निर्भर छ । हुन त बृहत् कारोबार र राफसाफ प्रणाली एउटै निकायमार्फत सञ्चालन, व्यवस्थापन र सम्भार सम्भव नहोला, तर जेलिएको र अपूर्ण प्रणालीले बजार सञ्चालक र सरोकारवालाको कारोबार क्षमतामा व्यवधानले बजार स्वस्थ र प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । कारोबार प्रणाली सुचारुदेखि आउने सामान्य समस्या समाधान गर्दै राफसाफसम्ममा अनेक बाह्य निकाय र कानुनमा निर्भर विद्यमान कारोबार प्रणाली व्यावहारिक रूपमा स्वचालित र आत्मनिर्भर हुन निकै मेहनत र लगानी अनि कानुनी र व्यावहारिक सुधार गर्नैपर्नेछ ।
कारोबार प्रणाली मात्र होइन, बजार सञ्चालन र पहिलो नियामकका रूपमा समेत नेप्सेको क्षमता र स्वायत्ततामा बारम्बार प्रश्न उठ्छन् । सामान्य नियम, बजार विस्तार, पूर्वाधारमा लगानी र निर्णयसमेतमा सरकारी निकाय र नियामकमाथिको परनिर्भरताले बजार सञ्चालकको हैसियत निरीह भएको अभिव्यक्त नसुनिएको होइन । बजार सञ्चालकको प्रतिनिधि अनि कारोबारी र बजार प्रणालीको सेतुका रूपमा काम गर्ने धितोपत्र दलालहरूसमेत कारोबार सञ्चालन र ग्राहक हिसाबकिताबका लागि फरकफरक सफ्टवेयरमा निर्भर छन् ।
बजारका लागि अत्यावश्यक वैकल्पिक उपकरण त नेपाली धितोपत्र बजारमा छैनन् नै, मार्जिन लेन्डिङ, अक्सन मार्केट, सेटलमेन्ट ग्यारेन्टी फन्ड, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ, डिलर वा संस्थागत निकायको उपस्थितिसमेत देखिन्न ।

नियामक
धितोपत्र सूचीकरण र कारोबार नियमनको जिम्मेवार र स्वायत्त निकायका रूपमा नेपाल धितोपत्र बोर्ड (सेबोन) छ । सरकार र सम्बन्धित निकायको परिभाषामा बोर्ड बजार सञ्चालन र नियमनका लागि आर्थिक, भौतिक र कानुनी रूपमा स्वायत्त, सक्षम र स्वतन्त्र छ । तर, व्यवहारमा त्यो क्षमता र स्वायत्तताको अनुभव सायद कमैले गरेका होलान् । अझ समय–समयमा बोर्डको स्वायत्तता र क्षमता विकासका लागि विभिन्न पक्षबाट आवाज उठाइएबाट पनि बोर्डको परनिर्भरता र क्षमतामाथिको प्रश्नको स्वाभाविकता पुस्ट्याउँछ । नेगेटिभ पिईसहितको सूची निकाल्नु; बजारमा तरलता व्यवस्थापनको लागि मार्जिन लेन्डिङको आवश्यक व्यवस्था तथा सूचीकृत धितोपत्रको कारोबार रोक्न र खोल्नसमेत अन्य निकायसँग हारगुहार; इन्साइडर ट्रेडिङ र पम्प एन्ड डम्पको विषय उठान र अध्ययन तर निष्कर्ष र कारबाही गर्न नसक्नु, बरु आफूमा निहित अधिकारसमेत अन्य निकायमा सुम्पिनु; र थप दलाल, अर्को स्टक एक्सचेन्ज, कमोडिटी मार्केटको आवश्यकतामा वकालत तर लाइसेन्स र पूर्वाधर नदिनुजस्ता गतिविधिले नियामकको चरित्र र क्षमतामाथि प्रश्नैप्रश्न उठाइएका छन् ।
अन्त्यमा, कारोबारीले कम्तीमा लागत, लाभ र लाभकरको ज्ञान र सीप, जोखिम र जोखिम व्यवस्थापन, कारोबार प्रणाली बुझे अनि बजार सञ्चालकले कारोबार प्रणाली, तथ्यांक भण्डारणमा स्वनियन्त्रण र पूर्वाधारको व्यवस्था, स्वचालित र द्रुत राफसाफका लागि कानुनी र भौतिक पूवार्धारमात्र भए पनि बजारले आत्मनिर्भरतातर्फ एउटा फड्को मार्नेछ । हालैको ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटोसँगै बजारको आत्मनिर्भरतातर्फको यात्रा कस्तो हुने भविष्यको कुरा, तर नियामकले मार्जिन लेन्डिङ र नयाँ प्रडक्ट, लगानीकर्ता शिक्षा, सचेतना र क्षमता विकास; बजार नियमन र कारबाही; र प्रवाहित सूचनामा शुद्धता, यथार्थता र पर्याप्तता कायम गरिदिए पक्कै केही सुधार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्