पूर्वाधार लगानी गर्ने वातावरण बनाउने दाबी «

पूर्वाधार लगानी गर्ने वातावरण बनाउने दाबी

वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने सञ्चार सूचना तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । चौथो नेपाल पूर्वाधार सम्मेलनको समापनमा सम्बोधन गर्दै कार्कीले दश वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताए ।
उनले २०१५ सालमा वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए । संघीयतापछि दोस्रो पटक निर्वाचन सम्पन्न भएर तीनै तहका सरकार निर्वाचित भएसँगै राजनीतिक समस्या समाधान हुने र आगामी निर्वाचनबाट आउने सरकारको प्राथमिकता आर्थिक विकासमा पर्ने मन्त्री कार्कीको भनाइ छ । “१० वर्षपछि सम्पन्न देशका नागरिक हुने गरी सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीले पूर्वाधार निर्माण गर्न कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशतसम्म लगानी गर्नु पर्नेछ,” कार्कीले भने, “सरकार एक्लैले पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्दैन । निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न वातावरण बनाउन हामी तयार छौं ।”
निजी क्षेत्रको सक्रिय सहभागिताबिना नेपालमा पूर्वाधार विकास हुन नसक्ने मन्त्री कार्कीले बताए । “तपाईंहरु सबैलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न आग्रह छ,” कार्कीले सम्मेलनमा सहभागी लगानीकर्तालाई भने, “पूर्वाधार निर्माण गर्नु मात्रै उपलब्धि होइन । निर्माण भएका पूर्वाधारलाई पूर्ण उपभोग समेत गर्न सक्नुपर्छ ।”
यस्तै, नेपालमा पूर्वाधार निर्माणमा लगानी गर्ने ठूलो अवसर भएकाले नेपालको पूर्वाधार क्षेत्रमा लगानी बढाउन विभिन्न देशमा मार्केटिङ गर्न नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमरेट्स तथा सांसद विनोद चौधरीले आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पूर्वाधार सम्मेलनको समापन समारोहमा बोल्दै सांसद चौधरीले पछिल्लो समय पूर्वाधार निर्माणका क्षेत्रमा कैयौं सकारात्मक काम पनि भएका तर पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको बताए ।
“समयमा आयोजना सम्पन्न गर्न नसक्नु नै नेपालको ठूलो समस्या हो,” उनले भने, “नेपालमा मात्रै होइन, भारतमा पनि समयमा आयोजना नबन्ने समस्या थियो ।” तर, सहि व्यक्तिलाई सहि ठाउँमा राख्दा भारतमा नितिन गडगरीले पूर्वाधार निर्माणका समस्या समाधान गरेको अनुभव सुनाउँदै उनले नेपालमा पनि समयमा पूर्वाधार निर्माण नहुने समस्यामा सुधार हुन जरुरी भएको बताए । यसका साथै नेपालमा ठेक्का लिन आउने विदेशी निर्माण व्यवसायी कम्पनीबाट नेपाली निर्माण व्यवसायीको ज्ञान र सीप बढाउनुपर्नेमा उनले जोड दिए ।
तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भने देश विकास गर्न राजनीतिक नेतृत्व र कर्मचारीको सोच परिर्वतन हुनुपर्ने बताए । “मैले नीति बनाउने ठाउँमा पनि काम गरेँ, व्यवसाय पनि गरेँ । नेपाल विकास हुन धेरै समय लाग्दैन,” श्रेष्ठले भने, “आर्थिक विकास गर्न कैयौं नीति र कानुन संशोधन गर्नु पर्नेछ । हामी त्यही दिशामा लागेका छौं ।”
देशभित्र रोजगारी सिर्जना गर्न समेत पूर्वाधार र उद्योगका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको भन्दै मन्त्री श्रेष्ठले कर्मचारी र राजनीतिक नेतृत्वको सोच परिर्वतन भए देश सजिलै विकास हुन सक्ने बताए । समापन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ठूला पूर्वाधार कसरी निर्माण गर्ने, औद्योगिक पूर्वाधार निर्माण गरेर व्यवसाय सञ्चालनको लागत कसरी घटाउने भन्ने विषयमा सघन छलफल भएको बताए ।
पीडब्लूसी इन्डियाका कार्यकारी निर्देशक निदिस नायरले दुई दिने सम्मेलनमा भएका छलफलको विषयमा प्रस्तुति दिएका थिए । “पूर्वाधार निर्माण गर्न दीर्घकालिन वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा समेत विभिन्न दृष्टिकोण आएका छन्,” नायरले भने, “यो कार्यक्रमले नेपालमा कस्तो पूर्वाधार आवश्यक छ र वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा कैयौं सुझाव दिएको छ । सम्मेलनमा आएका सुझावले नियामक निकायलाई विकास–निर्माणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न समेत सहयोग गर्ने अपेक्षा छ ।”
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलनमा भएको छलफलले आगामी दिनमा सरकारलाई उपयुक्त नीति लिन सहयोग गर्ने बताए भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको बताए ।

उत्कृष्ट आइडिया पुरस्कृत
समापन समारोहमा परिसंघले आयोजना गरेको स्टार्टअप आइडिया प्रतिस्पर्धाको विजेतालाई पुरस्कार प्रदान गरेको थियो । ट्राफिक ट्रयाकिङ प्रणाली बनाउनुपर्ने विषयमा आइडिया प्रस्तुत गरेका कपिल अधिकारी प्रथम भए । उनले १ लाख ५० रुपैयाँ पुरस्कार पाए । यस्तै, धान रोप्ने मेसिन बनाउने आइडिया प्रस्तुत रहेका सौरभ सिंह चौधरी दोस्रो भए । उनले १ लाख रुपैयाँ नगद पुरस्कार पाए भने हाइवे र एडप्टिक ट्राफिक म्यानेजमेन्टको आइडिया प्रस्तुत गरेका जोशेप श्रेष्ठ तेस्रो भएर ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । कार्यक्रममा यात्री मोटरसाइकल बनाउने इन्जिनियर असिम पाण्डेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्