एनआरएनए टोली र वाणिज्य तथा आपूर्ति सचिवबीच भेटघाट

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारी नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीसँग भेट गरेको छ । भेटमा संघका यूरोप क्षेत्रीय संयोजक शिव बरुवाल, एनआरएनए रसियाका अध्यक्ष रामेश्वर गौतमलगायत गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।
भेटका क्रममा नेपालको निर्यात बढाउनु पर्ने र निर्यात प्रबर्धनमा गैरआवासीय नेपालीहरुको भूमिकाका बारेमा छलफल भएको थियो । सो अवसरमा नेपालमा आयात अत्यधिक रुपमा वृद्धि भएपनि त्यसको तुलनामा निर्यात अत्यन्त न्यून रहेकोले विदेशमा रहेका नेपाली समुदायले निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सम्भावना रहेको विचार व्यक्त गरियो । यस्तै संघले गैरआवासीय नेपाली संघको तर्फबाट आयोजना गर्ने नेपाल फेस्टिभल लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको र सो कार्यक्रममा नेपालको सामानको प्रदर्शन तथा बिक्रीवितरणलाई प्राथमिकतामा राख्न सरकारसँग अनुरोध गरेको छ । साथै भेटघाटमा नेपालको प्रबर्धनमा भएका विभिन्न कार्यक्रमहरु, नेपाल हाउस निर्माण जस्ता क्रियाकलापहरु र त्यस्ता कार्यक्रम बारेमा सचिव अधिकारीलाई जानकारी गराइयो । साथै भेटमा नेपालको निर्यात एवं निर्यात प्रवर्धनको जिम्मा पाएका निकायहरुलाई संघको सञ्जाल प्रयोग गर्न अनुरोध समेत गरियो ।
यस्तै औद्योगिक विकासले गति लिइरहेको परिप्रेक्ष्यमा नेपालमा उत्पादित उत्पादनहरू आन्तरिक बजारमा मात्र सीमित नरही मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकेमा अन्तर्राष्ट्रिय बजार पनि ओगट्न सक्ने र आन्तरिक उत्पादनलाई बाह्य बजारमा बिक्रीवितरण गर्न सकेमा मनग्य आम्दानीसमेत गर्न सकिने सन्दर्भमा समेत संयुक्त छलफल भयो । सो क्रममा गैरआवासीय नेपाली संघका तर्फबाट गएका प्रतिनिधिहरुले निर्यात प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गर्न आफू तयार रहेको अवगत गराएका थिए । यस्तै भेटका अवसरमा सचिव अधिकारीले विशेष–विशेष मुलुकमा नेपाली वस्तु र सामान बेच्ने स्पेसिजाइज स्टोर खडा गर्न गैरआवासीय नेपाली संघलाई अनुरोध गरे । सरकारबाट यस्ता विशिष्टीकृत स्टोरहरुको स्थापनामा सहयोग गरिने जानकारी गराउँदै सचिव अधिकारीले अधिकारिक प्रस्तावसहित आउन गैरआवासीय नेपालीहरुलाई आह्वान गरे ।
विश्वव्यापीकरणको यो युगमा नेपालमा लगानीमात्रै नभई व्यापार र बाह्य बजार प्रवर्धन हाम्रो समेत दायित्व हो । तसर्थ खुला बजारको अवधारणामा अघि बढ्न सकिने आधारहरुलाई उपभोग गर्न सके नेपाली उत्पादनलाई विश्वभर प्रवद्र्धन गर्ने मौका प्राप्त हुने एनआरएनएले जनाएको छ ।