विद्युत निर्यातले व्यापारघाटा कम गर्न सहयोग गर्छ : मन्त्री भुसाल

नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गरेकी छन् ।
विद्युत खपत प्रवद्र्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । देशका प्रमुख सहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसन स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा मन्त्री भुसालले विद्युत निर्यातले देशको व्यापारघाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताइन् । उनले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको दाबी पनि गरिन् । मन्त्री भुसालले मुलुकभित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैंले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन् । उनले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पेट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एकमात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएकोमा जोड दिइन् ।
मन्त्री भुसालले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोचेजस्तो विकास नभएको बताइन् । “मुलुकभित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर हामी आफैंले प्रयोग गर्ने कुरा महत्वपूर्ण हो,” उनले भनिन्, “नेपालमा विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पेट्रोल आयात हुने गरेको छ । उत्पादित विद्युत खपत बढाउने एउटा मात्रै माध्यम विद्युतीय यातायात हो । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको छ ।”
उनले रुस र युक्रेन युद्धका कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा संकट भएको बताइन् । विश्वका धेरै देशमा डिजेल र पेट्रोल प्रतिस्थापनको विकल्प नभएको भन्दै मन्त्री भुसालले नेपालमा पनि डिजेल र पेट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन् । उनले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापारघाटा कम गर्न योगदान गर्ने विश्वास व्यक्त गरिन् । “विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन रहेको छ,” उनले भनिन्, “मुलुकको व्यापारघाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।”
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताए । उनले निजी क्षेत्रका चार्जिङ स्टेसनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएको भन्दै प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने स्पष्ट पारे । कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा प्राधिकरण लागेको बताए । देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउन प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने उनले बताए । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि स्पष्ट पारे । उनले रत्नपार्कको चार्जिङ स्टेसन १२० किलोवाट डीसी क्षमता रहेको जानकारी दिए । विद्युतीय सवारी एक घण्टाभित्र पूर्ण चार्ज गर्न सकिने भन्दै उनले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रतिकिलोमिटरमा ७० पैसा खर्च लाग्ने बताए । घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । चार्जिङ स्टेसनमा समयअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ । पिक समयमा ८.७० पैसा, रातिको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ ।
प्राधिकरणले देशभरका राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गालगायत स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।