Logo

चालू पुँजी मार्गदर्शन–२०७९ बारे व्यवसायी भन्छन्

राष्ट्र बैंक बजार नियन्त्रणमा केन्द्रित

नेपाल राष्ट्र बैंक वाणिज्य बैंकहरूको नियमनकारी निकायभन्दा बजार नियन्त्रणमा बढी केन्द्रित भएको निजी क्षेत्रले गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई नियमन गर्नुभन्दा बजार नियन्त्रणमा चासो देखाएको भन्दै बजारमा चालू पुँजी अभावले आर्थिक संकट आउन सक्ने सम्भावना उनीहरूले औंल्याएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश र इकोनोमिक रिपोर्टस एसोसिएसन (इरा) ले आयोजना गरेको नेपाल राष्ट्र बैंकले चालू पुँजी मार्गदर्शन–२०७९ सम्बन्धी अन्तरसंवाद कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालू पुँजी मार्गदर्शन–२०७९ का व्यवस्थाले बजारमा थप तरलताको अवस्था सिर्जना हुने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले राष्ट्र बैंकले पटक–पटक जारी गर्ने सर्कुलरले उद्योगी–व्यवसायीहरूलाई चिन्तित बनाएकाले यसको समाधानको खोजी गर्न वीरगन्जका बैंकर्सहरूसँग अन्तरसंवादमार्फत पनि राय–सुझाव लिइएको बताए । अन्तरसंवादमा सहभागीहरूले राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनले उद्योग–व्यवसाय क्षेत्रमा थप असर पर्ने र यसले समग्र अर्थतन्त्रलाई नै प्रभावित बनाउन सक्ने सम्भावना रहेको भन्दै चिन्तासमेत व्यक्त गरे । राष्ट्र बैंक बैंकहरूको नियमनकारी निकायभन्दा बजार नियन्त्रणमा बढी चासो देखाएको महसुस भएको बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक टेमानीले नेपालमा उधारो असुलको नीति नहुँदा उद्योगीहरूको पैसा बजारबाट समयमा उठ्न नसकेर व्यापारमा समस्या सिर्जना हुने गरेको बताए । उनले भने, “बैंकर्सको पैसा उठाउने धेरै नियम भए पनि नेपाल सरकार र अरू कुनै पनि संस्थासँग उधारो उठाउने नीति नै छैन । सरकारले उधारो उठाउने नीतिलाई सम्बोधन गर्न आवश्यक छ ।”
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले चालू पुँजी खर्चको मात्रै होइन, एक महिनापछि फेरि अर्को सर्कुलर आउन सक्छ । यस्ता विसंगति व्यापारमा आउनु बैंकर्सको पनि भूमिका छ । यसको अनुगमन भएको भए समस्या हुने थिए । बैंकहरूले आयोजना हेरेर लगानी नगरी व्यक्ति हेरेर लगानी गरेको भएर समस्या आएको बताए ।
उनले भने, “प्रोजेक्ट राम्रो भएको र काम गर्ने व्यक्तिहरूले सहज रूपमा कर्जा पाउँदैन । तर, एउटा कुनै ठूलो औद्योगिक घराना छ भने उसले तुरुन्तै कर्जा पाउने अवस्था छ ।”
उद्योगी प्रकाश खण्डेलवालले राष्ट्र बैंक बैंकर्सहरूको नियमनकारी निकाय भए पनि बजारका लागि जस्तो मात्रै देखिएको बताए । उनले भने, “नयाँ–नयाँ नियमहरू ल्याएका छन् । नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक कुरा गर्नेहरू मात्रै छ । व्यावहारिक विषयहरू बुझ्ने व्यक्तिहरू नै छैन । व्यावहारिक कुरा नीति–नियम बनाउने तहमा बजारका व्यक्तिहरूलाई पनि सहभागी हुनुपर्छ । तर, बजारका व्यक्ति भएपछि हाम्रो मुलुुकको नियमनकारीका लागि अविश्वसनीय हुन्छ ।”
उद्योगी–व्यवसायीहरूले पैसा लिएर घरमा नथुपारेको बताउँदै खण्डेलवालले कर्जा लिएर बजारमा नै लगानी गरिएकाले बजारमै पैसा रहेको बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले बैंक र उद्योगी–व्यवसाय निजी क्षेत्र एउटै डुंगामा यात्रा गरिरहेको बताए । बैंकर्सले कति गल्ती गरेको छ । उद्योगी–व्यवसायीहरूले कति गल्ती गरेको छ ? दुवैको विश्लेषण गरेर सुधारतर्फ जानुपर्नेमा जोड दिए । व्यापारी निराश हुन नहुने तर्क गर्दै बजार अहिले निकै संवेदनशील अवस्था रहेकाले अर्थमन्त्रालय, राष्ट्र बैंकलगायतका निकायहरूसँग निरन्तर छलफल आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्