Logo

नेपालका सहर अव्यवस्थित भए : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्राय: सहर योजनाबद्ध तरिकाले निर्माण नहँुदा समस्या भएको बताउदै अव्यवस्थित सहरलाई व्यवस्थित तथा रूपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योजनाबद्ध र व्यवस्थित सहरी विकासका लागि आधुनिक सहरको विकास हुनुपर्ने भन्दै हिमाल पहाड जताततैबाट सहरी क्षेत्रमा बसाइँ सराइ गर्ने क्रम बढेकाले हिमाली पहाडी क्षेत्रमा पनि व्यवस्थित र योजनाबद्ध विकास गर्न जरुरी रहेको बताए । देउवाले सम्मेलन केन्द्रले बुटवल तथा वरपरको आर्थिक सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्‍याउने बताए ।
उद्घाटन अवसरमा गृहमन्त्री बालकृष्ण खांणले राज्यले गरेको लगानीलाई कसरी सदुपयोग गर्ने र कसरी त्यसको बहुआयामिक ढंगले सन्चालन गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताए । उनले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बने पनि उचित सदुपयोग हुन नसकेको बताउँदै त्यसका लागि देखिएका बाधा हटाउन सरकार र प्रधानमन्त्रीका तहबाट प्रयत्न भइरहेको बताए । गृहमन्त्री खाणले बुटवल क्षेत्रको विकासबाट नेपालको अर्थतन्त्र गतिशील हुने दाबी गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि आवश्यक बजेट अभाव भएको बताए । प्रदेश राजधानी निर्माणका लागि ३२ अर्ब आवश्यक छ, संघीय सरकारले त्यसतर्फ दिन आग्रह गरे ।
पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले लामो समयको धैर्यतापछि रुपन्देहीले नयाँनयाँ आयोजना सम्पन्न गरेर उद्घाटनका लागि तयार भएको बताए ।
पौडेलले केही समयअघि उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा निर्मित पाँच हजारजना क्षमताको सभाहल निर्माणले रुपन्देहीले विकासको गफ होइन विकासको काम गर्छ भन्ने कुराको प्रमाण भएको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नेपालमा १० वटा ठूला सभाहल निर्माण भएको र ४० वटा थप सभाहल निर्माणको तयारीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्