गहुँ र चिनीको प्रतिबन्ध हटाउन पहल भइरहेको छ : भारतीय राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन् ।
शनिवार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले केन्द्र सरकारसँग कुराकानी भइरहेकाले सो समस्या चाँडै नै समाधान हुने विस्वास व्यक्त गरे । उनले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको बताए ।
राजदूत श्रीवास्वले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको पनि बताए । उनले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिए पनि चाँडै नै निर्माण हुने प्रतिवद्धता जनाए । उनले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको बताए ।
राजदूत शर्माले पुल निर्माण कार्य चाँडै सकिने पनि बताए । “नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ” उनले भने, “यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ । हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।” राजदूत श्रीवास्तवले नयाँ आयात गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा पनि छलफल भइरहेको बताए ।