फुटपाथ व्यापारीको आन्दोलन र महानगरको व्यवस्थापन «

फुटपाथ व्यापारीको आन्दोलन र महानगरको व्यवस्थापन

काठमाडौं महानगरले फुटपाथ खाली गराउन थालेपछि फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू स्वरोजगार श्रमिक संघर्ष समिति नै बनाएर महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिए । यसका साथै फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र पनि बुझाए । मंगलबार संघर्ष समितिको नाममा नाराबाजी गरेर ज्ञापनपत्र बुझाउन काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए ।
उनीहरूले सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्नेसहित तीनवटा माग राखी महानगरलाई ज्ञापनपत्र बुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । सडक किनारमा काम गरेर रोजीरोटी गरेकालाई अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने र महानगर प्रशासनद्वारा भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने आदि माग राखेर उनीहरूले यसअघि सरकारसँग भएको सम्झौतासमेत कार्यान्वयन गर्नुपर्ने बताएका छन् । यसै सन्दर्भमा कारोबारले मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं आई फुटपाथ व्यापर गरिरहेकासँग गरेको कुराकानीको सार :

सरकार कि रोजगार देऊ, कि व्यवस्थापन गर
गंगा अधिकारी
झापा, हाल : जडिबुटी
थोरै लगानीले व्यापार व्यवसाय गरी बालबच्चा र आफ्नो लागि पेट पाल्ने भाँडो सरकारले फालिदिन्छ । सरकारले बाटो देखाउँदैन, अरू केही छैन । त्यसमाथि नगरको हेपाइ सहनुपर्छ । यस्तै हो त समस्या, नगर प्रहरीले दु:ख दिन्छ, राख्न दिँदैन । शनिबारको दिन पनि भागाभाग गर्ने अवस्था आउँछ । कतिचोटि हाम्रो सामान लगिसक्यो । केही भन्न/गर्न सकिँदैन । सामान फिर्ता आउँदैन । लछारपछार पर्दा कति घाटा हुन्छ, महानगर आयो भने त झन् जफत गरिदिन्छ । हाम्रो सबै सामान जान्छ । हामीलाई एउटा व्यवस्थित ठाउँ मिलाइदिनुपर्‍यो । हामी पनि रहरले बसेका हैनांै । कानुनविपरीत हुन कसलाई मन हुन्छ र ? बाटोमा बसेर धूलो खान कसलाई मन होला र ? कि सरकारले व्यवस्थापन गर्नुपर्‍यो, कि हामीलाई हामीले गर्न सक्ने रोजगारी प्रदान गरिदिनुपर्‍यो । होइन भने बस्न दिनुपर्‍यो । हाम्रो माग त्यही हो अहिले । व्यापारअनुसार कमाइ हुन्छ । कहिले नगर प्रहरीले लखेटेको लखेट्यै गरेपछि गार्‍है पर्छ, नत्रभने सहजै छ । सजिलोसँग व्यापार गर्न दिए त बचत पनि हुन्थ्यो । दिनको हजार–१५ सयसम्म निकाल्छौं । पाँचजना परिवार यसैले पालिएका छौं । अहिलेसम्म त कहिलेकाहीं दु:ख–बिमार पर्दा उपचार गर्न पनि सकेकै छौं । सामान रत्नपार्क, भोटेबहाल, त्यतै होलसेलबाट उठाउँछौं । अहिले हिन्दूहरूको पर्व नजिक आएको छ, एउटै सामानमा ५०/१०० सय रुपैयाँ मूल्य बढी भएको पाइन्छ । सामानको मूल्य बढेसँगै नाफा पनि कम्ती छ । हाम्रो पहिले १ सय नाफा हुनेमा अहिले ५० हुन्छ ।

सरकारले हामीलाई व्यवस्थित ठाउँ दिओस्
बद्रीनारायण देव
सर्लाही, हाल : कालिमाटी
अहिले हेर्दा, हामीले गरिखाने बाटो, जबकि न सरकारले रोजगारी दिन सक्छ, न कुनै व्यवस्थापन गरिदिन सक्छ । हामी यो देशका नागरिक होइनौं ? फुटपाथ व्यापारी यो देशका नागरिक होइनन् ? हामी कहाँबाट आएको हो ? भनेको अर्थ यो हो, अहिलेसम्म कुनै निकायले कान खोलेर सुन्नुभएको छ कि छैन कि हामी यो देशका नागरिकको कुरा ? हामी नागरिक नै होइन र ? यदि हो भने किन यो परिस्थिति, नराम्रो किन ? जबकि न मैले सरकारसँग केही मागेको छु, न सरकारको केही बिगार नै पुर्‍याएको छु । यही गरेर जति हुन्छ, जेनतेन आफ्ना बालबच्चा पालिराखेको छु । तैपनि सरकारले हामीलाई किन त्यति धेरै दु:ख दिन्छ ? एकछिन बस्न दिँदैन ? दिनभरि लखेट्छ लखेट्छ अनि भेट्यो भने गयो सामान । जबकि सामान लगिसकेको छ, आफ्नो जति हुन्छ, जरिवाना तिरेर ल्याउन नपाउने यस्तो कुन ठाउँमा छ यस्तो नियम ? सरकारले हामीलाई रोजगारी दिन त सक्दैन । तर मेरो विचारमा हामीलाई हुने ठाउँ व्यवस्थित गरिदेओस्, हामीले सरकारसँग धेरै ठूलो माग राखेका छैनौं । व्यवस्थित गरिदेओस्, हामी शान्तसँग गरिखान पाऊँ । गरिबको पेटमा लात नहान्नुस् । परिवारमा चारजना छौं हामी । हाम्रो पुस्तादेखि त्यति राम्रो अवस्था छैन, खाने ठाउँ राम्रो होस्, बालबच्चालाई राम्ररी खान र लाउन पुगोस् भनेर काठमाडांै आएको, तैपनि गरिखान दिँदैन । यही काम गरेर गुजारा गर्छु । चल्न मुस्किल छ । भोलि कोही बिरामी भए पनि साहूकोमा जानैपर्छ । हामी अहिले पेटमात्र पाल्छौं, बचत निकाल्न गाह्रो छ हाम्रो परिवारलाई । यहाँ बेच्न लागेको दुई वर्ष भयो । यसैले काम चल्दै छ । दसंै आयो, अब सामान महँगो हुन्छ । हाम्रो धेरै लगानी गर्न सक्ने अवस्था पनि छैन । बल्ल सामान ल्याउँछौं, नगर लैजान्छ कि भने घाटामा पनि सामान बेच्ने गरेको छु । १० हजारको सामान बेच्यौं भने २ हजारसम्म निकाल्न सक्छौं ।

सबैले हाम्रो कथा सुने तर व्यवस्थापनमा चासो दिएनन्
मनीषा लामिछाने
सुर्खेत, हाल : जडिबुटी
पढेलेखेको छैन । काम गर्न सजिलो छैन । ठूलो व्यवसाय गर्न पैसा छैन । छोराछोरी पढाउनुपर्‍यो, दु:ख आफ्नो ठाउँमा हुन्छ । बोलेर सुन्ने मान्छे छैनन् । खाने बाटो यही हो । त्यही पनि नगरपालिकाले दिँदैन, लखेटेर खेदो गर्छ । भेट्यो भने सामान गाडीमा हालेर लान्छ । हामी केही गर्न सक्दैनौं, बसेर रुनेबाहेक । हामी गरिब–दु:खी मान्छेलाई दु:ख छ, गरिखान पाए, सामान बेच्न दिए धेरै सहज हुन्थ्यो कि समय, नियम, स्थान तोकिदिनुपर्‍यो । हामी त्यही नियम पालना गर्दै काम गथ्र्यौं । होइन भने हामी जसरी गरेका छौं, आफ्नो ठाउँमा छोडेर राम्रोसँग चल्न दिनुपर्‍यो । होइन भने हामी गरिब कहाँ जाने, के खाने ? न पढेको छ, न ज्यामी काम गरेर खान सकिन्छ, न सरकारले दु:ख गरेर सकेको काम गर्न दिन्छ । यही कामले घर–परिवार पाल्न गाह्रै पर्छ । खाना खर्च जेनतेन पुगिरहेको छ । परिवारमा चार सदस्य छौं । त्यसमा बूढा ज्यामी काम गर्नुहुन्छ । म यहीँ फुटपाथमा सामान बेचेर गुजारा गर्छु । हामीलाई व्यवस्था मिल्छ भने सरकारले जे भने पनि हामी गर्न तयार छांै । सरकारले हाम्रो राम्रो जीविका आर्जन गर्न सहयोग गर्छ भने त हाम्रो पनि त रहर होइन, यसरी बस्न हामीलाई उचित ठाउँ, उचित समय भयो भने हामी नियममा चल्छौं पनि । होइन भने व्यवसाय दिनुपर्‍यो । काम गर्ने ठाउँ देखाइदिनुपर्‍यो । सकिँदैन भने हामीमाथि अत्याचार पनि त गर्नु भएन । हामी पनि मान्छे नै हौं । खान पर्छ, बाटो चाहिन्छ । त्यसले पनि तरकारी खाने बाटो मात्रै हो । छोराछोरीलाई कापीकलम भन्छन्, त्यही हो, यो नि भएन भने त कहाँबाट खानु, पालिनु ? सानो कोठा लिएर बसेका छौं । तैपनि नगरले लखेटेको लखेट्यै गर्छ । यहाँ बसेको त चार वर्ष भयो । अहिलेको अवस्थामा सामान निकै महँगो भएर आएको छ । ग्राहक पनि त हामीजस्तै हुन् । धेरै पैसा हाल्दैनन् । पहिला यतिमा लगेको, यतिमा देऊ भन्न पछि पर्दैनन् । सामान बढेसँगै नाफा पनि निकै कम भएको छ । पहिले १० हजारको सामान बेच्दा २ हजार–२५ सयसम्म नाफा हुन्थ्यो भने अहिले १ हजार पनि मुस्किलले हुन्छ । थोरै सामान ल्याएर बेच्छौं । धेरै लगानी गर्न सक्ने हैसियत पनि छैन । दसैं वा पर्व लागेसँगै सामानको मूल्य बढेको छ । पहिलेको जस्तो व्यापार पनि गर्न पाइँदैन, नाफा पनि कम छ अहिले । त्यसमाथि यो वर्ष धेरै लगिदिएको छ हाम्रो सामान । न फिर्ता पाइन्छ सामान, न कसैलाइ भन्न सकिन्छ । पत्रकार पनि कति आए, नेता पनि कति आए, तर हाम्रो व्यवस्था कसैले केही गरेनन् । सबैले सुन्छन्, देख्छन् तर बेवास्ता गर्न कसैले छाड्दैनन् । दसैंका लागि सामान भोटेबहाल, महाबौद्ध त्यहीबाट ल्याउने हो । महँगीले त नेपाली नागरिक सिकार भएका छन् । आजभोलि भने यो पर्वको माहोलमा महँगीको कमी होला र नेपालमा ? त्यसमाथि चार वर्षमा १६/१७ चोटि सामान गुमाएर बस्नुपरेको छ । कि सामान बेच्न दिनुपर्‍यो कि उचित व्यवस्था गर्दिन पर्‍यो । होइन भने लान पाइँदैन ।

महानगरले सामान लान्छ फिर्ता दिँदैन
कमला श्रेष्ठ
काभ्रे, हाल : असन
हाम्रो परिवारिक अवस्था त्यति राम्रो छैन । आफूले खानैपर्‍यो, बालबच्चालाई खुवाउनैपर्‍यो । हाम्रो परिवारमा जम्मा चारजना छौं । चार जनालाई खान–लाउन काम नगरी पुग्दैन । सरकारले पनि दु:खी–गरिब भनेर केही कुरामा हेर्दैन । अब सानो झोलामा थोरै लुगाफाटो, वस्तु बोकेर हिँडौं न त भन्दा नगरले खेदेर बस्न सकिँदैन । यहाँ बस्न थालेको पनि एक वर्षजति भयो । मेरो सामान लगभग पाँचचोटि उठेको होला । आजसम्म खै फिर्ता आउँदैन । यही बेचेर त होइन, यसले यसो तरकारी खान पुग्छ । घरका अरू सदस्य पनि ज्यामी काम गर्नुहुन्छ । सरकारले न रोजगार दिन्छ हामीलाई, न व्यापार गरेर खान्छु भन्दा ठाउँ छ हामीलाई । भएसम्म यही ठाउँमा, नभए कुनै राम्रो ठाउँ मिलाइदिनुपर्‍यो । होइन भने हामीलाई राम्रो काम दिलाउनुपर्‍यो, जहाँ हामी ढुक्कसँग काम गर्न सकौं । त्यसैले खान–लाउन, बालबच्चा पाल्न सकियोस् ।

गरिखान्छु भन्दा पनि नपाइने कस्तो देश हो
इश्वर सेढाईं
धादिङ, हाल : नयाँ नैकाप
बिहान–बेलुका रोटी खान, बालबच्चा पढाउन, हुर्काउन पर्‍यो । आफ्नो पेसा यही हो, अरू छैन । केही उपाय गरेर भए पनि परिवार पाल्नका लागि केही गर्छु । सरकारले धान–चामल केही दिँदैन, झन् महँगी बढेको छ । अझै दु:खको कुरा, नगरले सामान उठाइदिन्छ हाम्रो । त्यही नै हो हाम्रो समस्या । महानगर आएर सामान उठाएर लागिदिन्छन्, फिर्ता दिँदैनन् । आएको बेला भाग्ने, नआउँदा गर्ने । सामान जफत गर्दिन्छ । पछि पाइँदैन । सुख कुनै काममा हुँदैन, तर हाम्रो काम सार्‍है कठिन भयो । सुखले काम गर्न नि पाइँदैन । गरिब जनतालाई पनि हेर्न पर्‍यो । हामीलाई कि ठाउँ व्यवस्था गरिदिनुपर्‍यो, हाम्रो समय निर्धारण गरिदिनुपर्‍यो । होइन भने रोजगारी भए पनि प्राप्त गराइदिनुपयो । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य सबैलाई चाहिन्छ । राम्रो होस् भन्ने सबैको मन हुन्छ । धनीमानीका कुरा सुन्ने, कसैले नजिकै सानो त्रिपाल तानेर बस्दा केही नहुने, हामी गरिबले सानो परिवार पाल्न दु:ख गरेर खान खोज्दा पनि नदिने । हामीले कसैको लुटेका होइनांै । चोरी गरेका छैनौं, गरिखान्छु भन्दा पनि नपाइने कस्तो देश ? हामीलाई नगरले सार्‍है खेद्छ । सटरभन्दा अगाडि पूरै सामान ढाकेर बस्दा वास्ता हुँदैन नगरलाई, हामीले सामान सानो ठाउँमा राख्दा पनि सुख दिँदैन सरकारले । सम्बन्धित ठाउँमा राख्दिए सुनुवाइ हुनेछ, नगरको पनि काम हो, गर्नैपर्‍यो । महानगरले व्यवस्था मिलाइदिएमा सहज हुने थियो भन्ने मेरो धारणा हो ।
त्यही व्यापारले मेरो घर चल्छ । मेरो घरमा पाँचजना सदस्य छौं । दिनमा एक हजार/१५ सय कमाइ हुन्छ । दसैंको माहोल छ, सामान महँगो भएको छ । १ हजारको सामान १५ सय भएको छ । सामान महाबौद्ध, जोरपाटीबाट ल्याइन्छ । धेरै लगानी गर्न सक्ने भए त पसल गरिन्थ्यो । ७ हजार/१० हजारको सामान उठाउने, महिनामा त्यस्तै छ । सरकारले कुरा सुने त बोल्नु ? सबै ठाउँमा सुनेर देखेर अन्देखा गर्नेलाई हामी गरिबले के गर्नु ? सधैं हामीलाई अव्यवस्थित नै पारिरहन्छ । आजसम्म १०/१२ चोटि सामान लगिसक्यो मेरो । सुन्ने कोही छैन, सुनाउनेको के अर्थ भनेजस्तै जाने सामान गयो, फेरि थोरै–थोरै गर्दै सामान जुटाउँदै बेच्छांै । मेरो भनाइ के भने हामी पनि त मानिस हौं । गरिबको पनि पेट हुन्छ, पाल्नुपर्छ । चोरी गरेको होइन, लुटेको छैन, हामी गरिब भएरै हो त यो अन्याय ? कहिलेसम्म सहनुपर्छ यो हामीले ?

प्रतिक्रिया दिनुहोस्