Logo

नेपालको विद्युत् व्यापारसम्बन्धी कानुन, नियम, मार्गनिर्देशन पनि बनाउने र विद्युत् निर्यातमा सहजीकरण गर्नु आजको आवश्यकता हो ।

विद्युत् निर्यातमा नेपालको फड्को

नेपालको वर्षौंदेखि विद्युत् निर्यात गरेर आफ्नो व्यापारघाटा कम गर्ने कल्पना गरेको हो । दिगो विकासका १७ वटा बृहत् लक्ष्यहरूमध्ये लक्ष्य ७ ले सन् २०३० सम्म सबैका लागि सुपथ, भरपर्दो, दिगो र आधुनिक ऊर्जा उपलब्ध गराउने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यको एउटा पक्ष नेपाल पनि भएका कारण नेपालले पनि विश्वव्यापी रूपमा अपनाएको लक्ष्यलाई आत्मासात् गरेको छ । यसै लक्ष्यअनुरूप नेपालले आफ्नो ऊर्जा विकासको मार्गचित्र पनि बनाएको छ । दिगो विकास लक्ष्यलाई भेट्न नेपालले सन् २०३० सम्म ९९ प्रतिशत विद्युतीकरण तथा सबै नेपालीको विद्युत्मा पहुँच, वार्षिक प्रतिव्यक्ति ऊर्जा खपत १५ सय किलोवाट आवर तथा जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउनुपर्छ । यी लक्ष्यहरू आन्तरिक बजारका लागि हो । तर, मुलुकको आन्तरिक माग पूरा भइसकेपछि नेपालले भारत तथा बंगलादेशलगायत बाह्य बजारमा विद्युत् बेचेर आफ्नो व्यापारघाटा कम गर्ने तथा विदेशी मुद्रा आर्जन गर्ने स्रोतका रूपमा दीर्घकालीन उद्देश्य पनि बोकेको छ । त्यसैले विद्युत् व्यापारमा नेपालले भारत तथा बंगलादेशसँग सहकार्य गर्ने योजना पनि बनाएको छ । हाल नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा २ हजार मेगावाटभन्दा धेरै जडित क्षमता पुगेको छ भने सरकार तथा निजी क्षेत्रले लगानीमा ५ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरू अध्ययन, विकास र निर्माणका विभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरू बिस्तारै निर्माण सम्पन्न हुने चरणमा जाँदै गर्दा नेपालले आफ्नो बाह्य बजारमा पनि सुनिश्चित गर्दै जानुपर्ने हुन्छ । अन्यथा वर्षायाममा आवश्यकताभन्दा बढी भई विद्युत् खेर जाने अवस्था सिर्जना भइसकेको छ । एकातिर आन्तरिक बजारको विस्तार गर्दै औद्योगीकरणमा जोड दिनुपर्नेछ भने अर्कातिर मुलुकभित्र बढी भएको विद्युत् अरू देशलाई निर्यात गर्नुपर्ने आवश्यकता छ । चालू आर्थिक वर्षबाट विद्युत्को खुद निर्यात गर्ने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका लागि पनि भारत तथा बंगलादेशसँग व्यापारका सम्भावना खोज्नुपर्ने बाध्यता छ । किनकि हाल ११ हजार मेगावाटभन्दा बढी विद्युत्को निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ, जसका कारण धेरै विद्युत् उत्पादन भएको अवस्थामा मुलुकभित्र खपत नभई खेर जाने स्थिति रहन्छ ।
नेपालको विद्युत्को बजारमा भारत तथा बंगलादेश हुनुको कारण ती दुवै मुलुकमा ऊर्जाको चरम अभाव पनि हो । भारतको राष्ट्रिय प्रणालीमा हाल जडित क्षमता करिब ४ लाख मेगावाट पुगेको मानिन्छ । सन् २०३० सम्म भारतले कुल जडित क्षमता ८ लाख मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । त्यसैले वातावरणीय दृष्टिले पनि कोइलाबाट उत्पादित विद्युत्भन्दा सस्तो तथा नवीकरणीय ऊर्जा भएका कारण नेपालको विद्युत् भारतका लागि उत्कृष्ट विकल्प हो । हाल नै पनि नेपालबाट भारतले करिब ४ सय मेगावाट विद्युत् आयात गरिरहेको छ । नेपालमा भारतीय जलविद्युत् निर्माताहरूको आकर्षण बढेको कारण पनि त्यही हो । त्यसपछि बंगलादेश नेपालको विद्युत्को सम्भाव्य बजार हो । बंगलादेशको राष्ट्रिय प्रणालीमा हाल जडित क्षमता करिब २३ हजार मेगावाट पुगेको बताइन्छ । सन् २०३० सम्म बंगलादेशले पनि कुल जडित क्षमता ४० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको मानिएको छ । त्यसैले, ऊर्जाको अभावका बीच बंगलादेशले आफ्नो आवश्यकताको नेपालजस्ता मुलुकबाट आयात गरी परिपूर्ति गर्ने नीति लिएको छ । यसै सन्दर्भमा नेपालले बंगलादेशमा पनि विद्युत् निर्यात गर्न सकिने नेपाल बंगलादेश सचिवस्तरीय बैठकको निचोड छ । आगामी तीन महिनाभित्रै ५० मेगावाट विद्युत् नेपालबाट आयात गर्ने इच्छा बंगलादेशले राखेको छ । तर, नेपाल र बंगलादेशले चाहेर मात्रै दुई देशबीच विद्युत् व्यापार सम्भव छैन । दुई देशको बीचमा रहेको भारत पनि नेपाल र बंगलादेशको बिजुली व्यापारको योजनामा सहमत हुनुपर्छ । त्यसैले नेपाल तथा बंगलादेशले भारतसँग विद्युत्को बाटोका लागि छलफल गर्न ढिलाइ गर्न हुँदैन । साथै, नेपालको विद्युत् व्यापारसम्बन्धी कानुन, नियम, मार्गनिर्देशन पनि बनाउने र विद्युत् निर्यातमा सहजीकरण गर्नु आजको आवश्यकता हो । यसका लागि कानुनबाहेक प्रसारणलाइन, प्रतिस्पर्धी मूल्य तथा भू–राजनीतिको संवेदनशीलताको विचार गरेर नेपालले आफ्नो विद्युत् व्यापार बढाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्