वनस्पति घिउ र तेल निर्यात घट्दै, पाम आयल बढ्दै

भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ ।
विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । यो अवधिमा भटमासको तेलको निर्यातमा अघिल्लो साउनको तुलनामा ७ अर्ब ३९ करोड २ लाख रुपैयाँले कमी आएको छ । विभागका अनुसार साउनमा भटमासको तेल निर्यात ८२.२३ प्रतिशतले घटेको देखिन्छ । सनफ्लावर आयलको निर्यातमा पनि ९० प्रतिशतले कमी आएको छ । अघिल्लो आवको पहिलो महिनामा ७९ करोड १९ लाख रुपैयाँ बराबरको सनफ्लावर आयल निकासी भएकोमा चालू आवको सोही अवधिमा ७१ करोड २८ लाख रुपैयाँले कमी आई जम्मा ७ करोड ९१ लाख रुपैयाँको मात्र सनफ्लावर आयल निकासी भएको छ ।
यता, पाम आयल निकासीमा भने सुधार आएको छ । अघिल्लो साउनको तुलनामा यस वर्ष ७३.६ प्रतिशतले पाम आयल निकासी बढेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष २ अर्ब १५ करोड ५९ लाखको पाम आयल निकासी भएकोमा चालू वर्षको साउनमा १ अर्ब ५८ करोड ६८ लाख रुपैयाँले वृद्धि भई ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँ बराबरको निकासी भएको छ ।
प्रशोधित वनस्पति तेल निकासीमा आएको कमीसँगै कुल निकासीमा यस क्षेत्रको हिस्सा कमजोर बनेको छ । अघिल्लो वर्ष कुल निकासीमा ५० प्रतिशत हिस्सा ओगट्ने वनस्पति घिउ तथा तेलको हिस्सा यस वर्ष भने ३७ प्रतिशतमा सीमित रहेको छ । चालू वर्षको पहिलो महिना निकासी व्यापार गत आवको तुलनामा २८.६८ प्रतिशतले घटेर १४ अर्ब ८० करोड ९७ लाखमा सीमित भएको छ । गत आवको साउनमा २० अर्ब ७६ कराड ५१ लाख मूल्य बराबरको निकासी भएको थियो ।
गत आवमा नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत थियो भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफ्लावर आयलको २.४ प्रतिशत रहेको थियो । यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । भारत सरकारको परिवर्तित भन्सार दरको मारमा यी उद्योग परेका हुन् । पाम आयल मलेसिया, थाइल्यान्ड तथा इन्डोनेसिया लगायतका मुलुकबाट नेपाल भित्रिँदै प्रशोधनपछि भारतीय बजारसम्म पुग्छ । नेपाल वनस्पति घिउ तथा तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवाल सोयाबिन आयल, पाम आयल र सनफ्लावर आयलको मूल्य नेपालभन्दा भारतमै सस्तो पर्न थालेपछि निकासी घटेको बताउँछन् । भारतले चार महिनाअघि करको दर हेरफेर गर्दै तेलको कच्चा पदार्थ आयातमा भन्सारदर शून्य र जीएसटी ५ प्रतिशतमात्र लगाएको छ । अध्यक्ष अग्रवालका अनुसार नेपालमा कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्छ । “अब निकासी हैन, भारतबाट नेपालमा चोरी पैठारी हुन थालिसकेको छ,” अध्यक्ष अग्रवाल भन्छन्, “नेपालका चाउचाउ, बिस्कुट जस्ता उद्योगलाई समेत भारतबाटै तेल ल्याउन बजेटले बाटो खोलिदिएकाले स्वदेशी उद्योगहरु सबैजसो बन्द हुने स्थितिमा छन् ।” व्यवसायीहरुका अनुसार हाल सीमा क्षेत्रबाट भारतीय तेल आउन थालेको अवस्था छ ।
चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालले साढे ७ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूूल आयात गरेको छ । विभागका अनुसार साउन महिनामा नेपालले ७ अर्ब ३८ करोड ९८ लाख २६ हजार रुपैयाँको १६ करोड १९ लाख ३७ हजार केजी खाद्यान्न, तरकारी तथा फलफूल आयात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले १२ अर्ब ६२ करोड ८ लाख रुपैयाँको २९ करोड ६३ लाख ८६ हजार केजी खाद्यान्न, तरकारी तथा फलफूल आयात गरेको थियो । नेपालले साउन महिनामा मात्रै २ अर्ब ४२ करोड ५८ लाख ६५ हजार रुपैयाँको ४ करोड ८४ लाख ३० हजार केजी धान तथा चामल आयात गरेको छ ।

स्रोत: भन्सार विभाग