नेपालमा सामसङको टिभी उद्योग

विश्वप्रसिद्ध ब्रान्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टेलिभिजन कारखाना स्थापना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कको उपस्थितिमा बुधबार नवलपरासीमा कारखानाको शिलान्यास भएको छ ।
समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङ, दक्षिण कोरियाका राजदूत पार्क चोँग सुकलगायतको उपस्थिति थियो । कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।
समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले भने, “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलईडी टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरुप्रति उपभोक्ताले देखाउनुभएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो ।”
गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुंगा सावित हुने बताए । उनले कारखाना स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्ने तथ स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको कम्पनीले जनाएको छ । । साथै यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्ने आशा पनि गरिएको छ ।
नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो । हाल नेपालमा यो ब्रान्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदारमार्फत नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ र स्मार्टफोन बिक्री गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत सामसङले सेवा प्रदान गर्दै आइरहेको पनि कम्पनीले जनाएको छ ।
उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ३८ अर्ब १९ करोड ४ लाख ९७ हजार रुपैयाँको पुँजीसहित १० वटा उद्योग दर्ता भएका छन् । यसका साथै स्वदेशी तथा विदेशी लगानीमा १ अर्ब २७ करोड २८ लाखको पुँजीसहित ६ वटा मध्यम वर्गका उद्योग र २ अर्ब ६ करोड ३२ लाख ५० हजारको १२ वटा साना उद्योग पनि दर्ता भएको विभागले जनाएको छ । विभागमा दर्ता भएको उद्योगबाट १९ सय ३४ जनाले रोजगारी पाउने आकलन गरिएको छ ।
गत वर्षको साउन महिनामा उद्योग विभागमा २१ अर्ब ९५ करोड २० लाख रुपैयाँको ११ वटा ठूला उद्योग दर्ता भएका थिए भने ५ अर्ब ३५ करोड ७ लाख ६४ हजार रुपैयाँ पुँजीको १५ वटा मध्यम वर्गका उद्योग र १ अर्ब ६२ करोड ५३ लाख १४ हजार रुपैयाँ पुँजीको साना उद्योग दर्ता भएका थिए ।