Logo

अबको चुनावमा युवाले नेतृत्व गर्नुपर्छ

आगामी ४ मंसिरका लागि संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएको छ । आगामी निर्वाचनमा विभिन्न क्षेत्र, वर्ग, समुदायबाट आफ्नो प्रतिनिधित्वको आवाज उठ्न थालेको छ । निर्वाचनमा युवा सहभागिताको पनि आवाज उठ्न थालेको छ । निर्वाचनमा टिकट वितरण गर्दा पार्टीको संगठनमा सक्रिय व्यक्तिलाई दिनुपर्ने युवा नेताहरूको माग छ । एउटै व्यक्तिले पटक–पटक अवसर पाउँदा पार्टीमा सक्रिय र इमानदार कार्यकर्ताहरू पलायन हुने उनीहरूको भनाइ छ । नेतासित निकट भएको आधारमा भन्दा जनतासित भिजेको व्यक्तिलाई निर्वाचनमा टिकट दिँदा जित हासिल हुने मोरङका विभिन्न पार्टीका युवा नेताहरूको धारणा छ । पछिल्लो समय राजनीतिप्रति वितृष्णा जाग्नुको पछाडि एउटै व्यक्तिले पटक–पटक टिकट पाउने, जितेर पनि केही नगर्ने प्रवृत्ति रहेको उनीहरूको भनाइ छ । आगामी निर्वाचनमा युवा सहभागिता, दलमा युवाहरूको हस्तक्षेपकारी भूमिकाको कमी, राजनीतिप्रति जनताको वितृष्णा जाग्नुको कारणलगायतका विषयमा केन्द्रित रहेर विभिन्न दलमा आबद्ध मोरङका युवा नेता र युवा अभियन्तासँग कारोबारकर्मी मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

आगामी निर्वाचनमा पार्टीले युवा सहभागिता बढाउनुपर्छ
दामोदर कोइराला
युवा नेता, नेपाली कांग्रेस, मोरङ
एउटै व्यक्तिले पटक–पटक अवसर पाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । एउटै व्यक्तिले पटक–पटक टिकट पाउने र नेतृत्वमा पुग्ने अवस्था रहेकै कारण नेपालको राजनीतिमा समस्या देखिएको छ । एउटै व्यक्तिले सातौं–आठौं पटक टिकट पाएको अवस्था छ । यो हाम्रो पार्टीमा मात्रै होइन, हरेक पार्टीमा छ । एक–दुई पटक अवसर पाउँदा उसले जनताका लागि केही गर्न सक्दैन भने उसलाई फेरि पनि किन टिकट दिने र जिताउने ? २०४६ सालपछिको अवस्थालाई हेर्नुहोस् त । नेतृत्वमा तिनै व्यक्तिहरू छन् । पार्टीले टिकट वितरण गर्दा सबैलाई अवसर दिनुपर्छ । नेताको निकट भएको आधारले होइन, उसले पार्टी र जनताका लागि गरेको योगदानका आधारमा टिकट दिनुपर्छ । एउटा व्यक्तिलाई दुई पटकभन्दा बढी अवसर पनि दिनु हुँदैन । कुनै पनि व्यक्ति पार्टीमा लाग्नुको कारण अवसर पाइन्छ भनेर नै हो । अवसर पाउनेले सधैं अवसर पाउने, नपाउनेले कहिल्यै पनि नपाउने हुनु हुँदैन । नयाँ व्यक्तिहरू आएमा नयाँ सोचका साथ काम गर्छन् । जनतालाई पनि केही आशा हुन्छ । अर्कातर्फ कुनै नेताको निकट को छ, त्यसका आधारले पनि टिकट दिने परिपाटी छ । अहिले नेपालको राजनीति नेता र आर्थिकमुखी छ । जसले नेता रिझाउन सक्यो उसले सधैं अवसर पाउँछ । जोसित पैसा छ उसले पनि अवसर पाउने अवस्था छ । पछिल्लो समय त झनै यो प्रवत्ति मौलाउँदै गएको छ । उद्योगी–व्यापारीले व्यापार गर्ने हो, राजनीति गर्ने होइन । तर, यहाँ त उद्योगी–व्यवसायी नै सांसद र मन्त्री हुने अवस्था बढ्दै गएको छ । यो प्रवृत्ति लोकतन्त्रका लागि निकै गम्भीर विषय हो । नीति बनाउँदा उहाँहरूलाई सहभागी गराउनुपर्छ । यदि पार्टीमा सक्रिय छन् भने अवसर पनि दिनुपर्छ । तर, पार्टीमा कुनै योगदान नभएकोलाई पैसाकै भरमा टिकट दिनु हुँदैन । अहिले नेपालको राजनीतिमा सेवाभन्दा पनि व्यवसाय भएको छ । पैसा हुनेले मात्रै टिकट पाउने अवस्था छ । अहिलेको राजनीति विचारशून्य छ । अझ कांग्रेसभित्र र विचारको बहस नै हुन छाडेको छ । अबको निर्वाचनमा विचारको बहस हुनुपर्छ । नयाँ विचार, योजना र दृष्टिकोण भएका थुप्रै युवा पार्टीभित्र छन् । तर, उनीहरूले अवसर नपाउँदा खुम्चिएर बस्नुपरेको छ । आउँदा निर्वाचनमा पार्टीले युवा सहभागिता बढाउनुपर्छ ।

नीति निर्माणको नेतृत्वमा युवालाई अवसर दिनुपर्छ
नमिता न्यौपाने
युवा नेतृ, नेकपा (माओवादी केन्द्र), मोरङ
पहिलो कुरा त युवा सहभागिताका लागि सबै दलले नीति नै बनाउनु आवश्यक छ । हामीले ४० प्रतिशत युवालाई अवसर दिनुपर्छ भनेका छौं । युवा कसलाई भन्ने प्रश्न पनि छ । सक्रियताका आधारमा युवा भन्ने कि उमेरका आधारमा युवा भन्ने पनि बहसको विषय छ । हरेक क्षेत्रको नीति निर्माणको नेतृत्वमा युवालाई अवसर दिनुपर्छ । राजनीतिमा मात्रै होइन, अन्य क्षेत्रमा पनि युवाको सहभागिता बढाउनुपर्छ । विशेष गरी यसमा राष्ट्रिय पार्टीले ध्यान दिनुपर्छ । हामी जुन–जुन पार्टीमा छौं, त्यो पार्टीलाई दबाब दिनुपर्छ । माथिबाट जसको पहुँच छ उसले टिकट ल्याउने अवस्था छ । सबै युवाहरूले दबाब दिने हो भने आगामी निर्वाचनमा युवा सहभागिता बढेर जाने देखिन्छ । अहिले सबैभन्दा ठूलो समस्या भनेको नेतृत्व निकट र आर्थिक अवस्था बलियो छ भने त्यसले अवसर पाउने अवस्था छ । योग्यता, क्षमता र पार्टीप्रति प्रतिबद्धता भएको व्यक्तिले अवसर पाएका छैनन् । अवसर दिने सन्दर्भमा पार्टीमा गरेको योगदानलाई पनि आधार बनाउनुपर्छ । जनतासित पहुँच भएकालाई टिकट दिनुपर्छ । जो जनतासित निकट भएर काम गरेको छ उसले जनताका समस्यालाई नजिकबाट बुझेको हुन्छ । जनप्रतिनिधि भनेका जनताका सेवक हुन्, शासक होइनन् । त्यसो भएकाले जनताका दु:खसुखमा साथ दिनेले मात्रै जनताको समस्या बुझ्न सक्छन् । जुनसुकै पार्टीमा पनि निश्चित व्यक्तिले मात्रै अवसर पाएको अवस्था छ । पार्टीमा लागेका सबैले योग्यता, क्षमताअनुसार अवसर पाउनुपर्छ ।

नेतृत्वमा भएका युवाले देश बनाउने दृढ इच्छाशक्ति राख्नुपर्‍यो
पारुल क्षेत्री
युवा नेता, नेकपा एकीकृत समाजवादी, मोरङ
हामीले हिजोको व्यवस्था परिवर्तन गर्‍यौं । हिजो गाउँमा कसको घर ठूलो हुन्थ्यो त्यही व्यक्ति प्रधानपञ्च हुन्थ्यो । जो राजासित निकट थियो, त्यो व्यक्ति नै मन्त्री हुन्थ्यो । त्यही व्यवस्थाका विरुद्ध हिजो बीपी र पुष्पलालहरूले झुपडीको व्यक्तिलाई नेतृत्वमा पुर्‍याउनुपर्छ भनेर संघर्ष गर्नुभयो । उहाँहरूले गरेको संघर्षले व्यवस्था परिवर्तन भयो । व्यवस्था त परिवर्तन भयो तर हाम्रो मानसिकता पुुरानै छ । जबसम्म मानसिकता परिवर्तन हुँदैन तबसम्म राजनीतिक परिवर्तन वा व्यवस्था परिवर्तनले अर्थ राख्दैन । हाम्रो राजनीतिक दलका नेतृत्वहरूसित पनि कताकता हिजैकै कार्यशैली र मानसिकता रहेको देखिन्छ । अब त्यस्तो मानसिकतालाई युवाहरूले चिर्नुपर्छ । जहाँसम्म युवाका कुरा छन् यसमा चाहिं मेरो फरक विचार छ । उमेर समूहले खासै अर्थ राख्दैन । देश बनाउँछु भन्ने सोच हुनुपर्‍यो पहिला । अहिले नेतृत्वमा भएका युवाहरूमा पनि खासै देश बनाउने स्पष्ट दृष्टिकोण र भिजन छैन । नेतृत्वमा भएका युवाहरूले देश बनाउने दृढ इच्छाशक्ति राख्नुपर्‍यो । हाम्रो प्रवृत्ति कस्तो छ भने चुनावमा खुब घोषणापत्र पढ्ने, जनतालाई सुनाउने त्यसपछि घोषणापत्रमा के लेखिएको छ भनेर एकपटक पनि फर्किएर नहेर्ने बानी छ । चुनावपछि नहेर्ने चलन छ । बेला–बेला चुनावी घोषणापत्रलाई हेर्ने हो भने धेरै समस्या समाधान हुन्छ । राजनीतिक नेताहरू पनि इमानदार हुनुपर्‍यो । इमानदारिता भन्नाले भ्रष्टाचार नगर्ने र घूस नखानेलाई मात्रै होइन । बोलेका कुरा पूरा नगर्ने इमानदारिताभित्र पर्दैन । इमानदारिता भएन भने त्यो पनि राष्ट्र र जनताका लागि राम्रो होइन । नेतृत्वमा बसेको व्यक्तिले पूरा गर्न सक्ने मात्रै वाचा गर्नुपर्छ । देश बनाउने इमानदार संकल्प हुनुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि होइन देशका लागि उसको राजनीति हुनुपर्छ । अहिले गुन्डागर्दी गर्नेहरू, तस्करीमा संलग्नहरू, कर छलेर राज्यलाई नोक्सान पुर्‍याउनेहरू राजनीतिमा हाबी भएको देखिन्छ । सच्चा र इमानदार व्यक्तिहरू नेतृत्वमा नपुगेसम्म अहिलेको समस्या समाधान हुँदैन । पार्टीहरूले इमानदार र स्वच्छ छवि भएका व्यक्तिलाई टिकट दिएर विजय बनाएमा आगामी निर्वाचन महŒवपूर्ण अवसर पनि हुन सक्छ ।

खराब प्रवृत्ति भएका व्यक्तिलाई चुनावबाट पाखा लगाउनुपर्छ
वसन्त अधिकारी
युवा अभियन्ता
आउँदो चुनावमा युवा सहभागिता हुनु जरुरी छ । तर, युवा हुनेबित्तिकै सबै परिवर्तन भइहाल्छ भन्ने पनि होइन । कहिलेकाहीं उमेर पाकेका अर्थात् वृद्ध भइसकेका व्यक्तिहरूबाट पनि राम्रो विचार र परिवर्तनका सोचहरू आउन सक्छन् । उदाहरणका लागि सिंगापुर बनाउने लि क्वान यू, मलेसिया बनाउने माथिर मोहम्मदलाई लिन सकिन्छ । हाम्रो देशका पार्टीभित्र भएका युवाहरूले नेतृत्व तहले जे भन्यो त्यही मानेर अथवा स्विकारिदिने गरेका छन् । नेतृत्वले गलत काम नै गरे पनि त्यसको विरोध नगर्ने परिपाटी छ । पार्टीका पदाधिकारीमा रहेका युवाहरूले अर्थतन्त्रलाई चलायमान बनाउने, उत्पादन र रोजगारी सिर्जना गर्नेसहितको आर्थिक स्वतन्त्रतालाई बढावा दिने नीतिका लागि पहल गर्नुपर्छ । यस विषयमा आफ्नो नेतृत्वलाई दबाब दिनुपर्छ । आफूले नेतृत्व लिएको खण्डमा देशमा उद्योगधन्दा खोल्ने, व्यापार व्यवसाय गर्ने किसिमको वातावरण बनाउनुपर्छ । नेपाली जनतालाई सहज रूपमा कमाएर खाने अवस्था सिर्जना गर्नुपर्छ, जसले गर्दा बढीभन्दा बढी रोजगारी सिर्जना हुन्छ । मुलुक पनि आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ । आर्थिक चलायमान भयो भने राज्यको राजस्व बढ्नुका साथसाथै मुलुक आर्थिक रूपमा समृद्धि पनि हुन्छ । अबको चुनावमा भिजन भएको, देशलाई सही दिशातर्फ अगाडि बढाउन स्पष्ट नीति, कार्यक्रम र योजना भएका व्यक्तिहरू आउनुपर्छ । इमानदारिता, जवाफदेहिता र जिम्मेवारी बहन गर्न सक्ने साथै नागरिकप्रति उत्तरदायी हुने जनप्रतिनिधिहरू जनताले छान्नु जरुरी छ । दलहरूले जस्तो उम्मेवार दियो त्यस्तालाई सहर्ष स्विकार्ने होइन त्यस्तालाई चुनावबाट किनारा लगाउनुपर्छ । खराब प्रवृत्ति भएका व्यक्तिहरूलाई चुनावबाट पाखा लगाउनुपर्छ । चुनावमा जिताउने र पछि गएर पछुताउने काम नागरिकबाट हुनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्