सी–आश्वा शुल्क घट्ने

सेयर लगानीकर्ताको गुनासोपछि नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासनमा लाग्ने सी–आश्वा शुल्क घटाउने भएको छ । बोर्डले धितोपत्र खरिद, सार्वजनिक निष्कासन सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ लाई पुन: संशोधन गर्दै सी–आश्वा शुल्क ५ रुपैयाँमा झार्ने तयारी गरेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।
“लगानीकर्ताले सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने गरी बोर्डको बैठकले सी–आश्वा शुल्क घटाएको छ,” उनले भने, “लगानीकर्ताले ५ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्ने छ, सोभन्दा बढी शुल्क लिन पाइँदैेन ।” यसअघि धितोपत्र खरिद (दोस्रो संशोधन) निर्देशिका, २०७३ ले धितोपत्र निष्कासन तथा सी–आश्वा सेवा प्रदान गरेबापत सेवा प्रदायकले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।
नयाँ व्यवस्था लागू भएसँगै ५ मध्ये एक रुपैयाँ सेयर निष्काशनकर्ता अर्थात् मर्चेन्ट बैंकर्सलाई, एक रुपैयाँ सिडिएस एण्ड क्लियरिङलाई र बाँकी रहेको तीन रुपैयाँ बैंकलाई छुट्याइने गरी निर्देशिका पुन: संशोधन भएको उनले जानकारी दिए । यसले धितोपत्र बजारमा थप लगानीकर्ता आकर्षित हुने उनको भनाइ छ । हाल बैंकहरूले सी–आश्वा शुल्क बढी लिइरहँदा आईपीओ नपर्नेहरूका लागि शुल्क मात्र बुझाएर हैरान भएर आईपीओ भर्न छाडेको लगानीकर्ताहरूको गुनासो छ ।