नेपाली राजनीतिज्ञले उनलाई सच्चा श्रद्धाञ्जली दिने हो भने सत्ताको छिनाझपटी छोडेर मुलुक तथा नागरिकका बारेमा सोच्नु आवश्यक छ ।
गिरीको जीवनबाट राजनीतिज्ञले लिनुपर्ने शिक्षा
राजनीति गर्नुको अन्तिम ध्येय सत्ता सुख प्राप्त गर्नु तथा नागरिकको करमा हालीमुहाली गरेर नातागोता पाल्नु अनि नागरिककै मतको अपमान हुने गरी नागरिकमाथि शासन गर्नु नै हो भन्ने नेपाली भाष्यबाट एकदम पृथक् रहे प्रदीप गिरी । त्यसैले उनलाई गान्धीवादी नेता भनेर भन्ने गरिएको हो । शनिबार राति ७५ वर्षको उमेरमा भौतिक देह त्याग गरेर शून्यमा बिलाएका समाजवादी चिन्तक नेता गिरी नेपाली कांग्रेसभित्रै पनि राजनीतिको एउटा शिखर हुन् । भलै कांग्रेसले गिरीलाई समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, पार्टीका निष्ठावान् त्यागी नेता भनेको छ, तर नेपाली कांग्रेसमा उनको मार्ग अनुसरण गर्ने औंलामा गन्न सकिने नेतामात्र होलान् । यस्ता बहुआयामिक व्यक्तित्वका धनी गिरीको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति हुनु स्वाभाविक हो । नेपालमा सरकारले खर्च नदिएका कुनै पनि राजनीतिक दलका नेता छैनन् होला । तर, भारतमा उपचार गराउँदा होस् वा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराउँदा, उनले कहिले पनि सरकारसँग खर्च मागेनन् । आफ्नो ७५ वर्षको उमेरसम्म उनी आफ्नो सिद्धान्तमा अडिग रहे ।
पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट २००४ साल असोज २४ गते गोवद्र्धन पूजाका दिन सिरहा बस्तीपुरमा जन्मेका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । राजनीतिक विचारमा लिबरल तर आर्थिक नीतिमा भने शास्त्रीय समाजवादी गिरी सधैं ग्रामीण किसान, दलित, पिछडा वर्ग, मजदुर एवम् विपन्न परिवारका विकासलाई केन्द्रबिन्दुमा राख्थे । आफ्नो स्वतन्त्रताका लागि कुनै पद नचाहेका उनी सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा अग्रपंक्तिमा रहे । कुनै औपचारिक पदमा नरहे तापनि नागरिकको मनमा बस्न सकिन्छ भन्ने उनको जीवन एउटा उदाहरण हो, इमानको खडेरी परेको अहिलेको नेपाली समाजमा । मनमौजी जीवनशैली तर विचारमा स्पष्टता एवं मुद्दाहरूमा गम्भीरता नै उनको विशेषता हो । उनको वाक्शैली तथा स्पष्टवादिताकै कारण पनि युवाहरूमा राजनीतिप्रति आकर्षण रहेको छ । अन्यथा पछिल्लो समयमा नेपाली राजनीतिज्ञका चरित्रहरूको जीवनशैली एवं भाषण तथा नागरिकका पीडाप्रति उनीहरूको निस्पृहताले युवाहरूमा राजनीतिप्रति विकर्षण पैदा गराएको छ । नेपाली समाजमा अझै बौद्धिकताको कदर छ र इमानको सम्मान पनि छ भन्ने झल्को उनको महापरिनिर्वाणका दृश्यहरूले सम्झाउँछन् । त्यसैले कुनै राजकीय पदमा नरहे पनि गिरीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । साथै, उनको निधनमा स्वदेश तथा विदेशबाट प्राप्त शोक सन्देश पनि यसका प्रमाण हुन् । आफ्नो राजनीतिक चिन्तनअनुसारका जीवन तथा व्यवहारले पृथक् छवि बनाएका गिरी राजनीतिमा एउटा मानक पनि हुन् । जेलमा बस्दा होस् वा बाहिर उनले पुस्तक पढ्न कहिल्यै पनि छोडेनन् । हरेक मानिसको जीवनमा राजनीति आवश्यक हुने तर राजनीति सधैं गरिराख्ने विषय नभएको बताउने गिरीले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेपाली कांग्रेसका सबैजसो नेतासँग नजिक रहेर काम गरे । चित्त नबुझेका कुरामा उनले फरक मत राखे र लोकतन्त्रको एउटा सच्चा सिपाहीको रूपमा जीवन बाँचे । उनको जीवन आजको पुुस्ताको राजनीतिज्ञका लागि एउटा विश्वविद्यालय नै हो भन्दा फरक नपर्ला । किनकि व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर मन्त्री बन्न नचाहने नेता सायदै अब नेपालमा होला । गृह जिल्ला सिरहाबाट २०५१ र २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका उनले चाहेका भए सहजै मन्त्री हुन्थे तर मन्त्री हुनु कुनै राजनीतिज्ञको अन्तिम लक्ष्य नहुन पनि सक्छ र पदमा नभए तापनि एउटा असल राजनीतिज्ञले नागरिकको मनमा बस्न सक्छ भन्ने उनको उदाहरण आज सत्ताको छिनाझपटीमा रहेका नेताहरूलाई चुनौती पनि हो । उच्च विचार राख्दै साधारण जिन्दगी बिताएका उनले राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहे । नेपाली राजनीतिज्ञले उनलाई सच्चा श्रद्धाञ्जली दिने हो भने सत्ताको छिनाझपटी छोडेर मुलुक तथा नागरिकका बारेमा सोच्नु आवश्यक छ । उनलाई सच्चा श्रद्धाञ्जली त्यही नै हुनेछ ।