घरायसी राउटर आयातमा प्राधिकरणको पूर्वस्वीकृति अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरुको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गरेको हो ।
प्राधिकरणले ग्राहकसँग सम्बन्धित तथा घरायसी प्रयोजनका दूरसञ्चार उपकरणहरुको पहिलोपटक जारी गरेको न्यूनतम मापदण्डमा यस्तो व्यवस्था गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन दूरसञ्चार ऐन, २०५३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो । “ऐनको दफा १३(च) र दफा १४ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १५(क) बमोजिम हामीले मिनिमम रिक्वायरमेन्ट अफ सीपीई डिभाइस, होम बेस्ड राउटर एन्ड ओएनटी ओएनयूसहितको मापदण्ड निर्धारण गरेका छौं,” उनले भने ।
प्रवक्ता पौडेलका अनुसार मापदण्डमा उल्लेखित दूरसञ्चारका उपकरणहरुको आयात तथा प्रयोग गर्नुपूर्व प्राधिकरणबाट स्तर स्वीकृति (टाइप एप्रुभल) गराउनुपर्नेछ । टाइप एप्रुभल गराएर मात्र आयात तथा प्रयोग गर्न सम्बन्धित इन्टरनेट सेवाप्रदायक लगायत सरोकारवालाहरुलाई प्राधिकरणले निर्देशन दिइसकेको प्रवक्ता पौडेलले बताए ।
नेपालमा इन्टरनेटको गुणस्तरका सम्बन्धमा बारम्बार प्रश्न उठ्ने गरेको छ । सेवाग्राहीले इन्टरनेट सेवाप्रदायकहरुलाई दोष दिने गरे पनि कतिपय अवस्थामा कमजोर उपकरण तथा अव्यवस्थित स्थानमा राखिएका कारणले पनि इन्टरनेटको गुणस्तरमा समस्या आउने गरेको जानकारहरु बताउँछन् । इन्टरनेट स्पिड परीक्षण गर्ने धेरै प्रचलनमा रहेको प्लाटफर्म स्पिड टेस्ट ग्लोबल इन्डेक्सको प्रतिवदनले पनि नेपालमा अपरेटरहरुले दिँदै आएको मोबाइल इन्टरनेटको गुणस्तर निरन्तर खस्किँदै गएको देखिएको छ । इन्डेक्सले विश्वका १ सय ८० देशको इन्टरनेट सेवा गुणस्तरलाई वर्गीकरणमा समावेश गरेर सूची तयार पार्दै आएको छ । इन्डेक्सले मोबाइल इन्टरनेटमा १ सय ४० र फिक्स्ड ब्रोडब्यान्डमा १ सय ८० देशको इन्टरनेट गुणस्तर अनुसार वर्गीकरण गरेको छ । यीमध्ये नेपालको मोबाइल इन्टरनेटको गुणस्तर खस्किँदै १ सय १४औं स्थानमा ओर्लिएको प्रतिवेदनमा उल्लेख छ । फिक्स्ड ब्रोडब्यान्डमा भने नेपालले निरन्तर सुधार गर्दै लगेको देखिन्छ । नेपाल हाल १ सय ११ औं स्थानमा रहेको छ । मोबाइल इन्टरनेटको अधिकतम डाउनलोड स्पिड २०.९० एमबीपीएस र अपलोड १२.१६ एमबीपीएस प्रतिसेकेन्ड रहेको स्पिड टेस्टले जनाएको छ । ब्रोडब्यान्डको अधिकतम डाउनलोड स्पिड भने ३०.४९ एमबीपीएस र अपलोड स्पिड २७.३८ एमबीपीएस रहेको छ ।