दशैंको मुखमा चिनियाँ नाकामा रोकियो सामान «

दशैंको मुखमा चिनियाँ नाकामा रोकियो सामान

दशैंको मुखमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायी समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामान रोकिएपछि व्यवसायी चिन्तित बनेका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका हुन् ।
नेपाली व्यापारीले अर्डर गरेका वस्तु लोड भएर हिँडेका धेरै ट्रक रोकिएका कारण गोदाम भाडा बढी तिर्नुपर्ने तथा लामो समय रोकिएपछि सिजनमा बिक्री हुन नपाउँदा बजारमा वस्तुको मूल्य बढ्ने व्यापारीको भनाइ छ ।
आयात गर्ने व्यापारीको लागत बढेपछि बढेको लागत उपभोक्ता मूल्यमा जोडिने भएका कारण वस्तु आयात पनि महँगिएर उपभोक्ता मर्कामा पर्ने व्यापारीहरुको भनाइ छ । चाडबाडका लागि मगाएका वस्तु समयमा बजारमा नपुग्दा बजारमा अभाव हुने तथा त्यसले पनि बजारमा मूल्यवृद्धि हुने व्यापारीहरु दाबी गर्छन् ।
सबैभन्दा धेरै वस्तु खपत हुने दशैंजस्तो चाडमा चिनियाँ वस्तुको धेरै माग हुने गरेको छ । दैनिक प्रयोग हुने लत्ताकपडादेखि, खाद्यान्न हरेक वर्ष अर्बौं रकममा चीनबाट आयात हुन्छ । दशैं आउन करिब डेढ महिना बाँकी हुँदा नाका बन्द हुँदा समग्र बजारमा नै असर गर्ने महासंघको भनाइ छ ।
नेपाल–चीनसँग निकै लामो समयदेखि द्विदेशीय व्यापार हुँदै आएको छ । यसअघि चीन सरकार र नेपाल सरकारबीच कूटनीतिक तवरबाट व्यापार–व्यवसायमा सहजीकरण हुने गरेकोमा यसपटक व्यापारीहरु आफ्नो कुरा सुनुवाइ नभएकोमा दु:खी छन् ।
पछिल्लो समय नेपाल र चीनबीच ऐतिहासिक पारवहन सन्धीसमेत भइसकेको छ । २६ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा भएका दुई देशबीचको सम्झौतामा पनि व्यापारको विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । तर, केही समयदेखि तातोपानी तथा केरुङ नाकामा नियमित रुपमा समस्या देखिएका छन् । आयातीत सामान चिनियाँ सिमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारसँग सहजीकरण गरिदिन माग पनि गरेको छ ।
सिमानामा यही किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको महासंघले जनाएको छ । यसर्थ, नाकामा देखिएका समस्या समाधान गर्नका लागि आवश्यक कूटनीतिक पहल गरी यथाशिघ्र यी समस्या समाधान गरिदिन परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालाहरुसँग महासंघले अनुरोध गरेको छ ।
नेपालले गत आर्थिक वर्षमा उत्तरी छिमेकी देश चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँँभन्दा बढीको व्यापारघाटा बेहोरेको थियो । अघिल्लो आवमा २ खर्ब ३२ अर्ब ९० करोडको व्यापारघाटा बेहोरेकोमा गत आवमा ३१ अर्बले व्यापारघाटा बढे पनि निकासी व्यापारको अवस्था भने दयनीय देखिन्छ ।
चीनतर्फका दुवै नाका रसुवागढी र तातोपानीबाट गत आर्थिक वर्षमा निर्यात शून्य रहेको छ । चीनबाट गत आवमा २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार बराबरको सामग्री आयात भएकोमा २ खर्ब २४ अर्ब बराबरको सामग्री कोलकाता बन्दरगाह तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै भित्रिएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ चीनसँगको व्यापारमा कमी आउनुमा प्राकृतिक कारण देखाइए पनि यसमा कूटनीतिक कमजोरी रहेको बताउँछन् । “हाम्रा समस्या के हुन् भन्ने सरकारमा बस्ने सबैलाई थाहा छ, तर समाधान किन भइरहेको छैन भने यो प्राकृतिकभन्दा कूटनीतिक विषय बनिसकेको छ,” उनी भन्छन् । चीनमा निर्यात व्यापारको असीमित सम्भावना रहे पनि नेपालले लाभ पाउन नसक्नुको कारण कूटनीतिक कमजोरी नै भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्