डलरको भविष्य कति सुरक्षित «

डलरको भविष्य कति सुरक्षित

अमेरिकी डलर विश्वकै मुद्राको रूपमा रहेको छ । विगतमा कैयौं देशका मुद्रा मूल्यहीन भएको हामीले देखेका छौं । के अमेरिकी डलर सधैं विश्व मुद्राकै रूपमा रहला ? यो ध्वस्त भयो भने केके असर गर्ला ? यस लेखमा यसबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
१९ औं शताब्दीसम्म बेलायती मुद्रा पाउन्ड स्टर्लिङ विश्व मुद्राको रूपमा रहेको थियो । बेलायती साम्राज्य ढलेपछि अमेरिकी डलरले त्यसको ठाउँ लिन थाल्यो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष जन्माउने सन् १९४४ को ब्रिटेन वुड्स एग्रिमेन्टले अमेरिकी डलरलाई थप स्थापित बनाएको हो ।
ब्रिटेन वुड्स एग्रिमेन्टअनुसार अमेरिकाले सुनको ब्याकअपमा डलर छाप्ने सहमति भयो । अन्य सरकारहरूले आफ्नो मुद्रा छाप्दा अमेरिकी डलरको ब्याकअपमा छाप्ने सहमति भयो, जसले गर्दा सबै देशलाई डलर चाहिने भयो । डलर नै अन्तर्राष्ट्रिय व्यापारको सटही माध्यम बन्यो ।
अमेरिकाले सन् १९७० मा सुनको ब्याकअपमा मुद्रा छाप्ने नियमलाई भंग गर्‍यो । अमेरिकाले जथाभावी डलर छाप्छ, डलरको मूल्य घट्छ, डलरमा बचत गर्नेहरू डुब्छन् कि भन्ने त्रास त्यतिखेर फैलियो । तर, डलर कमजोर भएन । अन्तर्राष्ट्रिय व्यापार माध्यममा डलर नै कायम रह्यो ।
कोभिड–१९ को प्रभावलाई सम्बोधन गर्न भन्दै अमेरिकाले लिएको मौद्रिक र वित्तीय नीतिको सन्दर्भमा पुन: डलरको भविष्यमाथि प्रश्न उठाइएको छ । अमेरिकाले कोभिड–१९ पछि सन् २०२१ र २०२२ मा मुद्राको आपूर्ति ह्वात्तै बढाएको छ । सन् २००० देखि २०२० सम्म वार्षिक ६ प्रतिशत मुद्राप्रदाय बढाइएको थियो । सन् २०२० देखि २०२२ सम्म २० प्रतिशतले वृद्धि गरिएको छ । सन् २००० मा ५ ट्रिलियन रहेको मुद्रा आपूर्ति सन् २०२२ मा २२ ट्रिलियन पुगेको छ ।
केन्द्रीय बैंकले आफ्नो खातामा रहेको निस्क्रिय पैसा वाणिज्य बैंकहरूमार्फत बजारमा पठाएर मुद्राप्रदाय वृद्धि गर्छन् । भएको पैसाले नपुगे नयाँ पैसा छापेर पनि बजारमा पठाउँछ । अर्थतन्त्रमा उत्पादन र उपभोग हुने वस्तुको वृद्धि र मुद्राको आपूर्ति सन्तुलित हुनुपर्छ । मुद्राको आपूर्ति बढी भयो भने वस्तुहरूको मूल्य बढ्छ अर्थात् मुद्राको मूल्य घट्छ । आपूर्ति घटाउन बजारको पैसा खिचेर निष्क्रिय राख्ने वा नष्ट गर्ने गरिन्छ ।
अमेरिकाको मुद्रास्फीति इतिहासमा उच्च बिन्दुमा पुगेको छ । अहिले २०२२ जुनमा अमेरिकाको उपभोक्ता मुद्रास्फीति ९.१ प्रतिशत पुगेको छ । ४२ वर्षअघि सन् १९८० मा अमेरिकाको मुद्रास्फीति १२.५ प्रतिशत पुगेको थियो । जबकि अमेरिकामा सामान्यत: मूल्यवृद्धि १ प्रतिशतको हाराहारी रहने गर्छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सन् २०२२ जुलाई अन्तिममा बेन्चमार्क ब्याजदर २.२५ देखि २.५ प्रतिशत कायम गरेको छ । सन् २०२२ को अन्त्यमा ३.४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । जबकि समान्यत: अमेरिकामा ब्याजदर २ प्रतिशतको हाराहारी रहने गर्छ ।
अमेरिकामा सरकारले मुद्राको आपूर्ति बढाएपछि मूल्यवृद्धि उच्च भयो । उच्च मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाइयो । ब्याजदर बढेपछि अमेरिकी ऋणपत्रमा सरकारले बढी ब्याज दिनुपर्ने हुन्छ । बढी ब्याज दिनुपरेपछि अमेरिकी सरकारको खर्च वृद्धि हुन्छ ।
अमेरिका ऋणमा आधारित अर्थतन्त्र हो । अमेरिकाको कुल गार्हस्थ्य उत्पादन २३ ट्रिलियन डलर छ । अमेरिकाको ऋण ३० ट्रिलियन डलर छ । अमेरिकी समाज उपभोक्तावादी समाज हो । त्यहाँका जनता उच्चस्तरको उपभोग गर्छन् । जीडीपीले जनताको उपभोग आवश्यकता धान्न सक्दैन । त्यसैले विदेशी ऋण अपरिहार्य छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको जीडीपी १६.७ ट्रिलियन डलर छ । सन् १९७८ मा ०.१५ ट्रिलियन डलर रहेको चिनियाँ जीडीपी सन् २०१२ मा ८.२ ट्रिलियन डलर पुगेको थियो । चीनले २०३० मा अमेरिकालाई जित्छ भन्ने अनुमान गरिएको छ ।
भर्जिन ल्यान्डमा तीव्र विकास गर्न सकिन्छ, किनकि त्यहाँ सम्भावना र अवसर धेरै हुन्छन् । सेचुरेसनको नजिक पुगेपछि वृद्धि ढिला हुन्छ । अमेरिकाको वार्षिक वृद्धि सन् २००० यता २ प्रतिशतभन्दा कम छ । चीनको अर्थतन्त्रको वृद्धि सन् २००० मा ८ प्रतिशत थियो भने २००७ मा १४ प्रतिशत पुगेको थियो । त्यसपछि क्रमश: घट्दै सन् २०१९ मा ६ प्रतिशतमा झरिसकेको छ । सन् २०२२ मा ८ प्रतिशत पुगेको छ ।
अमेरिकी अर्थतन्त्रलाई नभेट्दासम्म चीनको वृद्धि कायम रहला वा त्योभन्दा पहिले नै रोकिएला ? अमेरिकाको वृद्धि फेरि तीव्र भएर चीनभन्दा अघि अघि भाग्ला ? अहिलेसम्म ट्रेन्ड विश्लेषण गर्दा अमेरिकी अर्थतन्त्रलाई चिनियाँ अर्थतन्त्रले सहजै जित्छ भन्न सकिन्छ । अमेरिकाले एक नम्बर अर्थतन्त्र कायम राख्न नयाँ रणनीति लियो र त्यसमा सफल भयो भने प्रक्षेपण नमिल्न सक्छ ।
चीनले अर्थतन्त्रको आकारमा अमेरिकालाई उछिन्ने अनुमानका साथै अमेरिकी डलरको दबदबालाई चिनियाँ युआनले विस्थापित गर्नेछ भन्ने अनुमान पनि गरिएको छ । चीन प्रजातान्त्रिक व्यवस्था भएको मुलुक होइन । तसर्थ चिनियाँ मुद्रालाई विश्वका मानिसहरूले त्यति विश्वास गर्लान् भन्ने अर्को थरीको प्रश्न छ ।
डलर मजबुत हुनुमा डलरमाथि मानिसहरूको विश्वास नै प्रमुख कारण हो । विश्वास हुनुमा अमेरिका र डलर दुवै पारदर्शी हुनु एउटा कारण हो । चिनियाँ मुद्राको मूल्य खुला बजारले तय गर्नेभन्दा पनि बेलाबेला सरकारी हस्तक्षेपले कृत्रिम अवमूल्यन गराइन्छ भन्ने आरोप लाग्दै आएको छ ।
विभिन्न चुनौतीका बाबजुद युआनले विश्व बजारमा यात्रा भने अघि बढाइरहेको देखिन्छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि चिनियाँ युआनको कारोबार झनै बढेको छ । रूसले चीनलाई तेल बेचेको पैसा युआनमा भुक्तानी लिन थालेको छ । चिनियाँ युआन र रूसी रुबलको अन्तर्राष्ट्रिय व्यापार कारोबार १ हजार ६७ प्रतिशतले बढेको छ ।
अमेरिकालगायत पश्चिमा मुलुकले रूसमाथि आर्थिक नाकाबन्दी लगाएका छन् । रूसको अमेरिकामा रहेका डलर खाता रोक्का राखिएका छन् । विश्वभरका बैंकको अन्तरबैंक भुक्तानी सञ्चार प्रणाली स्विफ्टबाट रूसलाई हटाइएको छ । रूसले नाकाबन्दी खेपेको ६ महिना भइसक्यो । तर, डलरबिना नै रूसले सहज कारोबार गर्न सकेको छ ।
रूस, भारत र चीनले आपसमा आआफ्नै मुद्रामा कारोबार गर्न थालेका छन् । अहिले साउदी अरबले चीनलाई तेल बेचेको पैसा युआनमा स्वीकार गर्न थालेको छ । भारत र रूसले सोभियत युगको सटही प्रणाली पुन ब्युँताउन थालेका छन् । भारतले रूससँगको व्यापार भारुमै गर्ने निर्णय गरेको छ । रूसले भारु स्वीकार गरेको छ ।
चीनले आसियान, अफ्रिकन र ल्याटिन अमेरिकी मुलुकलाई आपसी व्यापार डलरको सट्टा युआनमा गर्न जोड दिइरहेको छ । चीनले बीआरआई र अनुदान कार्यक्रममार्फत ती मुलुकहरूमा प्रभाव बढाउँदै गएको छ । उता रूसले युरोपलाई तेलको पैसा डलरमा नभई रुबलमा तिर्न दबाब दिइरहेको छ । जर्मनीलगायत युरोपेली मुलुकले रूससँग व्यापार गरिरहेका छन् ।
विश्वका केन्द्रीय बैंकसँग सन् २००० मा ७१ प्रतिशत अमेरिकी डलरको सञ्चिति थियो । अहिले २०२२ मा त्यो अनुपात ६० प्रतिशतमा झरेको छ । चिनियाँ युआनको सञ्चिति बढाइएको छ । अहिले ७० देशका केन्द्रीय बैंकले युआन सञ्चित गरेका छन् ।
रूससँग अहिले ६ खर्ब डलरबराबर विदेशी विनिमय सञ्चित छ, जसमा सुन नै धेरै छ । २०२२ जुनमा रूस सरकारले थप १ खर्ब २० अर्ब डलरलाई युरो र सुनमा परिणत गर्ने योजना घोषणा गरेको छ । रूसले विश्वको एकतिहाइ युआन आफ्नो सञ्चितिमा राखेको छ । रूसको कुल संञ्चितिमा १३ प्रतिशत युआन छ ।
२०२२ मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषले चार अरू सञ्चित मुद्रालाई स्वीकृत गरेको छ, जसमा युरो, पाउन्ड, जापानी येन र चिनियाँ युआन छन् । डलरका प्रतिस्पर्धी र विकल्प बजारमा देखिएका छन् । डलरमाथिको विश्वासमा आशंका आउनासाथ बजार विकल्पतिर लम्किन सक्छ ।
अहिले चीनसँग प्रमुख व्यापार गर्ने मुलुक १ सय २५ पुगिसकेका छन् । धेरैजसो कारोबार अझै पनि डलरमै हुने गरेको छ । यी देशले युआनमा कारोबार गर्न थाले भने युआन विश्व मुद्रा बन्नेछ । चीन त्यही प्रयत्नमा छ ।
विश्वमा कुनै पनि मुलुकले गोल्ड वा कमोडिटी स्ट्यान्डर्ड पालना गरेका छैनन् । डलरलगायत सबै मुद्रा फियट मुद्रा हुन् । यिनको ब्याकअपमा केही पनि छैन । त्यसैले अमेरिकी डलरलगायत जुनसुकै मुद्राको मूल्य ध्वस्त हुन सक्ने सम्भावना जहिले पनि छ । कुनै मुलुकले कमोडिटी स्ट्यान्डर्ड सुरु गरे र सफल पनि हुन सके भने फियट मुद्रा थप खतरामा पर्ने निश्चित छ ।
विगतमा अर्जेन्टिना, हंगेरी, भेनेजुएला, जिम्बाबे, जर्मनी, रूसलगायत कैयौं देशका मुद्रा ध्वस्त भए । अमेरिकी डलर ध्वस्त भयो भने चीनलगायत धेरै अर्थतन्त्रलाई नोक्सान हुन्छ । अमेरिकालाई सबैभन्दा बढी ऋण दिने मुलुक चीन हो । यो अवस्थामा डलर ध्वस्त हुनु भनेको चीन पनि डुब्नु हो । त्यसैले डलर ध्वस्त होला भनेर अनुमान गर्न सकिन्न ।
अहिले महँगीको मार विश्वकै अर्थतन्त्रले बेहोरिरहेको छ । ब्याजदर विश्वभर नै बढाइएको छ । अमेरिका एक्लैको अर्थतन्त्र मात्र बिग्रने हो भने डलर ध्वस्त हुन सक्छ । त्यसैले लगानीको रूपमा डलरको सञ्चिति र ऋणपत्रको खरिदमा तत्कालै भरपर्दो विकल्प देखिने स्थिति छैन । अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा डलरको समानान्तर मुद्रा चिनियाँ युआनलगायत अरू पनि हुनेछन् भन्नेचाहिँ अनुमान गर्न सकिने स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्