कैलालीमा ठूला दललाई नागरिक उन्मुक्ति पार्टीको चुनौती «

कैलालीमा ठूला दललाई नागरिक उन्मुक्ति पार्टीको चुनौती

हालै सम्पन्न स्थानीय निर्वाचनबाट सशक्त रुपमा अगाडि आएको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा ठूला दललाई चुनौती दिने देखिएको छ । २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको मुख्य नाइकेको अभियोगमा थुनामा रहेका सांसद रेशम चौधरीको संरक्षणमा गठन भएको नागरिक उन्मुक्ति पार्टी गठन भएको चार महिनामै कैलालीको चार स्थानीय तहमा विजयी भएको थियो । सो पार्टी आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि सशक्त रुपमा अगाडि आउने देखिएको छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपनि सांसद चौधरीलाई नेपाल सरकारले सदनमा जाने वातावरण मिलाएन । सो निर्वाचन क्षेत्रका बासिन्दा जनप्रतिनिधि छानेपनि पाँच वर्ष जनप्रतिनिधि विहीन भएर बस्न बाध्य भए । अन्तत: सांसद चौधरीका समर्थकले आफ्नै पार्टी बनाउने निर्णयमा पुगे । २०७८ माघ महिनामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले भजनी नगरपालिकामा प्रमुख र उपप्रमुख सहित निर्वाचन जित्यो भने टीकापुर नगरपालिकामा प्रमुख सहित निर्वाचन जित्न सफल भयो । जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित निर्वाचन जित्यो ।
ती चार वटा स्थानीय तहले कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये दुई वटा निर्वाचन क्षेमा प्रभाव पार्छन् । टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकाको वडा नं. १, ३, ४, ६ र ७ र भजनी नगरपालिकाको वडा नं. ६ र ८ निर्वाचन क्षेत्र नम्बर १ र भजनी नगरपालिका ६ र ८ बाहेकका सबै वडा, कैलाली गाउँपालिकाको ६ र ९ बाहेकका सबै वडक र घोडाघोडी नगरपालिका निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । जानकी गाउँपालिकाको वडा नं. २, ५, ८ र ९ र लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नं. ५ बाहेक निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । निर्वाचन क्षेत्र नम्बर ४ मा मोहन्यालको वडा नं. ५, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिका पर्छ । निर्वाचन क्षेत्र नम्बर ५ मा कैलारीको ६ र ९ नम्बर वडा र धनगढी उपमहानगरपालिका पर्छ ।
सो पार्टीमा टीकापुर घटनाको आरोप लगाइएका सबै व्यक्ति र तिनका परिवारहरुका साथै थरुहट/थारुवान आन्दोलनका तत्कालीन घटकहरु र दलित समुदाय पनि जोडिएका छन् । उत्पीडित समुदायको मुक्तिको लागि भनि गठन गरिएको सो पार्टी गाउँ गाउँमा प्रशिक्षण र संगठन विस्तार गरिरहेको छ । थारु जातिको बाहुल्यता रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले थारु जाति र दलित समुदायलाई लक्षित गरेको छ । करिब ४८ प्रतिशत थारु जातिको मतदाता रहेको कैलालीमा २२ प्रतिशत दलित मसुदायको मतदाता छन् ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालको उम्मेद्वार भएका सांसद चौधरीले क्षेत्र नम्बर १ मा ५६.५८ प्रतिशत (३४,३४१) मत पाएर विजयी भएका थिए । क्षेत्र नं. २ मा नेकपा एमालेका झपटबहादुर रावलले ४५.५० प्रतिशत (२५,१५७) मत पाएर विजयी भएका थिए । क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका गौरीशंकर चौधरीले ४३.४६ प्रतिशत (२४,८७९) मत पाएर विजयी भएका थिए । क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका लेखराज भट्टले ५४.०१ प्रतिशत (३१,३५९) मत पाएर विजयी भएका थिए । क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनी रानाले ४५.६३ प्रतिशत (२७२०२) मत पाएर विजयी भएका थिए । कैलालीको ५ वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्र र एमालेले गठनबन्धन गरेका थिए । सांसद चौधरीले एमालेकी मदनकुमारी शाहलाई पराजित गरेर विजयी भएका थिए ।
स्थानीय तह निर्वाचन २०७९ र प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन २०७४ को परिणाम अनुसार अहिले ठूला दलहरुले थारु बहुल क्षेत्रमा थारु उम्मेदवार खोजिरहेका छन् । खास गरेर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा थारु नेतालाई नै उम्मेदवार बनाउने मनसायमा ठूलाहरु छन् । जिल्लामा स्थानीय तह निर्वाचनमा हार बेहोरेको एमालेले नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्न खोजिरहेको छ । तर ठोस छलफल हुन नसकेको एमालेका नेताहरु बताउँछन् । तर नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय नेता तथा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी कुनै पनि पार्टीसँग चुनावी तालमेल हुने कुरा नभएको र हुने सम्भावना पनि निकै कम रहेको बताउँछन् । उनले कैलाली जिल्लाका लागि सबैभन्दा ठूलो दल नागरिक उन्मुक्ति पार्टी रहेको दावी गर्दै आउँदो निर्वाचनमा सबै सिटमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार रहने बताए ।
क्षेत्र नं. ५ बाट जितेका रानाले कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमति आरजु राणालाई पराजित गरेका थिए । थरुहट आन्दोलनका सशक्त नेता लक्ष्मण थारु तेस्रो नम्बरमा थिए । राणाले २२३२२ मत ल्याउँदा थारुले ६७४७ मत ल्याएका थिए । त्यस बेला थारुले जिल्ला कारागारमा थिए । उनले प्रचार नै नगरी आफूले त्यति मत ल्याउन पाएको र प्रचारमा उत्रिन पाए यसपाली जित जित सुनिश्चित रहेको दावी गरे । थारु पनि नागरिक उन्मुक्ति पार्टीमा सहभागी भएका छन् । राणाका लागि थारु, राना र कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा चुनौति बन्न सक्ने सम्भावना छ ।
क्षेत्र नं. १ मा जेल जीवन विताइरहेका सांसदकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्ने भएकी छन् । सो क्षेत्रबाट कांग्रेसबाट बुद्धिसागर चौधरी र एमालेले सोम थापालाई उम्मेद्वार बनाउने सम्भावना छ । माओवादी केन्द्रले क्षेत्र नम्बर १ मा क्षेत्रबाट हरि ज्ञवालीलाई उम्मेदवार बनाउने सम्भावना छ । सत्ता गठनबन्धनबाट उम्मेदवारी दिने निर्णय भएमा माओवादीले निर्वाचन क्षेत्र नं. १, ३ र ४ दावी गरेको छ भने नेपाली कांग्रेसले ५, ४ र २ दावी गरेको छ । नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर ४ दावी गर्ने सम्भावना छ । तर यस विषयमा कुनै पनि दलका नेतृत्वले औपचारिक रुपमा बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्