गाउँमा रोजगारी नहुँदा बूढादेखि बालासम्म कालापहाड «

गाउँमा रोजगारी नहुँदा बूढादेखि बालासम्म कालापहाड

आठबिस नगरपालिका–५ निवासी ४६ वर्षका डिल्ली तिरुवाको करिब दुई दशक कालापहाड गएरै बित्यो । कालापहाड नगई तिरुवाको चुलो बल्दैन्, लालाबालाको मुखमा माड पर्दैन । १५ वर्षको उमेरबाट कालापहाड धाउन थालेका डिल्ली ४६ वर्ष पुग्दा पनि उनको कालापहाडको यात्रा छुटेको छैन ।
मुलुकमा संघीयता लागू भयो । सिंहदबारको अधिकार गाउँगाउँमा आयो । तीन तहका सरकार सञ्चालन भए । अब त गाउँमै रोजगारी पाउँला, केही सुविस्ता होला, कालापहाड छुट्ला भन्ने आशा थियो । डिल्लीले भने, “तर स्थानीय तहले विपन्नलाई रोजगारी दिन सकेन । योजनामा टाठाबाठाकै हालीमुहाली भयो । गाउँमा काम गरेको ज्याला पनि पूरा पाइँदैन । स्थानीय सरकार आए पनि व्यवस्था फेरियो, अवस्था उस्तै छ । साहुको ब्याजे ऋणमा घर चलाउनुभन्दा परिवारका लागि बुढेसकालको हड्डी कालापहाडमै खियाउन बाध्य छु ।”
उनका ६ वटा छोरी र एक छोरा छन् । उनीहरूको पढाइ, घर खर्चका लागि गाउँको कमाइले पुग्दैन । बाध्यताले पनि कालापहाड जान लागेको उनको दु:खेसो छ । साउनमा गएर आउँदो वैशाखमा कम्तीमा चार लाख नेपाली रुपैयाँ कमाएर ल्याउने डिल्लीको लक्ष्य छ ।
“भारत जान छुटाउनु पर्‍यो, गाउँमै दीर्घकालीन रोजगारी चाहियो । कालापहाड जानु हाम्रो रहर हैन बाध्यता हो । दैलेख आठबिस नगरपालिका वडा नं. ५ का २९ वर्षीय कलम विकले भने, “घरमा आठजनाको परिवार छ । लुगाफाटो घरखर्च चलाउन कालापहाडको विकल्प छैन । गाउँमा उपयुक्त रोजगारी छैन । अझ आफूजस्ता विपन्न नागरिकलाई छाक टार्नै मुस्किल छ । जसका कारण १५ वर्षको उमेरबाट सुरु भएको कालापहाडको यात्रा २९ वर्ष पुग्दा पनि अझै छुटेको छैन ।” रोजगार सृजनामा सरकारी तहबाट देखिएको उदासिनताले आफूजस्ता गरिबको कालापहाड कहिल्यै नछुट्नेमा ढुक्क रहेको उनले व्यंग गरे ।
त्यस्तै आठबिस–५ दैलेखका १७ वर्षीय जग्ग टमटा कक्षा ९ मा पढ्दैछन् । उनी घरको जेठो सन्तान हुन् । उनीसँंग पढेर जागिर खाने, परिवार पाल्ने लक्ष्य नभएको पनि हैन । तर घरायसी बाध्यताले पढाइ त्यागेर उनी पनि कालापहाड हानिन बाध्य भएका छन् । आठबिस वडा नं. ५ कै २० वर्षीय कविराज टमटाले पढ्ने रहर हुँदाहँुदै पनि घरको आर्थिक अवस्था कमजोर भएकाले कक्षा ८ बाटै पढाइ त्यागे । संगैका साथी कलेज पढ्छन् । कोही जागिरे पनि भएका छन् ।
कविराजले भने, “विदेश जान भिसा लगाउने नत पैसा छ नत चिनजान छ । कालापहाडको कमाई बिना घर चल्दैन । पढाइभन्दा पापी पेट पाल्ने चुनौती खडा भएपछि पढ्ने रहर र घरबार त्यागेरै कालापहाड जान बाध्य छु ।”
डिल्ली, कलम, जग्ग र कविराज यी उदाहरणीय पात्रमात्र हुन् । गाउँमा रोजगारी नहुँदा परिवार पाल्नका लागि आठबिस नगरपालिका–५ स्थित गोर्खी, ताउनी, सिंह साईना, रातचौलो, खर्कागडन, टिमुरेखर्क पिपलकोटलगायतका गाउँका सयौ बुढादेखि बालासम्म कालापहाड गएका छन् । गत बुधबारमात्रै आठबिस ५ दैलेखका ५० जना बुढादेखि बाला कालापहाड गएका छन् । स्थानीय डिल्ली तिरुवाका अनुसार त्यसभन्दा अघि गाउँ नै पुरुषविहीन हुनेगरी झण्डै एक सय बढी कालापहाड गइसकेका छन् । करिब आधा दर्जन बढी गाउँ अहिले महिलाले कुरिरहेका छन् । केही दु:ख बिराम पर्दा पनि अस्पताल लैजाने पुरुष गाउँमा छैनन् ।
कक्षा ८ देखि १० पढ्दै गरेको अधिकांश बालक तथा ५० वर्षसम्मका बुढा कालापहाड जाने गरेको पाइएको छ । बुधबार सुर्खेतदेखि जुम्ला आउने क्रममा खिड्कीज्युलामा कालापहाड जान गाडी पर्खिरहेका डिल्ली, कविराजलगायतका व्यक्तिसंग कालापहाड जानुपर्ने बाध्यतालगायतका विषयमा कारोबारकर्मी सागर परियारले स्थलगत रिर्पोटिङ गरेका हुन् । युवा पलायन रोक्न, आयात प्रतिस्थापन गर्न तथा उत्पादन वृद्धिका लागि तीनै तहका सरकारले स्रोत परिचालन तथा रोजगारी सृजनामा विशेष जोड दिन आवश्यक छ ।
पाँच हजार बढीले लिए पुन: श्रम स्वीकृति
श्रम तथा रोजगार कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशबाट बितेको चार वर्षमा मात्रै साढे पाँच हजार बढी युवाले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका छन् । जसअन्तर्गत आव २०७८/०७९ मा कर्णालीबाट एक हजार ८ सय ८६ जनाले पुन: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् ।
०७५ साल माघ महिनादेखि कर्णालीबाटै पुन: श्रम स्वीकृति दिन थालिएको हो । श्रम तथा रोजगार कार्यालयका प्रमुख सुनिता दर्लामीका अनुसार बितेको चार वर्षदेखि हालसम्म पाँच हजार ५ सय १३ जनाले पुन: श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन् । कामका लागि कालापहाड भारत जानेको तथ्यांक भने एकिन छैन ।
तथ्यांकअनुसार आव २०७५/०७६ मा ९ सय २६ जना, आव ०७६/०७७ मा दुई हजार २६ जनाले पुन: श्रम स्वीकृति लिएका छ छन् । जसमध्ये एक हजार ९ सय ९० पुरुष र ३६ जना महिला रहेका छन् ।
यस्तै आव २०७७/०७८ मा श्रम स्वीकृति लिनेको संख्या ६ सय ७५ जना थियो । कोरोना महामारीका कारण यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या कम भए पनि आर्थिक वर्ष २०७८/०७९ मा भने यो संख्या बढेर एक हजार ८ सय ८६ जना पुगेको छ ।
श्रम तथा रोजगार कार्यालय प्रमुख दर्लामीका अनुसार यो कार्यालयबाट दोस्रो पटक वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्रै श्रम स्वीकृति दिने गरिएको छ । वैदेशिक रोजगारीमा जानेमा प्राय: सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट र जुम्लालगायत अन्य जिल्लाका छन् । कर्णालीबाट कालापहाड जानेको संख्या अत्यधिक भए पनि त्यसको आधारिक तथ्यांक कुनै निकायसँंग छैन ।

प्रतिक्रिया दिनुहोस्