पिपुल्स पावरको आईपीओ बिक्री खुला «

पिपुल्स पावरको आईपीओ बिक्री खुला

पिपुल्स पावरले सर्वसाधारणका लागि मंगलबारदेखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ निष्कासन गरेको जनाएको छ । सर्वसाधारणमा वितरण गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।
यी बाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा ५ भदौसम्म बिक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा १४ भदौसम्म आवेदन दिन सकिन्छ ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले मेरो सेयर वेबसाइट तथा एप र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्