Logo

हुवावेले क्षेत्रीय प्रतिस्पर्धाका लागि ७ जना विद्यार्थीलाई थाइल्यान्ड लैजाने

प्रविधि कम्पनी हुवावेले ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा ७ नेपाली विद्यार्थीलाई थाइल्यान्ड लैजाने भएको छ । नेपालभरबाट छनोट भएका विद्यार्थीलाई क्षेत्रीय प्रतिस्पर्धाको लागि बैंकक लैजान लागेको हो ।
चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो पटक ‘सिड्स फर द फ्युचर’ कार्यक्रम गरेको हो ।
सूचना प्रविधि (आईटी)सँग सम्बन्धित स्नातक तहमा अध्ययन गरिरहेका विभिन्न कलेजबाट विद्यार्थी यस कार्यक्रमको लागि छानिएका छन् ।
हुवावेले बिहीबार ७ जना विद्यार्थीलाई बैंकक लैजान लागेको जानकारी दिएको छ । हुवावे नेपालले देशभरबाट २५६ विद्यार्थीबाट ४ जनाको छनोट कमिटीले ७ जना विद्यार्थीलाई बैंकक लैजान छनोट गरेको जनाएको छ ।
अघिल्लो वर्ष हुवावेले अनलाइनबाट १९ जना विद्यार्थीलाई सिड्स फर द फ्युचर कार्यक्रममा सहभागी गराएको थियो । यो वर्ष बैंकक जानुपर्ने भएकाले कम विद्यार्थी छनोट गरिएको हुवालेले जनाएको छ ।
बैंककमा तालिमसँगै नेपाली विद्यार्थीले आफ्नो आइडिया प्रस्तुत गर्नेछन् । त्यहाँ उत्कृष्ट भए सिंगापुरको कार्यक्रममा भाग लिन पाउनेछन् । विद्यार्थीहरुको खर्च हुवावे आफैँले व्यहोर्नेछ । नेपालमा छनोट भएका विद्यार्थी अगस्ट १९ देखि २७ सम्म बैंककमा विभिन्न तालिमसँगै टेकफर गुड कार्यक्रममा आफ्नो आइडियासहित प्रतिस्पर्धा गर्नेछन् ।
सिड्स फर फ्युचर्स कार्यक्रम २००८ देखि सञ्चालन भए पनि नेपालमा २०२१ मा पहिलोपटक सञ्चालनमा ल्याएको थियो । विद्यार्थीहरुले एनसेल सेन्टर, डिसहोम कार्यालयमा पुगेर त्यसको सिस्टमबारे बुझ्ने अवसर पाएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले हुवावेलाई नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता गराएकोमा धन्यवाद व्यक्त गरे ।
हुवावेले बैंकक जाने विद्यार्थीको छनोटका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्रोफेसर रहेको छनोट समिति बनाएको थियो ।
छनोट समितिमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशी, प्रो. सुवर्ण शाक्य, प्रो. तिमिला यमी शाक्य र काठमाडौं विश्वविद्यालयका प्रो. मनिस पोखरेल छनोट समितिमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्