पूर्वाधार विकास नै पहिलो प्राथमिकता : मन्त्री चौधरी «

पूर्वाधार विकास नै पहिलो प्राथमिकता : मन्त्री चौधरी

घोराहीमा निर्माण भएको बहुउद्देश्यीय सभा हलको आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
सभाहलको उद्घाटन सहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका हुन् । यस प्रकारको सभाहल जिल्लाको नै पहिलो हो । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा सभा हलको निर्माण सुरु गरिएको थियो । यस क्षेत्रमा सभाहलको आवस्यकता महसुस गरेर आफ्नो नेतृत्वमा सरोकारवालाको सहयोगमा सभाहल निर्माणको योजना अगाडि सारेको थियो ।
संघले सभा हल निर्माणका लागि सभाहल निर्माणस्थलमा रहेका सुकुम्बासी व्यवस्थापनका लागि जग्गा किनेर उनीहरूलाई व्यवस्थापन गर्ने काम गरेको थियो । त्यसैगरी महोत्सवमा प्रत्येक व्यक्तिबाट पाँच रुपैयाँ अभियानलगायतका कार्य अगाडि बढाएको थियो । सबैको साथ र सहयोगले नै अहिले निर्माण गर्न सकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । “यस क्षेत्रका लागि अत्यन्त आवश्यक रहेको सभाहल निर्माणका लागि सबै क्षेत्रको सहयोग पाएर नै निर्माण सम्पन्न गर्न सकिएको हो,” अध्यक्ष बुढाथोकीले भने । उनले जिल्लाको गौरभको रूपमा रहेको यस सभाहल निर्माणमा सहयोग पुर्‍याउने सबैलाई धन्यावाद दिए । सभाहल निर्माण सम्पन्न भए पनि अझै केही काम गर्न बाँकी रहेको उनको भनाइ छ । यसलाई व्यवस्थित गरेर अगाडि बढन पनि सबैको सहयोग रहने उनले अपेक्षा व्यक्त गरे ।
सभाहलको लागत अनुमान ३८ करोड २० लाख ९३ हजार रहेको छ । सभाहलका लागि नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ मा बजेट विनियोजन गरेको संघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिए । पहिले ३० करोड २५ लाख २२ हजारमा निर्माण सम्पन्न गर्ने गरी साविक सहकारी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङ र बंगलाचुली/गौरी पार्वती जेभी काठमाडौंबीच सम्झौता भएको थियो । तर अत्यावश्यक केही आइटम थप गर्नुपर्ने परेकाले ३१ करोड ३० लाख ९६ हजारमा निर्माण भएको आयोजना प्रमुख चौधरीले बताए । निर्माण व्यावसायीसँग २९ पुस २०७६ मा २७ महिना म्याद दिएर निर्माण सम्पन्न गर्ने गरी २९ असार २०७४ मा सम्झौता भएको थियो । तर विभिन्न कारणले गर्दा निर्माण कम्पनीले २२ असोज २०७८ मा निर्माण सम्पन्न गरेको हो । सभाहल चार तलाको रहेको छ । जसमा करिब १ हजार जना अट्ने बताइएको छ ।
सभाहलको उद्घाटन गर्दै मन्त्री चौधरीले सरकाले पूर्वाधार विकासमा प्राथमिकता दिएर काम गरिरहेको बताए । “सहरलाई व्यवस्थित र सुन्दर बनाउन पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ,” मन्त्री चौधरीले भने । पूर्वाधार विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुग्ने उनको भनाइ छ । जिल्लाको पूर्वाधार विकासमा सबै एकताबद्ध भएर अगाडि बढ्नु पर्ने मन्त्री चौधरीले बताए । “संस्थागत नेतृत्व गरेर अगाडि बढेमा काम गर्न सहज हुनेछ,” उनले भने । त्यसैअनुसार अगाडि बढ्नसमेत उनले आग्रह गरे । सभागृह निर्माण सम्पन्न भए पनि सजावट, आवश्यक सामग्री तथा अन्य सामग्रीका लागि मन्त्रालयले एक करोड बजेट दिने उनले बताए । सभा हललाई व्यवस्थित गर्नका लागि मन्त्रालयले एक करोड बजेटको व्यवस्थापनका लागि सँंगै रहेका मन्त्रालयका सचिवलाई निर्देशन दिए । “हल निर्माण गरेर मात्र हँुदैन यसलाई सम्पन्न गरिनु पर्दछ,” मन्त्री चौधरीले भने । उद्योग वाणिज्य संघले उठाउँदै आएको अर्को योजना बिजनेस कम्प्लेक्सका बारेमा आफ्नो ध्यान गएको समेत उनले बताए । बिजनेस कम्प्लेक्स निर्माण गर्न सकिएमा घोराही बजारलाई व्यवस्थित गर्न थप सहयोग पुग्ने उनको भनाइ छ ।
मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संरचना निर्माणमात्र नभई निर्माण भएका संरचनाको सही सदुपयोग हुनुपर्ने बताए । “बनेको संरचनाबाट कसरी रिटन ल्याउने भन्ने चुनौती छ,” उनले भने । त्यसतर्फ ध्यान दिनसमेत उनले आग्रह गरे । सभाहल सञ्चालनको व्यवस्थापन र सञ्चालनको जिम्मा दाङ जिल्ला उद्योग वाणिज्य संघले गर्ने भएकाले यो व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा रहेको उनको भनाइ थियो । निर्माण हुने संरचना समयमै निर्माण र गुणस्तरीय हुनुपर्ने सचिव सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्