विद्युत् निर्यातले घट्ला व्यापारघाटा «

विद्युत् निर्यातले घट्ला व्यापारघाटा

नेपालमा वर्षौंदेखि भन्ने गरिएको नेपालको व्यापारघाटा कम गर्न जलविद्युत् निकासीको विकल्प छैन भन्ने विचारलाई पुष्टि गर्न नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक सहायक हुने देखिन्छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा भारतर्फको विद्युत् निर्यात बढेको तथा आयात घटेको छ । साथै, चालू आर्थिक वर्षबाट चारततर्फ खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुनेछ । तर पनि नेपालका बारा–पर्सा कोरिडोर तथा मोरङका उद्यागीहरू भने विद्युत् सुचारु नभएको र विद्युत् अनियमितताका कारण नै आफ्ना उद्योगले घाटा बेहोर्नुपरेको बताउँछन् । प्राधिकरणका अनुसार हाल आन्तरिक बजारमा खपत गरी बढी भएको बिजुली करिब ३ सय ६४ मेगावाटदेखि करिब ४ सय मेगावाटसम्म दैनिक रूपमा भारततर्फ निर्यात भइरहेको छ । तर, आन्तरिक बजारमा विद्युत् अपुग भएको तथा अनियमित भएको उद्योगीको भनाइ र प्राधिकरणको तथ्यांकबीच मेल नखाएको हो वा उद्योगी तथा प्राधिकरणबीचको द्वन्द्वको अरू नै कुनै कारण छ, त्यो त समयले बताउला । तर, पछिल्ला महिनामा नेपालको विद्युत् भारत निकासी हुन थालेको सकारात्मक समाचार हो । एकाध वर्षअगाडिको एक अध्ययनका अनुसार नेपाल र भारतबीचको बढ्दो ऊर्जा व्यापारले गर्दा सन् २०४५ सालसम्म नेपालको कुल गार्हस्थ्य उत्पादन १३ हजार १ सय अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो । नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदनअनुसार उक्त प्रक्षेपणले नेपाल र भारतबीचको विद्युत् व्यापारले नेपालको प्रतिव्यक्ति विद्युत् माग पनि बढाउने देखाएको थियो । नेपालको प्रतिव्यक्ति विद्युत् माग सन् २०१२ मा १ सय ३९ किलोवाट घण्टा प्रतिवर्ष रहेकोमा २०४५ मा १५ सय किलोवाट घण्टा प्रतिवर्ष पुग्ने अनुमान गरिएको उक्त प्रतिवेदनका अनुसार नेपालको जलविद्युत् उत्पादन सन् २०४५ मा ३४.४ गिगावाट पुग्ने आकलन पनि गरिएको थियो । यसरी विद्युत्को प्रतिव्यक्ति माग बढ्नेबित्तिकै नेपालीको जीवनस्तरमा सुधार आउने र यसले मानव विकास सूचकांकमा पनि सकारात्मक असर पार्ने बताइएको थियो । नेपाल र भारतबीचको अन्तरदेशीय विद्युत् व्यापारले नेपाल र भारतको ऊर्जा प्रणाली र ऊर्जा पूर्वाधारमा पार्ने असरबारे अध्ययन गरिएको प्रतिवेदनअनुसार अन्तरदेशीय विद्युत् व्यापारले नेपालीको आर्थिक रूपान्तरण गर्नेलगायत अतिरिक्त अवसर सिर्जन गर्ने पनि जनाइएको थियो । तर, नेपालको प्रसारण क्षमता वृद्धि गर्न नसकिएकाले विद्युत् व्यापार र जलविद्युत् विकासले नेपालको अर्थतन्त्रमा ऊर्जा थप्नमा सबैभन्दा ठूलो बाधा बनेको देखिएको छ । त्यसैले विश्वासिलो ऊर्जा पूर्वाधारको निर्माण गरी नेपालले अन्तरदेशीय विद्युत् व्यापारबाट फाइदा लिने एवं क्षेत्रीय एकीकरणमा पनि योगदान गर्न सक्ने आकलन गरिएको थियो । तर, त्यसका लागि नेपालले अझै विद्युत् पूर्वाधारमा लगानी गर्न आवश्यक छ ।
तर हाल नेपालमा विद्युत् उत्पादन बढेका कारण अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको हो । साथै, भारतबाट विद्युत् आयात करिब आधा घटेर गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा अन्तरिक बजारमा विद्युत्को माग धान्न २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएको थियो, जसका लागि २१ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको थियो । तर, गत आर्थिक वर्ष २०७८/०७९ मा विद्युत् आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । यसरी गत आवमा आयात गरेको विद्युत्बाट निर्यात गरेको विद्युत् घटाउँदा खुद आयात १ अर्ब ५ करोड युनिट अर्थात् ११ अर्ब ५८ करोड रुपैयाँको मात्र खुद आयात भएको प्राधिकरणको तथ्यांक छ । थप विद्युत् उत्पादन, विद्युत् निर्यात तथा चुहावट नियन्त्रणबाट प्राधिकरणलाई करिब २ अर्ब रुपैयाँ थप आम्दानी पनि भएको छ । प्राधिकरणको नाफामा करिब आधा हिस्सा माथिल्लो तामाकोसीको योगदान रहेको अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्