पूर्वजिल्ला सभापति चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश

नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेकाथिए। २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प्रचार–प्रसारमा लागेका थिए । उनी २०४६ सालको जनआन्दोलमा जेलसमेत परेका थिए ।
२०४७ सालमा दार्चुलामा नेपाली कांग्रेसको संगठन बिस्तार गरी जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए । प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए ।
नेपाली कांग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उनी निश्क्रिय रहेका थिए । बीपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई नेपाली कांग्रेस बीपीको विधान आत्मसाथ गरी आबद्धता जनाएको उनको भनाइ छ ।
उनले इमान्दार सिद्धान्त तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा प्रतिवद्ध सबैमा नेपाली कांग्रेस बीपीमा आबद्ध हुनसमेत आग्रह गरेका छन् । सुदूरपश्चिममा देउवाले एकलौटी गर्न थालेपछि उनीसँग रूष्ट भएका नेताकार्यकर्ता नेपाली कांग्रेस बीपीमा प्रवेश गर्ने क्रम बढिरहेको वरिष्ठ उपसभापति मल्लले बताए । संगठन बिस्तारमा समेत आफूहरू लागेको उनको भनाइ छ । नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति पछिल्ला दिनहरूमा नेपाली कांग्रेस (बीपी)मा आबद्ध हुनेको संख्या दिनप्रतिदिन बढ्दै भएको छ ।