Logo

पाँचथरमा दुई परिवारका नौजनाको हत्या

शंकास्पद व्यक्ति मृत फेला

पाँचथर-मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति नौजनाको हत्या भएको छ । मिक्लाजुङ–३ आरुबोटेको वडा कार्यालय छेउमा सो घटना भएको हो । धनराज शेर्माको परिवारका ५ जनाको र बमकुमार फियाकको परिवारका ४ जनाको हत्या भएको छ ।
हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सिकुमारी फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घटना स्थानीयले बिहानमात्रै थाहा पाएका थिए । नौजनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । श्रीमती माइतीमा बस्दै आएकी थिइन् । उनीसँग सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएको बताइएको छ ।
मानबहादुरको शव घटनास्थलभन्दा २ घन्टा टाढा रहेको मिक्लाजुङ–७ लिम्बामा एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकुरी र रगत लतपतिएकै कपडाहरु भेटिएको प्रहरले जनाएको छ ।
काठमाडांैबाट आएको नेपाल प्रहरीको सिआईबीको विशेष टोलीले शवहरु उठाएर धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगेको छ । घटनाको सिआईबीले नै अनुसन्धान गर्ने बताइएको छ । सिआईबीको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा आएको थियो ।
एकै गाउँका दुई परिवारको हत्या भएपछि गाउँ शोकमा रहेको स्थानीय जीवन फियाकले जानकारी दिए । पाँचथरको हिलिहाङमा यही साता १५ वर्षिय बालिकाको हत्या भएको थियो । हिलिहाङ गाउँपालिकामा वर्षिय शितल योङहाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । शितलको हत्यामा संलग्न भएका मध्ये एक जना भगिरत बास्तोला पक्राउ परेका छन् । मुख्य योजनाकार भनिएका पदम तामाङ अहिलेसम्म पक्राउ पर्न सकेका छैन् ।
एक साताअगाडि मिक्लाजुङ–३ आरुबोटेमा एक गैरसरकारी संस्थाले आयोजना गरेको तालिममा सहभागीहरुलाई खुवाइएको खाजामा सिसा भेटिएको थियो । सिसा मिसिएको खाजा खाँदा ८ जना बिरामी भएका थिए । सिसा मिसिएको खाजा खाएर बिरामी हुने मध्येकी मुना फियाकको सोमबार राति हत्या भएको छ । त्यो बेला कसले सिसा मिसायो र किन मिसायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्