सेयर किनेको रकम इसेवाबाटै ब्रोकरलाई भुक्तानी गर्न सकिने «

सेयर किनेको रकम इसेवाबाटै ब्रोकरलाई भुक्तानी गर्न सकिने

सेयर खरिदबिक्री गर्ने व्यक्तिले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ ।
यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्न थप सहज हुनेछ । हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।
लगानीकर्ताले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ । यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुने इसेवाले जनाएको छ ।
इसेवाका लगानीकर्ताले इसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्नेछ। त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्