सुरुङमार्गको प्रगति आधाभन्दा बढी «

सुरुङमार्गको प्रगति आधाभन्दा बढी

निर्माणाधीन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको समग्र प्रगति ६० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ८ महिनामा पूरा हुने बताइएको छ ।
आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ४ सय ७५ सुरुङ खन्ने काम पूरा भएको छ ।” आयोजना समयमै पूरा हुने र सोहीअनुसार काम भैरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “आयोजनको कुल ६० प्रतिशत काम पूरा भएकोे छ । आगामी ८ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुने छ ।”
निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ६ सय १३ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटर मध्ये ६२ मिटर पूरा भएको छ । आयोजनाको कुल भौतिक प्रगति ४१ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत पूूरा भएको जनाएको छ । मुख्य सुरुङमार्गको फिनिसिङ अर्था्त कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ)को काम समेत तीव्रताका साथ अघि बढाएको हो । हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ।
आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ३९ प्रतिशत पूरा भएको थियो । अघिल्लो महिनासम्म काठमाडौं र धादिङतर्फ दुवै गरी मुख्य सुरुङमार्गको १३ सय ७७ सुरुङ छेड्ने काम सम्पन्न भएको थियो ।
२०७७ पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाइ २.६८ किमी, चौडाइ ३.५ किमी, दुवै तर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी, पश्चिम लम्बाइ ०.५६५ किमी निर्माण हुनेछ । कोभिड–१९ र आन्तरिक तयारीका कारण आयोजना केही ढिलो भएको थियो । करिब १८ महिनामा आयोजनाले ६० प्रतिशत प्रगति हासिल गरेको हो । कार्यतालिका अनुसार नै सुरुङमार्गको काम भैरहेकाले गर्दा निर्धारित समयमा नै आयोजना सम्पन्न हुने प्रमुख शाक्यले बताए ।
२४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम भैरहेको आयोजना प्रमुख शाक्यले बताए । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । सम्झौता अनुसार काम सुरु गरेको ४२ महिनाभित्र अयोजना समापन गर्ने उल्लेख छ । तर कोभिड–१९ का केही महिना ढिलाइ भएपछि ३ महिना थप गरेको आयोजनाको समय सीमा ४५ महिना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्