मौद्रिक नीतिबाट निराश हुनुपर्दैन: डेपुटी गभर्नर मिश्र «

मौद्रिक नीतिबाट निराश हुनुपर्दैन: डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा भएका एक कार्यक्रममा डेपुटी गभर्नर मिश्रले उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिति नभएको दावी गरे । उनले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आइसियुमा हाल्न नहुने बताए । उनले उद्योगी, व्यवसायी र बैंकर्सहरुलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो दृष्टिबाट नहेर्न आग्रह गरे ।
डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रबाट लिएको सुझावका आधारमा नीति ल्याएको दाबी गरे । उनले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको सतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताए । मिश्रले अर्थतन्त्र बुझेको विज्ञहरुले सिआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खोज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताए । उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने बताए ।
अध्यक्ष गोल्छाले मौद्रिक नीतिले जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएपनि त्यो निजी क्षेत्रलाई वास्तविक नलागेको बताए ।

प्रतिक्रिया दिनुहोस्