बैंकको प्रतिफल खुम्चँदै «

बैंकको प्रतिफल खुम्चँदै

वाणिज्य बैंकहरूद्वारा प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा उनीहरूले ७४ अर्ब ८० करोड खुद नाफा आर्जन गरेका छन् । यसरी मोटामोटी रूपमा हेर्ने हो भने उनीहरूले कमाएको प्रतिफल १४ प्रतिशत हाराहारीमात्र देखिन्छ । हाल नेपालका कुनै पनि व्यवसायको प्रतिफलसँग तुलना गर्ने हो भने बैंक तथा वित्तीय संस्थाको प्रतिफल आकर्षक होइन । कोरोना कहरभन्दा अगाडिसम्म करिब १७ प्रतिशत रहेको इक्विटीमा प्रतिफल (आरओई) भने कोरोना कहरभन्दा अगाडिको अवस्थामा अझै पुग्न नसकेका कारण वाणिज्य बैंकहरू अझै पनि आफ्नो लगानीमा प्रतिफल कमाउन संघर्षरत नै छन् भन्ने बुझिन्छ । हुन त मुलुकको अर्थतन्त्र नै संकुचनमा गएको एवं लगानीयोग्य तरलता पनि नभएका कारण प्रतिफल खुम्चनु स्वाभाविक नै हो । तर पनि जसरी समाजमा वाणिज्य बैंकहरूले अत्यधिक कमाए भन्ने भाष्य स्थापित गर्न खोजिएको छ, त्यस अर्थमा हेर्ने हो भने वाणिज्य बैंकहरू कोरोना कहरबाट अझै उम्केको देखिन्न । पछिल्लो वर्ष बजार चलायमान भयो । अन्य विविध क्षेत्रमा लगानीको अवसर नभएका कारण केही सीमित क्षेत्रमा मात्रै कर्जा प्रवाह भयो भनियो, त्यस दृष्टिकोणबाट हेर्दा वाणिज्य बैंकहरूले त्यति पनि लगानी नगरेका भए प्रतिफल अझै घट्ने सम्भावना रहेछ । त्यसैले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा बढेको भए पनि रिटर्न अन इक्विटी (आरओई) भने १४ प्रतिशतको हाराहारीमात्रै रहनु प्रचार गरिएझैं खासै लोभलाग्दो प्रतिफल होइन । वाणिज्य बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष बैंकहरूले ७४ अर्ब ८० करोड खुद नाफा आर्जन गर्न सफल भएका छन् । तर, अघिल्लो आर्थिक वर्षको परिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले ६२ अर्ब ५६ करोड नाफा आर्जन गरेका थिए । कोरोना कहरभन्दा अगाडि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७५/०७६ मा ६३ अर्ब नाफा गरेकोमा आर्थिक वर्ष २०७६/०७७ मा नाफा घटेर ५२.८ अर्बमात्र भएको थियो । २०७७ साल चैत ११ गतेदेखि कोरोना महामारीका कारण ६ महिना पूर्ण तथा त्यसपछि पनि आंशिक बन्दाबन्दी भएको थियो, जसका कारण वाणिज्य बैंकहरूको लगानी तथा प्रतिफलमा प्रत्यक्ष नकारात्मक असर परेको थियो । तर, आर्थिक वर्ष २०७७/०७८ मा भने नाफामा केही सुुधार आएर २७ वाणिज्य बैंकको कुल नाफा ६२.५६ अर्ब पुगेको उनीहरूको परिष्कृत वित्तीय विवरणमा उल्लेख छ । यसरी हेर्ने हो भने वास्तवमा वाणिज्य बैंकहरूको गत आर्थिक वर्षमा त्यो भन्दा अघिल्लो आर्थिक वर्षभन्दा १९.५७ प्रतिशतले मात्र नाफा बढेको देखिन्छ । लगानीयोग्य तरलता अभावका बाबजुद बैंकहरूको नाफा बढ्नु सकारात्मक माने तापनि रिटर्न अन इक्विटी (आरओई) भने १४ प्रतिशतको हाराहारीमात्र हुनुले कोरोना कहर पूर्वको अजस्थामा पुग्न अझै बाँकी रहेको देखिन्छ । किनकि कोरोना अगाडि आर्थिक वर्ष २०७५/०७६ मा आरओई १६.८३ प्रतिशत रहेकोमा कोरोनाको वर्ष अर्थात् २०७६/०७७ मा आरओई झरेर १२.३० प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १२.६६ प्रतिशत रहेको आरओई आर्थिक वर्ष २०७८/०७९ मा १४ प्रतिशत हाराहारीमात्र हुनु भनेको कोरोना कहरको अगाडिभन्दा पनि कम हो । यसैगरी हाल सञ्चालनमा रहेका २६ वाणिज्य बैंकको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणका अनुसार मुनाफाबाट वाणिज्य बैंकहरूले औसतमा १५.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । जुन लाभांश पनि कोरोना अगाडिको भन्दा कम हो । अर्थतन्त्रमा कोरोना कहरको प्रभाव कम भएको मौद्रिक नीतिको विश्लेषण भए तापनि वाणिज्य बैंकहरूको अपरिष्कृत वित्तीय विवरणले भने अझै केही असर देखिन्छ । तर, मौद्रिक नीतिले तत्कालको भन्दा पनि भविष्यको आकलन गर्ने भएका कारण अर्थतन्त्रमा कोरोना कहरको प्रभाव कम भएको विश्लेषण गरिएको हुन सक्छ । तर आयात नियन्त्रण गर्न मौद्रिक नीतिले ब्याजदर बढाउँदा भने महँगो ब्याजदरले निजी क्षेत्रको कर्जा लिने क्षमता घटाउने तथा रोजगारी सिर्जना तथा कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक असर पर्नेछ । अन्यथा सरकारले गत आर्थिक वर्षमा उठाएको १० खर्ब हाराहारीको राजस्व निजी क्षेत्रको योगदान हो भन्ने कुरामा कुनै शंका छैन ।

प्रतिक्रिया दिनुहोस्