जमिन छ, बैंकिङ कारोबार हुँदैन «

जमिन छ, बैंकिङ कारोबार हुँदैन

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ७ परासनका वनवारी रानासँग ४ विघा जमिन छ । तर, उनले त्यो जमिन राखेर बैंकबाट ऋण लिई छोरीलाई एमबीबीबीएस पढाउन खोज्दा बैंकबाट ऋण पाएनन् । “बैंकमा जमिन धितो राखेर छोरीलाई डाक्टरी पढाउन चाहेको थिएँ । सीमानाको नजिक रहेको खुल्ला खेत, जंगली जनावरले पनि बाली नोक्सान गर्ने भएको हुनाले बैंकले धितो लिएन । ऋण नपाएपछि छोरीलाई साधारण कलेजमा पढाएँ,” उनले भने ।
सोही ठाउँका रामबहादुर राना जमिन धितो राखेर हार्डवेयर र कुखुरापालन व्यवसाय गर्ने योजना सहित राष्ट्रिय वाणिज्य बैंकको बेलौरी शाखामा पुगेका थिए । बैंकले धितो लिन नमानेपछि योजनाबाट हट्नुपरेको उनले सुनाए । उनले सरकारी बैंकले जमिन धितो नमानेपछि जमिनको कागजपत्र लिएर प्राइभेट बैंक (कञ्चन बैंक) मा समेत पुगेको बताए । उनले त्यहाँ पनि आफ्नो माग सुनुवाइ नभएको बताए ।
वनवारी र रामबहादुर जस्तै परासनका २५० परिवार राना समुदायले जमिन हुँदाहुँदै पनि बैंकबाट ऋण नपाउने समस्या भोगिरहेका छन् । दोदा नदीको तट भएको हुनाले वर्षामा पानी जम्ने, नदीले बाली बगाएर लग्ने, हात्ती लगायतका जंगली जनावरले सिजनपिच्छे बाली नोक्सान गर्ने र भारतीय सीमा सुरक्षा बलले आफ्नो जमिन भन्दै खेती लगाउन नदिने जस्ता समस्याका कारण ती समुदायले आफ्नो जमिनको बैंकिङ कारोबार गर्न पाउँदैनन् ।
बैंकले जमिनलाई धितो नमान्ने, कुनै व्यापार–व्यवसाय र काम गर्नका लागि ऋण आवश्यक परे ऋण पनि पाउन नसकिने भएकाले आफू आर्थिक रुपमा अगाडि बढ्न नसकेको सीमा तथा दोदा प्रभावित खाद्य अधिकार समूहका अध्यक्ष रामबहादुर रानाले बताए । उनले सन्तानलाई प्राविधिक शिक्षा दिने, व्यापार व्यवसाय गर्ने योजना वर्षौंदेखि अलपत्र रहेको बताए ।
परासनको राना बस्ती २०३२/०३३ मा दोदा नदीको बाढीमा बगेपछि त्यस समुदायलाई तत्कालीन सरकारले परासनकै उच्चो जमिनमा ४/४ कट्ठा जमिन घरबासका लागि दिएको थियो । परासनका राना बस्तीको परिवार अहिले बढेर अढाई सय पुगेको छ । घरबासका लागि सरकारले दिएको जमिन खण्डिकरण भइसकेको छ । धुरको हिसाबमा रहेको जमिन पनि बैंकले धितो मानेपनि त्यतिले दिएको ऋण व्यवसाय गर्न अपुग हुने स्थानीय रामदुलारी रानाले बताउँछन् ।
“हरेक वर्ष दोदा नदीले जमिन कटान गर्दै लगेको छ । नदीको कटान र जंगली जनावरले गरेको नोक्सानीले उब्जनी पनि राम्रो भइरहेको छैन । नदी कटान रोक्न टतबन्ध र जंगली जनावर रोक्न फेन्सिङ वायरको जरुरत छ । तर सरकारले हाम्रो माग सुनुवाइ गरिदिएको छैन,” रामदुलारीले भने ।
दोदा नदीको कटान रोक्ने गरी तटबन्ध बनाइदिन र जंगली जनावरलाई रोक्ने गरी फेन्सिङ वायर तानीदिन परासनका राना समुदायले माग गरेका छन् । उनीहरुले सामान्य जमिन सरह आफूहरुले सरकारलाई मालपोत तिरिरहेको भन्दै सरकारले कि मालपोत मिनाहा गर्नुपर्ने या जमिनलाई धितो राख्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । “बैंकले धितो लिइरहेको जमिन सरह नै हामीले पनि मालपोत तिरिरहेकै छौं,” सीमा तथा दोदा प्रभावित खाद्य अधिकार समूह सचिव वनवारी रानाले भने, “सरकारले हाम्रो जमिन पनि धितो लिने व्यवस्था गर्नुपर्छ । सकिँदैन भने हामीलाई मालपोत मिनाहा गर्नुपर्छ ।”
पुनर्वास नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मुलचन्द रानाले जंगली जनावर भन्दा दोदा नदीको कटानले बढी नोक्सान भइरहेको बताए । उनले वडा र नगरको बजेटले फेन्सिङ वायर तान्न सकिन्छ कि भनेर योजना बनाइरहेको बताए । उनले वडा नम्बर ७, ८, ९, १० र ११ मा जंगली हात्तीको आतंक रहेकोले सो क्षेत्रमा फेन्सिङ वायर तान्न आवश्यक रहेको बताए ।
तर दोदा नदीमा केन्द्रीय सरकारकै बजेटमा मात्रै तटबन्ध सम्भव हुने उनी बताउँछन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने चकमेलीस्थित दोदा नदीको पुलदेखि सीमानासम्म नै तटबन्ध गरेपछि मात्रै कटान रोकिने बताउँदै वडाध्यक्ष रानाले सो विषयमा आफूले नगर कार्यपालिकामा कुरा उठाउँदै आएको बताए । “परासनको जमिन धितो लिनुपर्ने या मालपोत मिनाहा गर्नुपर्ने विषयमा पनि कार्यपालिकामा कुरा उठाएको छु,” उनले भने, “हामीले यो कुरा विगतदेखि उठाउँदै आएका छौं । तर अझै सुनुवाइ भएको छैन ।”
परासनमा खाद्य अधिकारका लागि कार्यरत फियान नेपालका प्रदेश प्रमुख मुकुन्द रानाले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा रहेका अधिकांश बस्तीका बासिन्दाले जमिन धितो राख्न नपाउने समस्या झेल्दै आएको बताए । उनले सरकारले सीमा क्षेत्रको यस समस्याबारे जाँचबुझ गरी निर्णय लिनुपर्ने बताए ।

दोदा नदीले बगर बनाएको आफ्नो खेत देखाउँदै परासनका रामबहादुर राना ।

प्रतिक्रिया दिनुहोस्