राष्ट्रिय वाणिज्य बैंकको मुनाफा पाँच अर्ब २१ करोड रुपैयाँ «

राष्ट्रिय वाणिज्य बैंकको मुनाफा पाँच अर्ब २१ करोड रुपैयाँ

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित भएको छ ।
बैंकले यस अवधिमा ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकको भनाइ छ ।
आव २०७८/०७९ को बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ६७ करोड, कुल सञ्चालन आम्दानी ११ अर्ब २७ करोड, सञ्चालन नाफा ७ अर्ब १ करोड, कुल समग्र आम्दानी ३ अर्ब ८ करोड तथा वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड रहेको छ ।
२०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको बताइएको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आव २०७८/०७९ मा बैैंंकको सेयरधनी कोष ४ अर्ब ८१ करोडले वृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपैयाँले वृद्धि भई ३ खर्ब २९ अर्ब पुगेको छ ।
असार मसान्तमा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागत दर ६.०१ प्रतिशत तथा प्रतिसेयर आम्दानी ३४.९० रुपैयाँ रहेको बैंकको भनाइ छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्