वार्षिक बजेटलाई उछिनेको व्यापारघाटा «

वार्षिक बजेटलाई उछिनेको व्यापारघाटा

वाणिकवाददेखि वर्तमान विश्व व्यापार संगठनसम्म आइपुग्दा विश्वका हरेक मुलुक अन्तर्राष्ट्रिय व्यापारमा संलग्न भएका छन् । विशेषत: उत्पादन लागतलाई मध्यनजर गरी मुलुकहरू एकअर्कामा आयात–निर्यात गर्न थाले । पछिल्लो समयमा विकास भएको यातयात, सूचना र प्रविधिको कारण विश्वभरमा व्यापार सहज हुँदै गयो । आजभोलि अन्तर्राष्ट्रिय व्यापारले हरेक मुलुकको अर्थतन्त्रलाई प्रभावित बनाइरहेको छ । अर्थतन्त्रको ठूलो हिस्सा आयात–निर्यातमा निर्भर छ ।
नेपालले केही वर्षदेखि निरन्तर रूपमा उच्च व्यापारघाटा वहन गर्दै आइरहेको छ । निर्यातको तुलनामा आयात अधिक भएको व्यापारघाटा व्यापार हो । यसले वैदेशिक मुद्राको सञ्चितिलाई न्यूनीकरण गरिरहेको हुन्छ । अहिले नेपालको वार्षिक बजेटभन्दा व्यापारघाटाको अंश बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २०७८/०७९ मा व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड पुगेको छ । सरकारले गत वर्ष १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा १७ खर्बभन्दा बढी व्यापारघाटा भएको छ ।
स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि उत्पादन हुन नसक्दा व्यापारघाटा बर्सेनि बढ्दै गएको छ । निजी क्षेत्र तथा सहकारी उत्पादनमुखी बन्न नसक्दा वार्षिक बजेटभन्दा बढी व्यापारघाटा भएको हो । यो घाटा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोडले व्यापारघाटा भएको थियो । वर्षैपिच्छेको बढ्दो व्यापारघाटाले नेपालको अर्थतन्त्र आयातमुखी बन्न पुगेको छ । नेपालको अर्थतन्त्र आयातित छ, स्वदेशमा सम्भावना रहेका वस्तुहरू आयात भइरहेका छन् ।
निजी क्षेत्रका उद्योगी उद्योग खोल्न छाडेर सजिलो आयमा लाग्नाले उत्पादन हराउँदै गयो । उद्योगीहरू आयातित सामानको बिक्रीमै रमाउन थाले । सहकारीले पनि उत्पादनमा योगदान दिन नसक्दा उपभोग्य वस्तु बाहिरबाटै ल्याउने वातावरण बनिरहेको छ । पछिल्लो समय नेपालमा आयातको ग्राफ बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा आयातमा कडाइ गरे पनि विदेशी मुद्रा बाहिरिने क्रम रोकिएको छैन ।
आयातमा रमाउने संस्कार बसेकाले नेपालीमा उद्यमशीलता हराउँदै गएको छ । नेपाली उत्पादनमुखीभन्दा पनि व्यापारमुखी हुँदा परनिर्भर हुँदै जानुपरेको छ । व्यापारघाटा घटाउन उत्पादन बढाउनुको विकल्प छैन । यता आयातमा उच्च कटौती गर्दा पनि मुलुकको राजस्वमा उच्च गिरावट आउने देखिन्छ । प्रक्षेपित वार्षिक राजस्वको आधा अंश आयातमा निर्भर रहेको छ । कुल राजस्वको करिब ५० प्रतिशत आय वैदेशिक वस्तुको आयातबाट सिर्जना हुन्छ ।
विभागका अनुसार गत वर्ष १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । यो गत वर्षको तुलनामा २४.७२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो । गत आर्थिक वर्षमा २१ खर्ब २० अर्ब ४७ करोडको प्रत्यक्ष वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको तुलनामा २६.१५ प्रतिशतले बढी हो । नेपालले गत आर्थिक वर्षमा २ खर्बको निर्यात गरेको थियो । गत वर्षको तुलनामा यो ४१ प्रतिशतले बढी हो ।
नेपालको आयात/निर्यातको सन्तुलन टिकाउयोग्य छैन । निर्यातको तुलनामा आयात अत्यधिक हुँदा व्यापारघाटा उच्च हुँदै गएको छ । आर्थिक नीति सफल हुन नसक्दा उत्पादन बढ्न नसकेको र निजी क्षेत्रमैत्री सरकार नहुँदा आयात बढिरहेको छ । बढ्दो आयातलाई प्रतिस्थापन गर्नका लागि कृषिक्षेत्रमा वैदेशिक लगानी खुला गर्नुपर्छ । कृषि कर्जा दुरुपयोग भएर घरघडेरीमा जाँदा व्यापारघाटा बढ्न पुगेको हो । कृषि तथा कृषिजन्य वस्तु खरिदमा ३ खर्ब ५० अर्ब रुपैयाँ बाहिरिएको छ । कृषिमा प्राथमिकता दिन सके व्यापारघाटा कम गर्न सकिन्छ । भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ खरिदमा ३ खर्ब २० अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ । आयात प्रतिस्थापन गर्दै निर्यात गर्न सके व्यापारघाटा कम गर्न सकिन्छ । निजी क्षेत्रमैत्री कानुन ल्याएर प्रशासनिक सुधारमार्फत यसलाई व्यवस्थापन गर्न सरकार लागिपर्नुपर्ने देखिन्छ ।
पछिल्लो समय बढ्दो मूल्यवृद्धिका कारण पेट्रोलको खपत बढेको छ । यसका साथै दैनिक उपभोग्य वस्तुमा उपयोग बढी भएका कारण आयात उच्च हुँदै गएको छ । गत आर्थिक वर्षमा १ खर्ब १३ अर्बबराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल आयात भएको छ । ५२ अर्बबराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुनचाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।
नेपालबाट हुने निर्यातमा पनि आयातकै हिस्सा छ । भटमास र पाम आयलको तेल आयात भएर निर्यात हुने गरेको छ । यसबाट नेपाललाई खासै लाभ नभएको विद्वान्हरू बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १ सय ६४ देशबाट आयात भएको छ । सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको आयात भएको छ । भारतमा १ खर्ब ५५ अर्ब २२ करोडबराबरको निर्यात भएको छ । भारतसँग मात्रै १० खर्ब ४४ अर्ब ९३ करोडको भन्दाको व्यापारघाटा भएको छ ।
भारतपछि धेरै आयात चीनबाट भएको छ । चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोडबराबरको आयात हुँदा ८० करोड ८७ लाखको निर्यात भएको छ । चीनसँग मात्रै २ खर्ब ६३ अर्ब ९७ करोडबराबरको व्यापारघाटा भएको छ ।
वार्षिक बजेटभन्दा ठूलो व्यापारघाटाले वैदेशिक मुद्राको सञ्चितिमा अधिक चाप परिरहेको छ । उद्योगीमा उत्पादनमूलक व्यापारभन्दा पनि सजिलै आय हुने आयातमूलक व्यापार गर्ने प्रवृत्ति बढेको छ । यसले मुद्रास्फीति बढाएर उपभोक्ताको क्रय क्षमता घटाइरहेको छ । आर्थिक क्रियाकलाप व्यापारिक आयव्ययमा मात्र निर्भर रहेकाले नेपालमा सहज रहेको उत्पादन पनि उत्पादन भइरहेको छैन । यसका लागि सरकारको उत्पादनमुखी नीति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्