Logo

गोलभेंडा खेतीबाट गाउँमै ७० लाख लगानी

हिजोआज गाउँ घरका खेतीयोग्य जग्गा बाँझो राखेर रोजगारीका लागि भन्दै खाडीमा जाने र सहरतिर दौडिने युवाहरु प्रशस्त छन् । श्रम गर्ने जनशक्तिले गाउँ छाड्नेहरु बढ्दा खेतबारी बाँझो हुने क्रम पनि छ ।
युवाहरु गाउँ छाड्ने क्रम बढेपनि दोलखाको शैलुङ गाउँपालिका वडा नं. ५ काटाकुटीका २ युवा दाजुभाइ भने गाउँमै कृषिबाटै भविष्य देखेर तरकारी खेतीमा लागेर गाउँकै नमुना किसान बनेका छन् । शैलुङ गाउँपालिका–३ कानारायण श्रेष्ठ र गणेशमान श्रेष्ठले आफ्नो जग्गाले नपुगेपछि २५ रोपनीजग्गा भाडामा लिएर टनेलमा गोलभेंडा खेती गरेका छन् ।
गाउँ छाडेकाहरुको खाली जग्गालिएर श्रेष्ठ दाजुभाइले अहिले ४९ वटा प्लाष्टिक टनेल बनाएर गोलभेंडा, च्याउ र अकबरे खुर्सानी खेती गरेका छन् । आजभोली एक तिहाइ टनेलमा गोलभेंडा पाक्ने बेला भएका छन् । केही बिरुवा हुर्कंदै छन् ।
वर्षैभरी बजार लैजाने गरी उनीहरुले खेती गरेका छन् । यही वर्षबाट सुरु गरेको च्याउ पनि फल्न थालेको छ । उनीहरुले आफ्नो फारममा ९ जनालाई रोजगारीसमेत दिएका छन् । शैलुङ एग्रो एण्ड लाइभस्टक फर्म कम्पनी सुरु गरेका दाजुभाइले पहिलो लकडाउनकै बेला अनलाइन तालिमबाट केही सिके । फर्मको नाममा बैंकबाट २० लाख सहुलियत ऋण लिए भने फर्ममा ७० लाख लगानी गरेका छन् ।
२ वर्ष अघिदेखि सुरु गरेको व्यवसायले पहिलो वर्ष नै गोलभेंडा बिक्रीबाट भएको आम्दानीले उनीहरु उत्साहित भएका छन् । बजारले साथ दिए यहीवर्ष भित्रै आफ्नो लगानी उठ्नेमा उनीहरु आशावादी छन् । “फर्म सञ्चालनमा आएको पहिलो वर्ष नै हाम्रो राम्रै उत्पादन भयो” फर्म सञ्चालक नारायण श्रेष्ठले भने, “यस वर्ष पनि बजारले साथ दिए लगानी उठाउँछौं ।”
गोलभेंडाको हरेक बोटमा सिंचाइ र मलपुग्ने गरी इजरायली प्रविधि जडान गरेका छन् । युवाहरुले गरेको कामको प्रोत्साहन स्वरुप गत आर्थिक वर्ष गाउँपालिकाले ५ लाख अनुदान दिएको थियो । शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ काटाकुटीको गोलभेंडा फर्म गाउँपालिकाकै नमुना भएको बताए । गाउँमै केही गर्छु भन्ने युवालाई गाउँपालिकाले सहयोग गर्ने बताए । अब युवालाई यसरी नै फर्मको रुपमा काम गराउँदै बाँझो जग्गा सदुपयोग गराउने आफ्नो लक्ष्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्