Logo

गुल्मीका ५ मतदानस्थलमा समस्या

गुल्मीका ५ मतदानस्थलमा समस्या देखिएको छ । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका ५ मतदानस्थलमा समस्या देखिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
मतदानस्थलमा भवन जीर्ण, साँघुरो तथा सुरक्षाका दृष्टिकोणले चुनौतिपूर्ण र नजिकै नयाँ भवन बनेका जस्ता कारणले हालसम्म कायम भएका ५ मतदान स्थलमा समस्या देखाइएको छ । समस्यामा परेका उक्त स्थललाई निर्वाचन आयोगमा सिफारिस गरिएको मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । राजनीतिक दल, जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा बसेको बैठकबाट ५ मतदान स्थलको निर्वाचन आयोगमा सिफारिस गरिएको उनले बताए ।
जिल्ला निर्वाचन अधिकारी माया कुँवरका अनुसार जल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ को भटकुवा माध्यमिक विद्यालयमा रहेको मतदान स्थल, गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय विरवासमा रहेको मतदान स्थल, छत्रकोट गाउँपालिका वडा नम्बर ४ को लक्ष्मी आधारभूत विद्यालयमा रहेको मतदान स्थल, कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ को तुङ्गतोलाकोट आधारभूत विद्यालयमा रहेको मतदान स्थल र मुसिकोट नगरपालिका वडा नम्बर ५ को विद्या मन्दिर आधारभूत विद्यालयमा रहेको मतदान स्थललाई समधानसहितको सिफारिस गरिएको छ । गुल्मीमा १ सय ४२ मतदान स्थल तथा २ सय ७९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी कुँवरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्