अभियान लघुवित्तको आईपीओ बिक्री खुला «

अभियान लघुवित्तको आईपीओ बिक्री खुला

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरको हो ।
लघुवित्तले निष्कासन गरेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी नौ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा २२ साउनसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे १ भदौसम्म आवेदन दिने समय थप गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ ।
लगानीकर्ताले न्यूनतम १० देखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।
हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्