आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुधार्न सकिन्छ : अर्थमन्त्री शर्मा «

आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुधार्न सकिन्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे ।
“किसानको भूमिका महत्वपूर्ण हो, हामीसँग भएको जमिन हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो” उनले भने, “श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्र नेपाललाई समुन्नत गर्न सकिन्छ ।”
उनले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए । मन्त्री शर्माले उपलब्ध श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताए । उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरे ।
मन्त्री शर्माले भूमिहीनलाई जमिन दिएर पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताए ।
“उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ” उनले भने, “बजेटले किशानका महत्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ ।
मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए । उनले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गरे । मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए । उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्