रोजगारी खोज्दै नेपाल आउने विदेशी घटे «

रोजगारी खोज्दै नेपाल आउने विदेशी घटे

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या घटेका छन् । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रमस्वीकृति लिने विदेशीको संख्या गत आर्थिक वर्षभन्दा २ सय कम देखिएको छ । अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार ३९० विदेशीले श्रमस्वीकृति लिएका थिए । गत वर्षको सो अवधिमा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार १८१ रहेको थियो । अघिल्लो वर्षमा नेपालमा काम गर्ने चाहना राख्दै श्रमस्वीकृति लिने विदेशीको संख्या ९ प्रतिशतले घटेको उल्लेख छ । आव २०७६/०७७ मा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ५० रहेकोमा अघिल्लो वर्ष भने बढेर २ हजार ३९० पुगेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
यसमध्ये पनि अघिल्लो आवमा १ हजार ९१ नयाँ आवेदकलाई श्रमस्वीकृति दिइएको थियो भने ९५९ जना पुरानाको श्रमस्वीकृति नवीकरण गरिएको थियो । यस्तै, गत आवमा १ हजार ९० नयाँलाई श्रमस्वीकृति दिएकोमा १ हजार ३०० गैरनेपालीको श्रमस्वीकृति नवीकरण गरिएको थियो । यसरी नै श्रमस्वीकृति नवीकरण गर्नेको संख्यासमेत आव २०७६/०७७ को तुलनामा १३ प्रतिशत अर्थात् ९५९ बाट बढेर १ हजार ३०० पुगेको थियो ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा कोभिडको असर देखिएपछि श्रमस्वीकृति लिने विदेशीको संख्यासमेत घटेको बताए । महानिर्देशक आचार्यले नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा मात्र विदेशी श्रमिक राख्न पाउने व्यवस्था रहेको जानकारी दिए । विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम ६ वर्षसम्ममात्र नवीकरण हुने जनाएको छ । यसैगरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रमस्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशी रहेका छन् । विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ मा नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था भए पनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपालमा आउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्