श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बरको अपेक्षा

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच भेटवार्ता भएको छ ।
श्रीलंकामा कार्यभार सम्हाल्न जानुअघि राजदूत मिश्रले चेम्बरका पदाधिकारीसँग भेटवार्त गरेका हुन् । रादजूत मिश्रसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितिबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए ।
श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भएपनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको कार्यबाहक अध्यक्ष कमलेशकुमार अग्रवालको भनाइ छ । सार्क, बिमस्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुई मुलुकबीच व्यापारका लागि अझै पनि ठूलो सम्भावना रहेको अग्रवालले बताए ।
नेपाल चेम्बर अफ कर्मस र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गरे । अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सम्भावना रहेको र भारतसहित त्रिपक्षीय सम्झौताको आवश्यक्तामा समेत जोड दिए ।
बुद्धको जन्मभूमि लुम्बिनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले कोलम्बो लुम्बिनी सिधा विमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवाहक अध्यक्ष अग्रवालले राजदूत मिश्रसँग आग्रह गरे ।
राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफू आशावादी रहेको बताए । उनले बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रर्वद्धनका लागि पहल गर्ने बताए ।