प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी सम्झौंता सम्पन्न भएको छ ।
दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी आइतबार अबेर उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको प्रभु बैंकले जानकारी दिएको छ ।
मौद्रिक नीतिको नयाँ व्यवस्थापछि प्रभु र सेन्चुरी बैंक मर्जमा जाने सम्झौता भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । हाल १ बराबर १ अनुपातमा मर्जमा जान दुई बैंक सहमत भएका छन्, उनले भने, दुबै बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट प्राप्त भएपछि वास्तविकता आउने र त्यसैका आधारमा स्वाप रेसियो तय गर्ने सहमति भएको छ ।
मर्जपछि प्रभु बैंकको नाममा बैंकिङ कारोबार हुने तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रहने पनि बैंकले जनाकारी दिएको छ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।
हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।