बन्दा बोकेको ट्रकमा १५६ केजी गाँजा «

बन्दा बोकेको ट्रकमा १५६ केजी गाँजा

बन्दा बोकेर भारततिर जान लागेको ट्रकमा प्रहरीले गाँजा बरामद गरेको छ । प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा कोपी बोकेर हिँडेको ट्रकभित्र सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले शुक्रबार राति गाँजा बरामद गरेको हो ।
प्रहरीले बन्दा बोकेर ल्याएको मिनी ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । बरामद गरेको गाँजा १५६ केजी रहेको छ । मिनी ट्रकभित्र ४६ बोरा बन्दा रहेको छ । माथिबाट बन्दा र मुनि गाँजा हालेर भारत लैजाने क्रममा प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिएको हो । बरामद गरेको गाँजा, ट्रक र पक्राउ परेका ट्रक चालकलाई आवश्यक थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई बुझाएको एसपी लामिछानेले बताए ।
प्रहरीले ट्रक चालक धनकुटा शहीदभूमि गाउँपालिका–३ का २९ वर्षीय विवेक राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । संखुवासभाबाट बन्दा लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विराटनगर– १५ रानीस्थित २ नं. डाढबाट बरामद गरेको हो । गाँजा बरामद गरेको ट्रकले पुरानो विराटनगर भन्सार कार्यालय अगाडिको २ नं. ढाटमा ठक्कर दिएको थियो ।
पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकाले यसको तस्करी हुने गरेको छ । बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार पुग्छ भने भारत पुग्दा ४० देखि ५० हजारभन्दा बढीमा कारोबारी हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्